नेपालमा हुन लागेको तीनवटा कोरोना खोपको परीक्षणबारे थाहा पाउनुपर्ने तीन कुरा

जानकारि

बीबीसी। सरकारी अधिकारीहरूले नेपालमा कोरोनाभाइरसका तीनवटा खोपहरूको चाँडै परीक्षण सुरु हुन सक्ने बताएका छन्। उनीहरूका अनुसार ती खोपहरूको परीक्षण “अनुसन्धानको विश्वव्यापी मापदण्डहरू” पालना गरेर मात्र सुरु हुनेछ। नेपालमा चीन, रुस र अक्सफर्ड विश्वविद्यालयले बनाएका खोपको परीक्षण हुन लागेको हो।

परीक्षणहरूमा सहभागी हुने स्वयम्‌सेवकहरूलाई पूर्ण जानकारी दिएर उनीहरूको पूर्वस्वीकृति लिइने र वैज्ञानिक ढङ्गले परीक्षण गरिने सरकारी अधिकारीको भनाइ छ। सामाजिक सञ्जालमा भने कतिपयले परीक्षणको आलोचना गरेको देखिएको छ। ती खोपको परीक्षणबारे बीबीसीले सरकारी अधिकारीहरू र विज्ञसँग कुराकानी गर्दा थाहा भएका मुख्य तीन कुराहरू यसप्रकार छन्:

१. प्रारम्भिक छलफल मात्र
हाल नेपालमा चीन, रुस र अक्सफर्ड विश्वविद्याले विकास गरेका खोपहरूको परीक्षणका लागि प्रारम्भिक छलफल मात्र भइरहेको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीका अनुसार चिनियाँ कम्पनीले उत्पादन गरेको खोपको नेपालमा तेस्रो चरणको परीक्षणका लागि उसैले प्रस्ताव गरेको हो।

परराष्ट्र मन्त्रालय हुँदै उक्त प्रस्ताव परिषद्‌मा आइपुगे पनि हालसम्म त्यसको जबाफ लेखिएको छैन। पश्चिम नेपालमा रहेको एउटा सिमेन्ट कारखानामा कार्यरत चिनियाँ र नेपाली गरी करिब ५०० मजदुरहरूमा उक्त परीक्षणको प्रस्ताव आएको उनले बताए। त्यसका लागि मजदुर इच्छुक रहे वा नरहेको बारे एउटा आवेदन फाराम भराएको भए पनि अझै थुप्रै काम गर्न बाँकी रहेको उनले बताए।

उनका अनुसार परिषद्‌ले इथिकल कमिटी बनाउन र परीक्षणको मापदण्ड बनाउनै बाँकी छ। उनले भने, “हामीले स्वास्थ्य मन्त्रालयबाट अनुमति त पाएका छौँ तर अझै मापदण्ड बनाउने छलफल जारी छ।” त्यस्तै रुसमा बनेको खोपको नेपालमा परीक्षण र उत्पादन दुवै कार्यका लागि उसले प्रस्ताव गरेको ज्ञवालीले बताए।

उनका अनुसार सुरुमा राष्ट्रिय सभाका अध्यक्षलाई उक्त प्रस्ताव गरिएको र त्यसपछि परराष्ट्र र स्वास्थ्य मन्त्रालय हुँदै परिषद्‌मा आइपुगेको हो। ज्ञवालीले भने, “प्रस्ताव आएपछि हामीले सोमवार रुसी राजदूतसँग छलफल गर्‍यौँ।

उहाँहरूको प्रस्तावमा परीक्षण मात्र होइन, उत्पादनको पनि कुरा छ।” “नेपालमा खोप उत्पादन गर्न सकिन्छ कि सकिन्न, त्यो सम्भाव्यता पनि हेर्नुपर्छ।” उनका अनुसार रुसले १,००० जनामा परीक्षणको प्रस्ताव गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *