एसईईमा विद्यालयले पठाए आफूखुसी अंक्,९ हजार विद्यार्थी को जिपिए ४

जानकारि

काठमाडौँ — कोभिड–१९ का कारण परीक्षा रोकिएको यसपल्टको एसईईमा आफैंले मूल्यांकन गर्न पाउने भएपछि विद्यालयहरूले विद्यार्थीलाई कुस्त अंक दिएको पाइएको छ । विद्यालयले पठाएको अंकका आधारमा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीलाई प्रमाणपत्र दिने भएपछि नम्बर थपेको देखिएको हो । बोर्डले सोमबार सार्वजनिक गरेको नतिजाले यसको पुष्टि गरेको छ ।

ग्रेडिङ सुरु भएको वर्ष ०७२ को एसईईमा ४ मा ४ जीपीए नै प्राप्त गर्ने विद्यार्थीको संख्या २ मात्रै थियो । ०७३ मा यो संख्या बढेर ४ भयो । ०७३ सम्मको एसईईमा अनिवार्य विषयमध्ये अंग्रेजी र विज्ञानमा मात्रै प्रयोगात्मक थियो । ०७४ देखि गणितबाहेक सबै विषयमा कम्तीमा २५ अंक प्रयोगात्मक थपियो । सबै विषयमा शिक्षकले नै प्रयोगात्मक नम्बर दिने व्यवस्था भएपछि ०७४ मा ४ जीपीए ल्याउनेको संख्या ७४ पुगेको थियो । ०७५ मा १ सय ६ जनाले ४ जीपीए ल्याए । स्रोतबाट प्राप्त ०७६ को नतिजा विश्लेषण गर्दा ९ हजार ३ सय १९ जनाले ४ जीपीए ल्याएका छन् । यो संख्या यस वर्ष नियमिततर्फका ४ लाख ७२ हजार ७८ जनाको १ दशमलव ९७ हो । यसपालि काठमाडौं जिल्लामा मात्रै १ हजार ५ सय ५२ जनाले ४ जीपीए ल्याएका छन् । बोर्डले भने यस वर्ष तथ्यांक नै लुकाएको छ ।

विद्यालयले आफूखुसी अंक दिएकैले यस वर्ष ४ जीपीए ल्याउनेको संख्या बढेको शिक्षा विकास तथा समन्वय इकाइका एक प्रमुखले बताए ।‘यस वर्ष सहरी क्षेत्रका निजी विद्यालयले आफ्ना विद्यार्थीलाई प्रायः ४ जीपीए दिएको पाइयो,’बोर्डका एक सदस्यले भने ।

नतिजाले शिक्षक र विद्यालयमाथि नै नैतिक प्रश्न उठेको शिक्षाविद् विद्यानाथ कोइरालाले बताए ।‘विद्यार्थीको शैक्षिक स्तर बढेको यसले पुष्टि गर्दैन, शिक्षकहरूले आफ्नो हात जगन्नाथ गरे,उनीहरूको इमानमा प्रश्न गर्ने बेला आयो,’उनले भने । लोकसेवा आयोगको प्रतिस्पर्धादेखि अन्य निकायको परीक्षामा पनि एसईईको प्रमाणपत्रले मान्यता पाउँदै आएको छ ।‘१० कक्षाको परीक्षालाई ५ कक्षाको जस्तै मान्दा त यसले खासै असर नगर्ला तर अहिलेसम्म यसको एउटा मान्यता छ,’कोइरालाले भने,‘१० कक्षामा शिक्षकले दिएको नम्बरले ११ र १२ कक्षामा काम गर्छ कि गर्दैन,यो गम्भीर प्रश्न हो ।’

बोर्डले अभिभावक, विद्यार्थी र विषयगत शिक्षकको दबाबमा विद्यार्थीको सिकाइ स्तरभन्दा पनि बढी नम्बर राखेर पठाउन सक्ने भएकाले नम्बर दिने सूत्र नै बनाएर कार्यविधि बनाइएको थियो । ‘सकेसम्म पारदर्शी होस् भनेर नम्बर दिने सूत्रसहित कार्यविधि तयार पारेका थियौं,’बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले भने,‘कुन विद्यालयको नतिजा विगतमा कस्तो थियो,यसपालि कस्तो छ भन्ने पनि निगरानी गर्छौं,अलि पछि विश्लेषण गरौंला ।’

उदाहरणका लागि विद्यालयले कुनै विषयमा ३० पूर्णाङ्कमा परीक्षा लिँदा कुनै एक विद्यार्थीले २६ अंक प्राप्त गरेको थियो भने उसले अन्तिम मूल्यांकनको प्राप्त नम्बर कायम गर्ने सूत्र बोर्डले दिएको थियो । विद्यार्थीले प्राप्त गरेको अन्तिम प्राप्तांकलाई परीक्षाको पूर्णाङ्कले भाग गरेर विषयको कुल पूर्णाङ्कले गुणन गरेर विद्यार्थीको अन्तिम प्राप्तांक निकाल्नुपर्ने सूत्र थियो ।

जस्तै,कुनै विद्यार्थीले ३० पूर्णाङ्कमा २६ प्राप्त गरेको छ भने विषयको पूर्णाङ्क एक सयले गुना गरेपछि विद्यार्थीको अन्तिम प्राप्तांक ८६.६६ निस्कन्छ । राउन्ड फिगरमा विद्यार्थीले ८७ नम्बर पाउनेछन् ।‘यस्तो सूत्र दिँदा पनि विद्यालय र शिक्षकले रातारात अंक बढाएर पठाउँछन् भने हाम्रो के लाग्छ र ! इकाइबाट सिफारिस भएर आयो,हामीले प्रमाणित गरिदियौं,’बोर्डका एक सदस्यले कान्तिपुरसँग भने,‘सबैभन्दा ठूलो कुरा विश्वास र जिम्मेवारी हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *