अर्ब–अर्ब छोडेर ओली प्रचण्डले कुलमान लाई अवसर देलान जस्तो लाग्दैन : प्रा.डा. सुरेन्द्र केसी

समाचार

काठमाडौं नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकको कुर्सीका लागि अर्ब–अर्बको खेल हुन्छ । अर्बौ घाटा भएको प्राधिकरणलाई कुलमानले अहिले वार्षिक ११ अर्ब नाफामा पुर्याए । यो भएपछि अब प्रबन्ध निर्देशकको कुर्सीको मूल्य पनि स्वभाविकै रुपमा बढ्ने नै भयो । जुन कुर्सीका लागि बिचौलियाहरुले अर्ब –अर्ब लगानी गर्न तयार हुन्छन् भने कुलमान घिसिङलाई त्यो कुर्सी सित्तैमा दिन प्रचण्ड तयार होलान् ? अर्ब–अर्ब रुपैयाँ प्रचण्डले छाडेर कुलमानलाई प्राधिकरणमा फेरि बिराजमान गराउँछन् भन्ने लागेको छैन ।

तर अहिले जनदबाब यसरी बढ्यो कि कुलमानलाई नराख्दा झन ठूलो ड्यामेज हुने विश्लेषण पनि भइरहेको होला । कुलमानलाई कतैको राजदूत वा अन्य निकायको नियुक्ति दिएर पन्छाउन पनि सक्छन् ।

नेपालमा पद पाउन झोलाभरी पैशा हुनुपर्छ । पैशा नहुनेले मन्त्रीलाई सम्धी बनाउन सक्नु पर्छ । सम्धी पनि बनाउन नसक्नेले दलको झोले भएर हिँड्न सक्नु पर्छ । यस्ता काम गर्न नसक्नेहरु जति सुकै काबिल होउन् उनीहरुले कुनै अवसर पाउँदैनन् ।

ईश्वर पोख्रेलका सम्धीलाई राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्ति दिलाएको कुरा अनौठो पनि लाग्दैन मलाई छ । किनभने नेपालका कम्युनिष्ट भनेका यस्तै नै हुन् । पञ्चायतकालमा ईश्वर पोख्रेल नेकपा मालेका कार्यकर्ता थिए । उनी बडो अनुशासित र प्रतिभाशाली नवजवान थिए । नेकपा मालेका कार्यकर्ताहरु अरु भन्दा अनुशासित, देश र समाजप्रति जवाफदेही मानिन्थे । समाजको विश्लेषण गर्न पनि उनीहरु पारंगत देखिन्थे ।

तर जब ४६ सालको आन्दोलनपछि यिनीहरुले पद र सत्ताको स्वाद चाख्न थाले यिनीहरुको त्यो नीति, निष्ठा र अनुशासन समाप्त हुँदै गयो ।

अहिले गणतन्त्रका नाममा जुन तमासा भइरहेको छ, यति साह्रो त राजाको शासनकालमा पनि हुँदैन थियो । इतिहासदेखि सम्झिल्याउँदा, विगतमा पनि आफ्ना अरौटेभरौटेहरुले अवसर नपाउने होइनन् पाउँथे । तर पञ्चायतकै कुरा गर्दा त्यो बेला राजाहरुले पनि आफ्ना निकटलाई नै महत्वपूर्ण ठाउँमा पठाउँथे । तर त्यो बेला दरबारले ‘डिजर्भिङ’ लाई नै पठाउने गथ्र्यो ।

दरबारसँग निकट भएका यदुनाथ खनाल, प्रकाश एराज, भेषबहादुर थापा, हर्क गुरुङलगायत धेरै विद्वानहरुले अवसर पाए । यिनीहरु राजभक्त नै थिए, तर उनीहरु राजैसँग पनि बहस गर्न तयार हुन्थे । एक पटक त के सम्म भयो भने परराष्ट्रको सचिव यदुनाथ खनाल थिए, राजा वीरेन्द्रले प्रकाश एराजलाई अफिसरमा नियुक्ति दिनू भन्ने हुकुम दिए ।

इञ्जिनियरिङ गरेका प्रकाशलले परीक्षा पास नै गरेका थिए । परराष्ट्रमा उनी जान चाहन्थे । तर ‘परराष्ट्र जस्तो विशेष सेवामा ल्याउन मिल्दैन सरकार’ भनेर यदुनाथले अस्वीकार गरिदिए ।

अर्थात पहिले पनि भक्तहरुले अवसर पाउँथे । तर उनीहरु योग्य हुन आवश्यक हुन्थ्यो । अहिले त म्यानपावरको दलाललाई राजदूत, विदेशी कम्पनीको दलाललाई लगानी बोर्डको सिइयो, नेताकी पत्नीलाई राष्ट्रपति, छोरीलाई मेयर, बुहारीलाई मन्त्री बनाइएको आफ्नै आँखाले देखियो त ।

कम्युनिष्ट हौं भनेर, जबजको कुरा गरेर ईश्वर पोख्रेलहरुले अहिले जे गरिरहेका छन्, यो कम्युनिष्टको संस्कार भित्र पर्दैन । यति निर्लज्ज हर्कत त पहिले पहिले निरंकुश भनिएका व्यवस्थामा पनि हुँदैन थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *