भर्खरै प्राप्त समाचार – पाल्पामा संक्रमित ३० वर्षीया महिलाको मृत्यु

कोरोना अप्डेट

पाल्पा—जिल्लाको लुम्बिनी मेडिकल कलेजमा उपचाररत ३० वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार निधन भएको छ । तानसेन नगरपालिका–८ मदनपोखरा पिपलडाँडाकी उनको गत भदौ ७ गते कोरोना पोजिटिभ देखिएको थियो ।

अस्पतालमा उपचार गर्न ल्याउँदा नै श्वास फेर्न समस्या थियो।लुम्बिनी मेडिकल कलेजका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेलले भने, ‘भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । शुक्रबार अपराह्न निधन भएको हो ।’कलेजको आइसोलेसनमा राखेर उनलाई उपचार गराइएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ती महिलामा लामो समयदेखि मुटु रोगको समस्या थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि कलेजमा उपचार गर्न आएको र मुटुको उपचारका क्रममा शंका लागेर स्वाब लिएर पठाइएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

महिलाकाे निधन भएपछि शव व्यवस्थापनका लागि जिल्ला संकट व्यवस्थापन समिति,स्वास्थ्य कार्यालय,नेपाली सेनालाई खबर गरेको कलेजले जनाएको छ । शव व्यवस्थापनका विषयमा छलफल भइरहेको र शनिबार बिहान मात्रै गर्न सकिने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए ।

पाल्पामा यसअघि कोरोना संक्रमणका कारण पूर्वखोला गाउँपालिका–१, सिलुवाका ४५ वर्षीय पुरुषको निधन भएको थियो । जिल्लामा कुल ५ सय ७३ जना कोरोना भाइरस संक्रमण भएपनि सक्रिय संक्रमित भने १० जना मात्रै रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *