जसेरी र्भूकम्पलाई हामीले एक भएर सामना गर्यो अब धैर्य र साहसका साथ कोरोनाको सामाना गर्ने छौ : प्रधानमन्त्री ओली

समाचार

काठमाडौ, बैशाख १ – प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षअघिको भूकम्पलाई हामीले एक भएर सामना गरेको कोभिड–१९ को महामारीलाई पनि धैर्य र साहसका साथ पार लगाइने बताउनुभएको छ । नयाँ वर्ष २०७७ सालका अवसरमा आज बिहान सन्देश दिँदै उहाँले देशभित्र र बाहिर रहनुभएका सबै नेपाली दिदीबहिनी दाजुभाइ तथा परिवारजन र आफन्तलाई कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन तथा सङ्क्रमितलाई यसमाथि विजय हासिल गर्न शुभकामना दिनुभएको छ ।

कोरोना भाइरसको विश्व महामारीबाट सिङ्गो मानव जातिसहित हामी नेपाली पनि छिट्टै मुक्त हुन सकौँ भन्ने कामना पनि उहाँले गर्नुभएको छ । हामीले एउटा भिन्न प्रकृतिको असहज परिस्थितिबीच नयाँ वर्षको आगमनलाई स्वागत गरिरहेकोे बताउँदै उहाँले भन्नुभयो, “पुरानो वर्षलाई बिदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने यो घडी वास्तवमा उल्लास र उमङ्गको पर्व हुनुपर्ने थियो, समीक्षा र नयाँ सङ्कल्पको अवसर हुनुपर्ने थियो तर यस नयाँ वर्षलाई हामी साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गर्दैछौँ ।” कोभिड–१९ को महामारी र सङ्मक्रमणको यस घडीमा हामीभित्रको मानवीय भावनाले हामीलाई अझ दह्रो गरी जोडिरहेको पनि उहाँले बताउनुभएको छ ।

सन्देशमा भनिएको छ, “कोभिड–१९ ले मानवीय भावनाले हामीलाई अझ दह्रो गरी जोडिरहेको छ । सिङ्गो नेपाली समुदाय राष्ट्रिय एकताको भावनात्मक एकतामा अझ घनिष्ठरुपमा आबद्ध भएको छ तर भौतिकरुपले भन्ने हो भने चाहिँ हाम्रो सामाजिक सम्बन्ध जोड्ने धागो टुटेको छ । सिङ्गो विश्वको अर्थव्यवस्थालाई गतिशील बनाइराख्ने उत्पादन प्रणालीको कडी टुटेको छ । अन्योल र भयको कहालीलाग्दो अवस्थाबाट अहिलेको समय गुज्रिरहेको छ ।”

कोरोना भाइरसविरुद्धको जारी ‘युद्ध’को अगुवाइ सरकारले गरिरहेको बताउँदै उहाँले सन्देशमा दुःखका पलमा हामीले नेपालीको हौसलापूर्ण साथ, सहयोग र सद्भाव पाएको तथा आगामी दिनमा पनि सरकारलाई सम्पूर्ण देशवासीको निरन्तर साथ रहने विश्वास व्यक्त गर्नुभएको छ ।

सन्देशमा उहाँले हामीले यो युद्ध जित्नका लागि त्यसबेलाको भन्दा भिन्न ‘युद्धका नियम’हरु पालना गर्नु आवश्यक रहेको बताउनुभयो । “यस युद्धमा ‘दूरीमा शक्ति’ छ, दूरीबाट नै हाम्रो एकता प्रदर्शित हुन्छ भन्ने जस्तो नियमको पालना गर्नुपर्ने अनौठो अवस्था आएको छ । एक्लाएक्लै उभिँदै सामाजिक दूरी कायम राखेर अदृश्य शत्रु–कोरोना भाइरसलाई छल्नुपर्छ भन्नेमा हामी सचेत हुनुपर्छ”

उहाँले भन्नुभएको छ, “अहिले जो जहाँ छ, त्यहीँ रहने, स्वास्थ्यकर्मीले दिएका सुझाव र सरकारले जारी गरेका निर्देशनको पालना गर्दै स्व–अनुशासनमा रहने र कोरोना भाइरसको चक्र समाप्त हुने अवधिसम्म धैर्यका साथ पर्खिने नीति अपनाउनु अपरिहार्य छ ।” उहाँले हरेक अप्ठ्यारोमा मानिस स्वभावैले अत्तालिन्छ भन्दै यस्तो समयमा मनलाई नियन्त्रणमा राख्नुपर्नेमा जोड दिनुभयो ।

यस महामारीबाट कूल गार्हस्थ उत्पादनको २ देखि ४ प्रतिशतको हाराहारीमा हाम्रो अर्थतन्त्रमा क्षति पुग्ने भन्ने विभिन्न क्षेत्रका विद्वान्को विश्लेषणप्रति सरकारको पर्याप्त ध्यान गएको उल्लेख गर्नुभएको छ । सन्देशमा कोरोनापछिको क्षतिको आकलनका लागि सरकारले आपूmसम्बद्ध विभिन्न निकायलाई परिचालन गरिसकेको जनाउँदै उहाँले आउने हप्ता दिनसम्म महामारीको वेगको पूर्वानुमान हुन सक्ने हुँदा समग्र मूल्याङ्कनको प्रक्रिया त्यसपछि मात्रै निष्कर्षमा पुग्ने बताउनुभएको छ ।

“आगामी वैशाख ३ गते लकडाउनको दोस्रो समयावधि पूरा हुन्छ । यिनै दुई दिनको अवधिमा हुने प्रगतिका आधारमा कोरोना–महामारीविरुद्धको हाम्रो नीति कस्तो हुने भन्ने सरकारले निर्णय गर्ने छ भन्ने सन्देशमा उहाँले भन्नुभएको छ,ढुक्क होऔँ, कस्तै प्रतिकूल अवस्थामा पनि आपूर्ति प्रणालीलाई कमजोर हुन दिइने छैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *