बंगलादेशबाट रेमडेसिभिर सहयोग !

समाचार

काठमाडौँ — कोरोना संक्रमितको उपचारमा प्रयोग हुने औषधि रेमडेसिभिर बंगलादेशले नेपाललाई सहयोग गर्ने भएको छ । बंगलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रले नेपाल पठाउन पाँच हजार भाइल रेमडेसिभिर जुटिसकेको जानकारी दिए ।

‘औषधि सहयोग चाहियो भनेर परराष्ट्र मन्त्रालयमार्फत स्वास्थ्य मन्त्रालयको चिठी आएको थियो । औषधिको व्यवस्थापन भइसक्यो, हवाई उडान छैन, गाडीबाट नै बिहीबार विराटनगर पुग्छ,’ डा. मिश्रले कान्तिपुरलाई टेलिफोनमा भने । औषधि व्यवस्था विभागले यति फर्मा, सिनर्जी र भियोभिस लाइफ साइन्सेस औषधि आयातकर्तालाई भारतबाट औषधि ल्याउने अनुमति साउन ३१ गते दिए पनि उनीहरूले पूर्ण मात्रामा ल्याउन सकेका छैनन् । विभाग र आयातकर्ताबीच भएको सम्झौताअनुसार दुई हजार भाइलका दरले तीन कम्पनीबाट ६ हजार भाइल औषधि ल्याउनुपर्ने थियो । आयातकर्ताले ७२ घण्टाभित्र ल्याउने भनेका थिए ।

संक्रमितको उपचार गर्ने अस्पतालले औषधि मागिरहेका छन् तर माग पूरा भएको छैन । विभागका प्रवक्ता सन्तोष केसीका अनुसार यतिले भारतको सिप्ला कम्पनीबाट ल्याउने भनेको रेमडेसिभिर ल्याएकै छैन । ‘दुई हजार भाइल औषधि ल्याउने भनेको भियोभिसले २ सय मात्रै ल्याएको छ भने माइलनबाट ल्याउने भनिएकामा पाँच सय २८ भाइल आएको छ,’ उनले भने, ‘के कारणले हो थाहा भएन ।’ ल्याएका औषधि भने कोभिड अस्पतालमा पठाइसकिएको उनले बताए ।

औषधि आयातका लागि कानुनी रूपमा सहज हुँदा पनि विभागले बंगलादेशबाट ल्याउन चाहने आयातकर्तालाई पन्छाएर भारतबाट औषधि ल्याउन अनुमति दिएको थियो । अहिले भारतबाट ल्याउने भनिएको रेमडेसिभिर त्यहाँ निर्यात गर्न प्रतिबन्ध लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *