निजी अस्पतालले कोरोना संक्रमित को उपचार नगरे कारबाही गरिने।

स्वास्थ

काठमाडौं : सरकारले सरकारी र सार्वजनिक अस्पतालका अतिरिक्त जुनसुकै स्वास्थ्य प्रतिष्ठान र निजी अस्पतालबाट समेत कोभिड –१९ को रोकथाम र उपचार सेवा सञ्चालन गराउने भएको छ ।

सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि कोरोना भाइरसको लक्षण भएका र अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने अवस्थाका बिरामीको उपचारका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यकतानुसार शिक्षण अस्पताल,निजी अस्पताल,सहकारी अस्पताल,गैरनाफामूलक सामुदायिक अस्पतालसमेतबाट सेवा सञ्चालन गराउन लागेको हो ।

कतिपय निजी अस्पतालले कोरोनाको परीक्षण र उपचार गर्न नमानेको गुनासो आइरहेका बेला सरकारको सो निर्णयपछि सबै अस्पताल महामारीका समयमा ती सेवा दिन बाध्यकारी हुनेछन् । मन्त्रिपरिषद्को यही भदौ ४ गतेको दोस्रो बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा युवराज खतिवडाले यस कार्यमा असहयोग र बाधा विरोध गर्ने जो कोहीलाई प्रचलित कानूनबमोजिम कारबाही गरिने निर्णय पनि भएको बताए । उनले भने’अस्पतालहरुले आफूलाई सुविधा हुने उपचार र सेवा दिने र असुविधा हुने सेवा दिन्न भन्न पाइँदैन । यो निर्णयको कार्यान्वयनमा सबैको सहयोग हुनेछ ।’

स्वास्थ्य मन्त्रालयले काठमाडौँ उपत्यकामा रहेका सरकारी अस्पताल, आवश्यकतानुसार अन्य निजी,सामुदायिक एवं शिक्षण अस्पताल र स्वास्थ्य प्रतिष्ठानसमेतलाई प्रयोगमा ल्याई हाललाई कम्तीमा छ हजार शैय्याको आइसोलेशन स्थल प्रबन्ध गर्ने र यसलाई आवश्यकतानुसार थप्दै काठमाडौँ उपत्यकाबाहेक अन्य जिल्लामा प्रदेश सरकारले प्रबन्ध गरिनेछ । आइसोलेशन स्थलको सुरक्षा नेपाली सेनाले गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *