२४ घण्टा मै ६ वर्षीया बालिकासहित ९ जना कोरोना सङ्क्रमितको मृत्यु

समाचार

काठमाडौँ,६ भदौ । पछिल्लो २४ घण्टामा ९ जना कोरोनाभाइरस सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुनसरी,पर्सा,बारा,सिरहा,मकवानपुर र भक्तपुर गरी ६ जिल्लाका ९ जनाको मृत्युको पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४६ पुगेको मन्त्रलायले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा सबैभन्दा बढी प्रदेश २ मा पाँच जनाको मृत्यु भएको जानकारी दिनुभयो । प्रदेश २ को पर्सा जिल्लाका तीन जना,बारा र सिरहाका एक-एक गरी जमा पाँच जनाको मृत्युको पुष्टि भएको छ । पर्साका ६१,५८ र ४८ वर्षीय तीन जना पुरुषको सङ्क्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । बाराका ५८ वर्षीय पुरुष र सिरहाका ६८ वर्षीय पुरुष हुनुहुन्छ ।

प्रदेश १ को सुनसरीमा एक छ वर्षीया बालिकासहित दुई जनाको मृत्यु भएको छ । अर्का ६७ वर्षीय पुरुष हुनुहुन्छ । दुवै जनामा सङ्क्रमणको पुष्टि भएको छ । त्यसैगरी बाग्मती प्रदेशमा दुई जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । मकवानपुरका ५६ वर्षीय पुरुष र भक्तपुरका ७३ वर्षीय पुरुषको उपचारको क्रममा निधन भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनुभयो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३१ ह्जार ११७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा १२ हजार ५१९ जनाको पीसीआर परीक्षण गरिएको बताउनुभयाे । सङ्क्रमितमध्ये १८२ जना महिला र ४५२ जना पुरुष रहेको मन्त्रलायले जनाएको छ । पछिल्लो चौबीस घण्टामा १३६ जना सङ्क्रमित निको भई घर फर्केका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *