अत्यन्त पिडादायी हुन्छ कोरोना मरण !

जानकारि

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएकाहरुलाई राखेको सी–१ ब्लकका एक पुरुष फटाफट सिँढी चढेर तीन तले बिल्डिङको छतमा पुगे । र, दक्षिणतर्फ रहेको आईसीयू कक्ष परिसरलाई नियाल्न थाले ।

सुरक्षाकर्मीको एउटा टोली आईसीयू कक्षमा मृत्यु भएका एक पुरुषको शव निकाल्ने तरखरमा थिए । त्यो दृश्य देख्दासाथ छतमा रहेका ४१ वर्षीय पुरुषका आँखाबाट बरर आँसु खस्न थाल्यो । उनी आँसु पुछिरहे र एकटलले आईसीयू कक्षतिर हेरिरहे । एकजना प्रत्यक्षदर्शी भन्छन्, ‘त्यो दृश्य निकै कारुणिक थियो ।’

आईसीयू कक्षबाट शवलाई ग्राउण्डमा निकालियो । शव ढाक्न प्रयोग भएको सबै कपडा निकायो, शव व्यवस्थापन टोलीले डिस्इन्फेक्सन गर्‍यो । बुबाको शवलाई शव व्यवस्थापन टोलीले शवबाहनमा राखेर अघि बढिरहेको दृश्य नियालिरहेँ । तर मैले केही गर्न सकिन । र, शवबाहनमा राखेर पशुपति आर्यघाटतिर लगे ।

छतमा रोइरहेका युवकले सबै हेरिरहे ।

मृतक काठमाडौं महानगरपालिका–२१ ओमबहाल घर भएका ६७ वर्षीय वृद्ध थिए भने छतमा रोइरहेका पुरुष उनका छोरा रहेछन् । भन्छन्, ‘अस्पताल परिसरमै भएर पनि म बुबाको नजिक जान पाइन ।’

अहिले पनि बलम्बुको आइसोलेनमा रहेका उनको संक्रमित भएर अस्पताल आएदेखि बुबालाई गुमाउनु परेको घटनासम्म यसरी बेलिबिस्तार लगाए :

म एउटा एडभरटाइजिङ एजेन्सीको सञ्चालक हुँ । ६७ वर्षका मेरो बुबा मुटुको रोगी हुनुहुन्थ्यो । उहाँले नियमित औषधि सेवन गरिरहनुभएको थियो । नेपाली काँग्रेसको तर्फबाट काठमाडौं महानगरपालिका वडा नम्बर २१ को इकाइ सभापति पनि भएकाले लकडाउन खुलेपछि राजनीतिक गतिविधिमा बढी सक्रिय हुनुभयो । तर घरबाहिर जानुभएको थिएन ।

काँग्रेसको क्रियाशील सदस्यता वितरण तथा नवीकरणको काम चलिरहेकाले उहाँलाई भेट्न वडाका नेता तथा कार्यकर्ता घरमै आउनुहुन्थ्यो । उहाँलाई सहज होस् भनेर घरको तल्लो तलामा व्यवस्थापन गरेका थियौं । उहाँले सुरक्षाका मापदण्ड अपनाएर क्रियाशील सदस्यता फारम वितरण गर्ने र संकलन गर्ने काम गरिरहनुभएको थियो । त्यसबीचमा दुई चार पटक उहाँ बैंकमा पनि जानुभएको थियो ।

त्यसको केही दिनपछि बुबालाई ज्वरो आउने, श्वासप्रश्वासमा समस्या देखिन थाल्यो । कोभिडको जस्तै लक्षण देखिएपछि घरमै आइसोलेट गर्‍यौं । त्यसको दुई दिनपछि मलाई पनि ज्वरो आउन थाल्यो । म पनि अर्को रुममा सिफ्ट भएँ । तर बुबा र मैलै बाथरुम सेयर गर्थ्यौं । साउन २७ गते बाबु र छोराले स्टार अस्पतालमा गएर स्वाब दियौं ।

मेरो रिपोर्ट त्यही दिन साँझ पोजेटिभ आयो । भोलिपल्ट बुबाको पोजेटिभ आयो । त्यसपछि परिवारका अन्य सदस्यको पनि परीक्षण गर्दा बहिनीमा पनि संक्रमण पुष्टि भयो ।

बहिनी होम आइसोलेसनमा छिन् । बुबा र म भने साउन ३१ गते एपीएफको बलम्बु हस्पिटलमा आयौं । अस्पताल आउँदा बुबालाई श्वास प्रश्वासमा सामान्य समस्या थियो । हामीलाई अस्पतालको सी–२ ब्लकमा राखियो । तर बुबालाई राखेको बेडमा अक्सिजन दिने व्यवस्था नभएका कारण सी–१ ब्लकमा सिफ्ट भयौं । हामीलाई एउटै कोठाको फरकफरक बेडमा राखियो । बुबालाई अक्सिजन दिइयो । तर उहाँको शरीरमा अक्सिजनको लेबल घटबढ भइरह्यो ।

उहाँलाई भदौ २ गते आईसीयूमा सारियो । आईसीयूमा दुई दिन राख्दा पनि सुधार नभएपछि चिकित्सकहरुले प्लाज्मा थेरापीका लागि प्लाज्मा र रेमडिसिभर औषधि व्यवस्थापन गर्न आग्रह गर्नुभयो । मैले त्यसअनुसार तयारी पनि गरें । बुबालाई भेन्टिलेटरमा सारियो र त्यसको भोलिपल्ट साँझ प्लाज्मा थेरापीका लागि प्लाज्मा र रेमडिसिभर दिइयो ।

बुबाको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरुले बेलाबला जानकारी दिनुहुन्थ्यो । तर मंगलबार मध्यान्ह साढे १२ बजेतिर अचानक उहाँको निधन भएको खबर पाएँ । आफू पनि कोरोनासँग लडिरहेको बेलामा बुबालाई बचाउन धेरै प्रयास गरेँ, तर पनि सकिन ।

बुबाको मृत्यु भएको खबर पाएपछि छतमा आएँ । दिउँसो करिब ३ देखि ४ बजेको थियो होला । नेपाली सेनाको शव व्यवस्थापन टोलीले बुबाको शवलाई बाहिर निकाल्यो । डिस्इन्फेक्सन गर्न सबै कपडा हटाइयो । शवलाई शववाहनमा राखे र पशुपति आर्यघाटतिर लगे । अस्पताल परिसरमै भए पनि बुबाको शवनजिक जान पाइन । महामारीमा मृत्युवरण गर्ने हरेक व्यक्तिको मरण यस्तै हुने रहेछ र परिवारले भोग्ने नियती पनि यस्तै हो भनेर मुटु दरिलो बनाएँ ।

नेपालमा कोरोना संक्रमणको महामारी नहुँदै अफिसियल कामले वीरगञ्ज गएको थिएँ । जुनबेला नेपालमा लकडाउन समेत भएको थिएन । तर केही मिडियाहरुले वीरगञ्जबाट आएका छोराबाट संक्रमण सरेको अफवाह फैलाएकोमा अचम्मित र दुःखी बनेको छु । मिडियाहरुले पनि सत्यतथ्य बुझेर समाचार सम्प्रेषन गरेको भए हुने थियो तर खै किन त्यसो गरे ? बुझ्न सकेको छैन ।

उनी अहिले बलम्बु अस्पतालको आइसोलेनमा छन् । बुबा गुमाउनुको पीडा बोकेर कोरोनासँग लड्नुको पीडा सहेर बसेका छन् । उनी भन्छन्– बुबालाई बचाउन हरसम्भव प्रयास गरेँ, तर सकिन । जे नहुनु थियो भयो भनेर मन बुझाएको छु, आत्मबल बलियो पारेर बसेको छु । कोरोनालाई जितेरै फर्कन्छु भन्नेमा ढुक्क छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *