व्यवसाय गर्ने खोजी मा हुनहन्छ भने एकचोटी हेर्नुहोस कालिज पालन सम्बन्धि सम्पूर्ण जानकारी । हुन्छ यति धेरै फाइदा ।

जानकारि

म्याग्दीमा ‘जंगली कुखुरा’ भनेर चिनिने कालिजको पहिलोपटक व्यवसायीक पालन सुरू भएको छ। हरियाली समूहले बेनी नगरपालिका–४, सिंगामा करिब ८० लाखको लगानीमा १५ रोपनी क्षेत्रफलमा कालिज पालन व्यवसाय शुरु गरेको हो। जिल्लामा सामूहिक लगानीमा गरिएको सबैभन्दा ठूलो कृषि कम्पनीको रूपमा चिनिएको समूहले कृषि मन्त्रालयको अनुमति लिई पहिलो चरणमा ल्याएको करिब ५ सय चल्ला खानयोग्य भएपछि धमाधम बिक्री वितरण समेत सुरु भएको समूहका प्रबन्धक शेरबहादुर केसीले बताए। ‘परीक्षण नै सफल भएपछि उत्साहित छौ,‘कालिजलाई हेर्न आउनेको समेत भिड छ’ केसीले भने।

उनका अनुसार भदौ महिनाबाट प्रति कालिज तीन हजार ५ सय रुपैयाँका दरले बिक्री सुरु गरेको बताए। ‘बेनीबजारका रेस्टुरेन्टबाट बिक्री भइरहेको छ,‘कालिज खोज्दै फार्मसम्म आउन थालेका छन्’ केसीले भने। उनका अनुसार पोथी कालिजले अण्डा उत्पादन गर्ने समय भएकाले ह्याचरी सञ्चालनका लागि आवश्यक पर्ने उपकरण ल्याएर बच्चा उत्पादन गरी बिक्री तयारी समेत भइरहेको छ। हरियालीमा उत्पादन गरेको चल्लालाई कानुनी मान्यता लिएका फार्ममा बिक्री गर्ने, मासुका लागि जिल्लाभित्र होटल, ब्यक्तिगतका साथै पोखरासम्म बजार विस्तार गर्ने योजना रहेको छ। साविकको धौलागिरी अञ्चलमा कालिजको ब्यवसायीक पालन म्याग्दीमा मात्रै छ भने गण्डकी प्रदेशमै म्याग्दी दोस्रो र धेरै लगानी गर्नेमा पर्छ।

कालिज व्यवसायलाई अझ बृहत बनाउन थप ४ सय चल्ला थपिएको छ,‘कालिज पालनका लागि अनुकुल हावापानी भएकाले सजिलो भएको छ’ समूहका लगानीकर्ता भगवान खड्काले भने। एउटा पोथी कालिजले २० देखि ४० वटा अण्डा उत्पादन गर्ने भएकाले बच्चा उत्पादन गरी कालिज व्यवसायलाई समूहको प्रमुख आम्दानीको स्रोत बनाउने योजना समेत रहेको समूहले जनाएको छ। समूहले काठमाडौको दक्षिणकालीमा रहेको एभरेष्ट वाइल्ड लाइभ एग्रो एण्ड रिसर्च प्रालिले उत्पादन गरेको कालिजको प्रति गोटा चल्ला १ हजार ३५० का दरले खरिद गरेर ल्याइएकोमा दानापानी र हुर्काउदाँ करिब २ हजारभन्दा बढी खर्च हुने हरियाली समूहले जनाएको छ।

८ देखि १० महिनामा चल्ला बिक्री गर्न मिल्ने हुन्छ। चल्ला अपेक्षा गरे अनुसार नै हुर्किएपछि करिब ५ हजारभन्दा धेरै कालिज पाल्ने योजना समेत समूहले बनाएको छ। यता समूहबाट कालिज बिक्री सुरु गरिएपछि बेनीको होटल याकले कालिजको सेकुवा, तास, सुप लगायत परिकार बिक्री सुरु गरेको सञ्चालक बाबुराम आचार्यले बताए। ‘यो निकै नयाँ परिकार मानिएको छ,‘कालिजका लागि मरिहत्ते गरेर बनजंगलमा अत्यधिक हुने चोरी सिकार समेत घट्ने छ’ आचार्यले भने। म्याग्दी होटल तथा रेष्टुरेन्ट संघका अध्यक्ष समेत रहेका आचार्यले कानुनी मान्यता प्राप्त संस्थाबाट उत्पादन गरिएको कालिजको मासु र अन्य परिकार बिक्री सुरु गरेको बताए।

म्याग्दीमा बेनी नगरपालिका र पाँचवटा गाउँपालिकामा कालिजको अत्यधिक चोरी शिकारी हुने गरेको छ। ग्रामिण क्षेत्रमा बाख्लो संख्यामा भेटिने कालिज यसअगाडी होटल, रेष्टुरेन्टरका साथै निजी भान्सामा पाक्ने गरेको थियो। बनजंगलमा पाइनेभन्दा केही कम स्वादिलो भएपनि कालिजका पारखीलाई धेरै सहज भएको छ। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठको परिकल्पना अनुसार स्थापित हरियाली मोडेलको कृषि फार्ममा स्थानीय ३६ जना जग्गाधनी कृषकसहित ५५ जनाको पाँच करोड लगानीमा १५५ रोपनी जग्गामा कालिजका साथै कुखुरा, माछा, बोयर, तरकारी खेती गरिएको छ।

फार्ममा राष्ट्रिय वाणिज्य बैंकको बेनि शाखाले परियोजना धितोमा राखेर ५ करोड रुपैयाँ सहुलियत ब्याजदरको कर्जा समेत लगानी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *