दाहसंस्कार गर्ने बेलामा कोरोना पोजेटिभ भएको रिपोर्ट आएपछि मालामी को भगाभग

समाचार

बुटवल । रूपन्देहीको रोहिणी गाउँपालिकाका एक पुरूषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको छ । रोहिणी गाउँपालिका–३,धकधईका ५३ वर्षीय पुरुषको शनिबार उपचारका लागि लैजाँदै गर्दा भारतको नौतनवामा मृत्यु भएको थियो ।

मृत्युपछि उनको लाश नेपाल ल्याएर बुटवलको नेशनल प्याथ ल्याबमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहले मिश्रको कोरोना रिपोर्ट पोजेटिभ आएको पुष्टी गरे । मृतकका आफन्त कृष्णचन्द्र मिश्रले पनि फेसबुकमा कोरोना रिपोर्ट सार्वजनिक गरेका छन् । योसंगै रुपन्देहीमा कोरोना संक्रमण पुष्टि भएका मृतकको संख्या ५ पुगेको छ ।

दाह संस्कार गर्दागर्दै मलामी भागाभाग
मिश्रको लाशलाई आइतबार मध्यान्ह परिवारजनले दाह संस्कार गर्ने अन्तिम तयारी गरेका बेला उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । यो खबर पुगेपछि घाटमा पुगेका मलामीको पनि भागाभाग भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन शाहले कोरोना रिपोर्ट पोजेटिभ आएकाले मिश्रको लाश नजलाउन आफन्तलाई आग्रह गरे पनि नमानेका बताए ।

रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादवले लाशलाई अन्तिम संस्कार गर्नै लागेका बेला कोरोना पुष्टि भएको खबर आएपछि धेरै मलामी भागाभाग भएको र परिवारका सदस्यले मात्र अन्तिम संस्कार गरेको बुझिएको छ । गाउँपालिका अध्यक्ष यादवले १०० जना भन्दा बढी मलामी गएको बताए । मृतकका आफन्त,मलामी गएका सबैलाई होम क्वारेन्टिनमा बस्न आग्रह गरिएको गाउँपालिका अध्यक्ष यादवले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *