दैबको अनौठो खेल – डेढ महिनाकी छोरी आइसीयुमा, बुवाको दुबईमा करेन्ट लागेर मृत्यु

समाचार

यूएईको दुबईमा एक नेपालीको करेन्ट लागेर ज्यान गएको छ । यता नेपालमा रहेकी उनकी डेढ महिनाकी छोरीलाई आइसीयुमा राखिएको छ ।

दुबईमा कार्यरत रुपन्देही ११ मझुवाका ३० वर्षीय कृष्णबहादुर खड्काको काम गर्ने क्रममा करेन्ट लागेर ज्यान गएको हो । कामका लागि ६ महिना पहिले दुबई आउनुभएका कृष्णबहादुरको साउन २२ गते कम्पनीकै काम गर्ने क्रममा वेल्डिङ्का लागि मेशिन तयार गर्दै गर्दा करेन्ट लागेर ज्यान गएको दूतावासले जनाएको छ ।

कृष्णबहादुरको घरमा सुत्केरी श्रीमती छन् । ५० दिन पहिले जन्मिएकी छोरीको स्वास्थ्य अवस्था नाजुक भएकाले बुटवलको आम्दा अस्पतालमा आइसीयुमा राखेर उपचार भईरहेको छ । ‘सुकुम्बासी बस्तीमा झुपडी छ, सुत्केरी बुहारीले बिरामी नानीको के गर्लिन,’ उनका नजिकका आफ्नतले भने । कृष्णबहादुरको परिवार आर्थिक अवस्था कमजोर भएकै कारण पाल्पाबाट बसाईँ सरेर बुटवलमा सुकुम्बासी बस्तीमा बसेको छ ।

कृष्णबहादुरको शव नेपालसम्म कम्पनीले पठाउने भएको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरेर दूतावाससँगको समन्वयमा कम्पनीले शव घर पठाउन लागेको हो । आइतबार नेपाल एअरलाइन्सको जहाजमार्फत कृष्णबहादुरको शव नेपाल आउने बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *