जमैकाका पूर्व धावक उसेन बोल्टलाई कोरोना संक्रमण !

समाचार

जमैका — आठ पटकका ओलम्पिक च्याम्पियन एवं जमैकाका पूर्व धावक उसेन बोल्टलाई कोरोना संक्रमण भएको छ । बोल्टका एजेन्ट रिक्की सिम्सले सीएनएनसँगको कुराकानीमा बोल्टलाई कोरोना संक्रमण भएको पुष्टि गर्दै उनमा कुनै पनि लक्षण नदेखिएको बताएका छन् ।

कोरोनाको रिपोर्ट आउनुअघि बोल्टले सामाजिक सञ्जालमा भनेका थिए, ‘सतर्कताका लागि म आफैं क्वारेन्टाइन बसेको हुँ, यसलाई सहज रूपमा लिऊँ ।’ बोल्टले जमैकामा जन्मदिनको अवसरमा पार्टी आयोजना गरेका थिए र त्यसमा म्यानचेस्टर सिटी र इंग्ल्यान्डका फरवार्ड रहिम स्टर्लिङ पनि पाहुनाको रूपमा रहेको जनाइएको छ । इंग्ल्यान्डले सेप्टेम्बर ५ मा नेसन्स लिगमा आइसल्यान्डसँग खेल्दै छ र त्यसको ३ दिनपछि डेनमार्कसँग खेल्नेछ ।

‘मैले शनिबार परीक्षण गरेको थिएँ, किनभने मेरो काम थियो । म जिम्मेवार हुन खोजिरहेको छु, त्यसैले म आफ्ना साथीहरूका लागि यहाँ बसिरहेको छु,’ बोल्टले भने, ‘मलाई संक्रमणको कुनै संकेत देखिएको छैन । त्यसैकारण म क्वारेन्टाइनमा बसिरहेको छु र यसको पुष्टिका लागि नतिजा पर्खिरहेको छु । स्वास्थ मन्त्रालयको प्रोटोकल कस्तो छ त्यो पनि हेरिरहेको छु ।’

विश्व कीर्तिमानी धावक बोल्टले लन्डनमा भएको विश्व च्याम्पियनसिपपछि २०१७ मा संन्यास लिएका थिए । उनले अस्ट्रेलियाको क्लब सेन्ट्रल कोस्ट मारिनर्सबाट २०१८ मा प्रशिक्षण पनि गरेका थिए । तर उनले फुटबलबाट आफ्नो खेलजीवन अगाडि बढाउन सकेनन् । विश्व खेलकुदका ठूला स्टारहरू कोरोना संक्रमणमा परिसकेका छन् । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिजलाई जुनमा कोरोना संक्रमण भएको थियो भने आइतबारमात्र बार्सिलोनाका मिडफिल्डर मिरालेम प्जानिक संक्रमण सूचीमा थपिएका थिए ।

बोल्टको जन्मदिनको पार्टीमा म्यानचेस्टर सिटीका स्टार खेलाडी रहिम स्टर्लिङ र बायर लेवरकुसनका लियोन बेली पनि सहभागी भएको जमैकन सञ्‍चारमाध्यमहरुले उल्लेख गरेका छन् । बोल्टको जन्मदिन पार्टीमा गएका भनिएका वेस्ट इन्डिजका क्रिकेट स्टार क्रिस गेल समयमै यूएईमा किंग्स इलेभेन पन्जाबको टोलीसँग समावेश हुने भएको क्रिकइन्फोले जनाएको छ । कोभिड–१९ को स्वाब दुई पटक परीक्षण गर्दा नेगेटिभ नतिजा आएपछि गेल यूएई जान लागेका हुन् । यूएई जानु अघि ट्वान्टी–२० मा सर्वाधिक रन बनाएका गेलले इन्स्टाग्रामको स्टोरीमा भिडियो स्वाब परीक्षण गरिरहेको भिडियो हालेका छन् ।

यूएई पुगेपछि उनको पुनः परीक्षण हुनेछ र ६ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ । क्वारेन्टाइनको पहिलो, तेस्रो र पाँचौं दिन पुनः स्वाब परीक्षण हुनेछ । यसलाई पार गरेपछि उनी जैविक परीक्षणबाट पन्जाबको टोलीसँगै रहेर प्रशिक्षण गर्न पाउने छन् । जमैकाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा जमैकामा १६ जनामा कोरोना संक्रमण रहेको पाइएको छ । अहिलेसम्म जमैकामा १ हजार ५ सय २९ संक्रमित भइसकेका छन् ।

गेलले पछिल्लो पटक प्रतियोगितात्मक प्रतियोगिता खेलेको जनवरीमा बंगलादेश प्रिमियर लिगमा चट्टग्राम च्यालेन्जर्सबाट हो । हाल भइरहेको क्यारेबियन प्रिमियर लिगमा उनलाई सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले लिएको थियो । तर उनले व्यक्तिगत कारण देखाई नखेल्ने निर्णय गरेका थिए । पन्जाबको भारतीय टोली गत साता नै यूएई आएर अहिले ६ दिने क्वारेन्टाइनको अन्तिममा पुगेका छन् । यसै महिनाको सुरुमा ब्याट्सम्यान करुन नैरलाई जुलाईमा कोरोना संक्रमण भएको जनाइएको थियो । तर दुई पटकको परीक्षणमा नेगेटिभ र दुई साता आइसोलेसनमा बसेपछि उनी टोलीसँगै यूएई लागेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *