मुलुकका विभिन्न स्थानमा रगतको अभाव, रक्तदानको लागि अनुरोध

स्वास्थ

काठमाडौं,६ भदौ । देशका विभिन्न स्थानमा रहेका विरामीलाई रगत अभाव भइरहेको छ । बन्दाबन्दी र निषेधाज्ञाको अवस्थामा रक्तदान क्याम्प आयोजना हुन नसकेकोले केन्द्रीय रक्तसञ्चार सेवा लगायत धेरैजसो रक्तसञ्चार केन्द्रहरुमा अत्यन्तै न्यून सँख्यामा रगत स्टक रहेको जानकारी गराइएको छ ।

केन्द्रीय रक्तसञ्चार सेवाका प्राविधिक श्रवण श्रेष्ठका अनुसार आज शनिवारको लागि बुक गरिएका क्याम्पहरु सबै स्थगित भएका छन् । उनका अनुसार विहीबार ३२ जना दाताहरुले केन्द्रमै आई रक्तदान गरेका थिए । जसको कारण ६४ पिन्ट रगत जम्मा गर्न सकिएको तर,थप ६१ जना रित्तोहात फर्किनुपरेको थियो ।

त्यस्तै,हिजो शुक्रबार २६ जनालाई फर्कउनुपरेको थियो । दुर्घटनामा पर्ने,रक्तश्राव भएका,प्रसुति,मुटु,क्यान्सर तथा मिर्गौला विरामी,थालसेमिया,हेमोफिलिया,आकस्मिक अपरेशन गर्नुपर्ने विरामीहरुका आफन्तहरु केन्द्रीय रक्तसञ्चार केन्द्रमा आइरहेका तर,पर्याप्त रगत आपूर्ति गर्न नसकिएको केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पवन गुप्ताले जानकारी दिए ।

केन्द्रमा मात्र नभइ धरान,विराटनगर,चितवनलगायतका स्थानमा पनि रगत अभाव भइरहेकोे नेरेसो सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए । उनले भने,‘उक्त क्षेत्रका अधिकांश भागमा निशेधाज्ञा छ र वरिपरिका जिल्लाहरुबाट पहिलाजस्तो सहयोग हुनसक्ने परिस्थिति रहेको छैन । तर,नेपालगञ्जमा भने तुलनात्मक सहज देखिएको छ ।’

रगत नपाए भक्तपुर जानु भन्ने अभियान सञ्चालन गरेको भक्तपुर केन्द्रले विगतको लकडाउनमा पर्याप्त रक्तसंकलन गरेपनि विगत १३ देखि कुनै क्याम्प आयोजना नभएकोले त्यहाँपनि अहिले रगतको स्टक समस्यामा परेको छ ।

तर,स्थानीय प्रशासन र पालिकाको सहमति लिई आज शनिवार विहान सुडालमा क्याम्प आयोजना गरिएको र त्यहाँ २ महिला र २४ पुरुषले रक्तदान गरिसकेका र अर्को एक स्थानमा रक्तदान शिविर चलिरहेको शाखाका मन्त्री परशुराम पाण्डेले जानकारी दिए ।

रगतको माग भइरहेकोले रक्तदाता,संघसंस्था र रेडक्रसका निकायहरुले सानो समूहमा भएपनि स्थानीय पालिका र प्रशासनको सहयोगमा रक्तदानको कार्यक्रम आयोजना गर्न गराउन गर्न सके रगत आपूर्ति सहज हुने निर्देशक पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *