काठमाडौंमा खुसुखुसु भुइँचालो जानुको कारण के?

जानकारि

काठमाडौंमा केही समययता भुइँचालोका साना धक्काहरू आइरहेका छन्। बुधबार दिउँसो पौने २ बजेतिर २.९ म्याग्निच्यूडको धक्का महशुस गरियो। यसको केन्द्रविन्दु कालिमाटी हो।

यसअघि साउन १९ र २० गते यस्तै साना कम्पन आएका थिए। साउन १९ गते राति पौने १२ बजे आसपास २.७ म्याग्निच्युडको भुइँचालो गएको थियो। त्यसको भोलिपल्ट साँझ साढे ४ बजे ३.५ म्याग्निच्यूडको कम्पन आयो।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यी सबै धक्का २०७२ को गोरखा भुइँचालोकै निरन्तरता हुन्।काठमाडौं क्षेत्र हल्लाउने गरी खुसुखुसु भुइँचालो जानुको कारण के? के काठमाडौं फेरि अर्को ठूलो भुइँचालो जान सक्ने जोखिममा छ?

यसबारे बेलायतको अक्सफोर्ड विश्वविद्यालयका भूगर्भ वैज्ञानिक जन इलियट र उनका सहकर्मीले करिब चार वर्षअघि तयार पारेको शोधपत्र सम्झनु सान्दर्भिक हुन्छ।अन्तर्राष्ट्रिय जर्नल ‘नेचर जियोसाइन्स’ मा छापिएको उनीहरूको लेखले वैशाख १२ को भुइँचालो तरंग कहाँ पुगेर अड्कियो भनी व्याख्या गरेको छ।

गोरखा र सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर गएका भुइँचालो तरंग काठमाडौंको दक्षिणी भू–सतहभन्दा ११ किलोमिटर तल अड्किएर बसेको उक्त जर्नलमा छ। त्यो चिरा सतहसम्म आइनपुग्नु र त्यसको शक्ति काठमाडौंमुनि थुप्रिनुले यो क्षेत्र अहिले पनि भुइँचालो जोखिममा छ भनी इलियटले उल्लेख गरेका छन्।त्यही भएर करिब १० हजार जनाको ज्यान लिएको गोरखा भुइँचालोलाई ‘अधकल्चो’ मानिन्छ।

भूगर्भविद्का अनुसार ठूलो धक्का आउँदा चुरे फेदमा जमिन चिरा परेर शक्ति निष्कासन हुनुपर्छ। २०७२ को भुइँचालो तरंग भने काठमाडौं हुँदै दोलखासम्म पुग्यो, तर चुरे फेदको जमिन चिरा पार्न सकेन।त्यो बेला जमिन चिरा परेको भए सम्भवतः गोरखा भुइँचालोको असर पूरै निख्रिन्थ्यो। हामीले यति लामो समय झट्का खाइरहनुपर्ने थिएन।खानी तथा भूगर्भ विभागका वैज्ञानिक यसको पुष्टि गर्छन्।

विभागले भुइँचालो गएको केही साताभित्रै नेपालका विभिन्न ठाउँमा राखिएका जिपिएस स्टेसनबाट तथ्यांक निकालेको थियो। जिपिएस आँकडाअनुसार भुइँचालो दरार काठमाडौंको दक्षिणी भू–सतहमुनि अड्किएको देखियो।

यसलाई सजिलो गरी बुझ्न कपडा उधारेको उदाहरण लिउँ।तपाईंले कपडाको थान च्यातेको देख्नुभएकै होला। कपडा उधार्दा सुरुमा अलिकति च्यातिन्छ, बाटो बनेपछि धर्रर उध्रिँदै जान्छ। कपडा उध्रिने शक्तिलाई भुइँचालो तरंग मान्ने हो भने त्यो शक्ति काठमाडौंमुनि आएर अड्कियो। यहाँबाट दक्षिण सर्न सकेन।

दक्षिण सरेर चुरे फेदसम्मै पुगेको भए अझै भयावह भुइँचालो जान सक्थ्यो। बीचमै अड्कियो, ठूलो जनधन क्षति टर्यो। भविष्यलाई खतराको घन्टी बनेर भने झुन्डिएकै छ। अहिले काठमाडौंमा महशुस गरिएको धक्का त्यही खतराको घन्टी हो।

जिपिएसबाट हेर्दा अहिले पनि त्यो शक्ति जस्ताको तस्तै छ। दक्षिण सरेको छैन। त्यो कहिले निष्कासन हुन्छ र भुइँचालोको झट्का कहिले बन्द हुन्छ यसै भन्न सकिन्न।यो शक्ति कसरी निष्कासन होला त भन्ने प्रश्नमा नेपाली भूगर्भ वैज्ञानिकले चार सम्भावना देखाउँदै आएका छन्।

पहिलो, अड्किएको चिरा विस्तारै फुक्दै जानेछ र सानो–सानो भुइँचालोबाट शक्ति ‘रिलिज’ हुनेछ। काठमाडौं र वरपर क्षेत्रमा केन्द्रविन्दु बनाएर जाने स–साना भुइँचालाले यहाँ गाँठो परेको चिरा उधार्दै चुरे फेदसम्म पुर्‍याइदिन सक्छ।

यसो भइदिए साना म्याग्निच्युडका भुइँचाला लामो समय गइरहनेछन्। पछिल्लो समय आइरहेका धक्का त्यसैको निरन्तरता हुनसक्छ। यही गतिमा शक्ति निख्रिन धेरै वर्ष लाग्न सक्छ, तर कम जोखिमपूर्ण हुन्छ।

दोस्रो, वैशाख १२ को जस्तै अर्को धक्का आएर गाँठो परेको चिरा एकैचोटि चुरे फेदमा पुर्‍याइदिनसक्छ। र, भएभरको शक्ति एकैचोटि ‘रिलिज’ हुनसक्छ।

जिपिएसबाट प्राप्त तथ्यांकअनुसार काठमाडौंमुनि अड्किएको चिरालाई चुरे फेदसम्म पुग्न लगभग ७ म्याग्निच्युडकै धक्काको खाँचो पर्छ। यसको अर्थ, त्यो बराबरको शक्ति भू–सतहमुनि जम्मा भएर बसेको छ भन्ने हो।

यति ठूलो शक्ति एकैचोटि बाहिर आउनु जोखिमपूर्ण हुनेछ। बेलायती वैज्ञानिक जन इलियटले आफ्नो शोधमा यही अवस्था खुलाउँदै काठमाडौंमा ‘अर्को ठूलो भुइँचालो जोखिम’ देखाएका हुन्।

उनले भनेजस्तो एकैचोटि ठूलो भुइँचालो जान्छ भन्ने ठोस आधार केही छैन। बरू नेपालको भुइँचालो इतिहासले यसरी जम्मा भएको शक्ति स–साना धक्काबाट लामो समय लगाएर ‘रिलिज’ हुने सम्भावना बढी देखाउने भूगर्भविद् बताउँछन्।

तेस्रो, काठमाडौंमुनि अड्किएको शक्ति न एकै धक्कामा घिटिक्क बाहिर आउनसक्छ न त लामो समय लगाएर विस्तारै फुक्दै जानेछ। बरू पिप भरिएको पिलोजस्तो ५०–६० किलोमिटर तलसम्म गुजुल्टिँदै बस्छ र केही समयपछि बाहिर आउँछ।

जमिनको निकै गहिराइसम्म गुजुल्टिएको शक्ति बाहिर आउँदा त्यसले ल्याउने कम्पनको मात्रा कम हुन्छ। २०४५ को भुइँचालो यसैगरी निकै तलबाट आएकाले कम क्षति भएको थियो।

चौथो, अन्य क्षेत्रमा ठूलो भुइँचालो जाँदा त्यही बेला यहाँ जम्मा भएको शक्ति स्वतः बाहिर निस्कन्छ र खतरा टर्छ।

उदाहरणका लागि, नेपालको पश्चिम क्षेत्रमा पाँच सय वर्षदेखि ८ म्याग्निच्युडभन्दा ठूलो भुइँचालो गएको छैन। त्यहाँ रन्किएर बसेको पिलो निचोरिँदो त्योसँगै काठमाडौंमुनि जम्मा भएको शक्ति बाहिर आउनसक्छ।

अब अर्को प्रश्न- पाँच वर्षपछिका धक्कालाई पनि २०७२ कै निरन्तरता वा ‘परकम्पन’ किन भनिएको होला?एकचोटि ठूलो भुइँचालो आएपछि त्यसपछिका सबैलाई परकम्पन भन्ने त? त्यसो हो भने १९९० सालपछि सबै भुइँचालोलाई परकम्पन किन नभन्ने?

नेपाल भुइँचालोको जोखिममा छ भन्ने हामी सबैलाई ज्ञात भइसक्यो। हामीले थाहा पाउने गरी वा नपाउने गरी खुसुखुसु भुइँचालो आइरहेकै हुन्छ। कति त केन्द्रको रेकर्डमा समेत रहँदैन।

२०७२ वैशाख १२ गते ७.६ म्याग्निच्युडको ठूलो धक्का आउनुअघि पनि यस क्षेत्रमा सामान्य झट्का आइरहन्थे। अहिलेका यी सानातिना झट्का जबसम्म २०७२ अघिको अवस्थामा फर्कंदैन, तबसम्म यसलाई परकम्पनकै रूपमा हेरिन्छ।केन्द्रका अनुसार वैशाख १२ को प्रभावक्षेत्र गोरखादेखि दोलखासम्म आइरहेका धक्का अहिले पनि सामान्यभन्दा लगभग चार गुना बढी छ।

यसले के देखाउँछ भने, भुइँचालोको संख्या र शक्ति घट्दै गए पनि धक्का जारी छ। काठमाडौंबाहिर त हल्काफुल्का धक्का लगातार आइरहेकै छन्, जुन हामीले यहाँ चाल नपाएका मात्र हौं। काठमाडौं नै हल्लाउने गरी परकम्पन आएपछि मात्र हामी चनाखो हुन्छौं।अहिलेको अवस्था हेर्दा परकम्पन आउने क्रम अझै १०–१५ वर्ष जारी रहने केन्द्रका अधिकारीहरूले बताउँदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *