आइसोलेसन तोडफोड गरेकाे आरोपमा क्याम्पस प्रमुख पक्राउ

समाचार

सङ्खुवासभा । सङ्खुवासभामा कोरोना सङ्क्रमित राख्न बनाइएको आइसोलेसन वार्ड तोडफोड र स्वास्थ्य सामग्री गायब गरेको आरोपमा क्याम्पस प्रमुख पक्राउ परेका छन् । हिमालय किरण क्याम्पसका प्रमुख मातृका तिम्सिनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

आज प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीले प्रमुख तिम्सिनामाथि आपराधिक उपद्रव गर्न नहुने मुद्दामा अनुसन्धान शुरु गरेको जनाएको छ । जिल्ला अस्पतालको किटानी उजुरीका आधारमा प्रहरीले तिम्सिनालाई पक्राउ गरेको हो ।

अस्पताल प्रशासनका अनुसार आइसोलेसन प्रयोगका लागि राखिएका सामग्री बिहीबार राति तोडफोडपछि हराएको थियो । करिब रु १५ लाख बराबरको सामग्री चोरी भएको अस्पतालका मेसु सुन्दरश्याम झाले बताए । झाका अनुसार ७० थान पीपीई,प्यासेन्ट मनिटर,सक्सन मेशिन,अक्सिजन मेशिन,अक्सिजन डिभाइडरलगायतका सामग्री हराएको छ ।

अहिले आइसोलेसनमा तीन जना कोरोना सङ्क्रमित उपचार गरिरहेको अस्पतालका प्रशासन प्रमुख दिपेश श्रेष्ठले बताए । तोडफोडपछि नयाँ स्वास्थ्य सामग्री लगेर तीन जना कोरोना सङ्क्रमितलाई राखिएको श्रेष्ठले बताए । रासस

यो पनि पढ्नुहोस
सिन्धुपाल्चोक । लिदी पहिरोका विस्थापितलाई स्थानान्तरण कार्य थालिएको छ । जुगल गाउँपालिकाकै वडा नं १ सेलाङको बाँसखर्कमा सार्ने तयारी गरिएको हो । हाल पहिलो चरणमा सबैलाई टेन्टमा राख्ने गरी तयारी भइरहेको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए । सबै परिवारलाई टेन्टमा राख्ने गरी आवश्यक सामग्री आज ढुवानी गरिएको छ ।

बस्ती स्थानान्तरणका लागि विभिन्न जिम्मेवारी छुट्याइएको छ । जसअनुसार जिल्ला विपद् व्यवस्थापन समितिले आवश्यक टेन्ट उपलब्ध गराउने निर्णयबमोजिम आजै ९८ थान टेन्ट गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । गाउँपालिका कार्यालयले बाँसखर्कमा रहेको खुला क्षेत्रमा जग्गा सम्याउने,शिविर व्यवस्थापन गर्ने तथा सडक पूर्वाधारको व्यवस्थापन गर्नेछ । जिल्ला आयोजना कार्यान्वयन एकाइले आवास व्यवस्थापन र डिभिजन खानेपानी कार्यालयले खानेपानीको व्यवस्थापन मिलाउने छ भने जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य सेवाको प्रबन्ध मिलाउने छ । रेडक्रसले शौचालय व्यवस्थापनको जिम्मा लिएको छ ।

प्रदेशसभा सदस्य सरेश नेपाल,पूर्वसांसद सुवास कर्माचार्यसहितको टोली स्थलगत भ्रमण गरी स्थानीयवासीसँग छलफल गरेका थिए । आइतबार विहानैबाट नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी खटिएर टेन्ट जडान तथा सुरक्षाको प्रबन्ध मिलाउने श्रेष्ठले बताए । नौ दिनअघि जुगल–२ लिदीको लामागाउँ पहिरामा बेपत्ता भएकामध्ये ३२ को शव फेला परेको छ भने सात अझै बेपत्ता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *