बेच्नका लागि झोलामा बोकेको लागुपदार्थ सहित दुई जना पक्राउ !

समाचार

काठमाडौँ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले दुई जनालाई प्रतिबन्धित लागूपदार्थ साढे ६ केजी अफिमसहित पक्राउ गरेको छ । काठमाडौंको तारकेश्वर लोलाङ हाइटबाट त्रिवेणी नगरपालिका–१, जाजरकोटका २२ वर्षीय दिलिप विश्वकर्मा र भीमेश्वर नगरपालिका–६ की १८ वर्षीय प्रमिला राउत पक्राउ परेका हुन् ।

बरामद अफिम जाजरकोटबाटै प्रतिकेजी १ लाख ५० हजारका दरले किनेर ल्याएको अनुसन्धानबाट खुलेको महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताए । एसएसपी थापाका अनुसार अफिम काठमाडौँ ल्याएर ८ लाख प्रतिकेजीका दरले विक्री गर्न लागिएको अवस्थामा प्रहरीले सूचना पाएको थियो । बेच्नका लागि कालो झोलामा बोकेको अफिमसहित काठमाडौँ जिल्ला तार्केश्वर नगरपालिकाको शेषमती सानो पुल नजिकबाट उनीहरु पक्राउ परेको थापाले बताए । पक्राउ परेका विकले कारोबारमा शंका हुने देखेर बच्न राउतलाई साथमा लिएको खुलेको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *