कुलमानको नाम लिएर मन्त्रिपरिषद् बैठकमा चल्यो मन्त्रीहरुबीच हाँसो।

समाचार

काठमाडौं । साँझ ५ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीहरु पुगे, मन्त्रिपरिषद् बैठकमा सहभागी हुन । बैठक नियमित थियो र उल्लेख्य कार्यसूची केही पनि थिएन ।

मन्त्रिपरिषद् बैठक सुरुमात्रै के भएको थियो–एकाएक नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नियुक्त गरिएको खबर भाइरल भयो । जबकी मातहतको मन्त्रालय ऊर्जाले यसबारे न कुनै प्रस्ताव मन्त्रिपरिषद्मा लगेछ न कुनै टिप्पणी नै ।

बरु समाचारको विषयमा मन्त्रालयकै अधिकारीले आश्चर्य व्यक्त गरे । पछिल्लो समय ऊर्जामन्त्री वर्षमान पुन कुलमान घिसिङको विकल्पमा रहेको बताइएको छ । मन्त्री पुनको अनिच्छाका बीच प्रधानमन्त्रीको ठाडो प्रस्तावमा यस्तो निर्णय गरेको हुनसक्ने मन्त्रालयका अधिकारीको आशंका रह्यो । तर पार्टीभित्रको विवादका बीच प्रधानमन्त्रीले एकलौटी निर्णय लिँदा समस्या उत्पन्न हुने अवस्था थियो । भर्खरै पार्टी विवाद थामथुम भएको बेला यस्तो निर्णय प्रधानमन्त्रीबाट आउने सम्भावना थिएन र आएको पनि थिएन । तर यो हल्ला कसरी आयो ?

यो हल्ला बाहिरिनुको एउटा कारण छ । कलाकार दीपकारज गिरीले एक स्टाटस फेसबुकमा लेखे–आज बसेको मन्त्रिपरिषद बैठकले कुलमान घिसिङलाइ नै विद्युत प्राधिकरणको प्रमुख पदमा निरन्तरता दिने निर्णय गरेको छ १ सरकारसंग यस्तै आशयको समाचार प्रेसित गरेर जनताकै पक्षमा उभिनुको विकल्प छैन ।

उनले सरकारले कुलमानलाई सरकारले निरन्तरता दिनुपर्ने आशय व्यक्त गरेपनि धेरैले कुलमानलाई नै नियुक्त गरेको बुझे र यहीँबाट कुलमानको नियुक्ति भएको विषय भाइरल हुन पुग्यो ।

यतिसम्मकी कुलमानलाई नियुक्ति गरेको भन्ने हल्ला क्याबिनेट बैठक चल्दै गर्दासमेत मन्त्रीहरुसम्म पुगिसकेको थियो । सोबीचमा मन्त्रीहरुबीच सामाजिक सञ्चालनमा आएको भ्रमपूर्ण अफबाहका विषयमा हाँसो चलेको थियो भने बैठक हलबाटै केही मिडियामा ऊर्जामन्त्री वर्षमान पुनले स्पष्ट समेत पारेका थिए ।

बैठकपछि एक मन्त्रीले कुलमानको नियुक्तिको विषयमा बैठकको एजेण्डा समेत नभएको भन्दै बैठकमा मन्त्रीहरुबीच नै कसरी खबर बाहिरियो भनेर हाँसो चलेको बताए । स्मरण सहोस् कुलमानको कार्यकाल आगामी भदौ २९ देखि सकिने हो । अहिले नै सरकारलाई नियुक्ति गर्ने हतारो पनि छैन ।
source-lokpath.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *