ब्रोइलर कुखुराको मासु गुन्द्रुकभन्दा सस्तो

जानकारि

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाका कारण बोइलर कुखुराको मासु गुन्द्रुक भन्दा सस्तो भएको छ ।

काठमाडौं उपत्यकामा ब्रोइलर कुखुराको तयारी मासु बिहीबारसम्म प्रतिकिलो २ सय ५५ रुपैयाँमा बिक्री भएको छ जबकी गुन्द्रुकको औसत प्रतिकिलो मूल्य कालिमाटीमा २ सय ९५ रुपैयाँ तोकिएको छ । राजधानीका कुनै कुनै स्थान बोइलर कुखुराको तयारी मासु प्रतिकिलो २ सय ४० मा पनि विक्रि वितरण भैरहेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजारमा राखिएको मुल्यसूचीमा गुन्द्रुकको मुल्य (रातो घेराभित्र) ।
लामो समयदेखि लकडाउन भएको कारणले गर्दा मानिसहरुको आम्दानी स्रोत घुम्चिन गएपछि बजारमा मासु खपत कम हुन थालेको कुखुरा व्यवसायीहरुले बताएका छन् ।

मासुको मुल्य गुन्द्रुक भन्दा सस्तो भएपछि यसको मारमा कुखुरापालक किसान परेका छन् । लकडाउनले गर्दा बजारमा दानाको अभाव भएको छ भने बजारमा माग नहुँदा कुखुरा बेच्न पाइएको छैन । बेच्दा पनि घाटा लाग्ने अवस्था आएको ललितपुरको गोकर्णेश्वर नगरपालिकामा कुखुरा फार्म संचालन गरिरहेका ताप्लेजुङ्गका रमेश लिम्बूले बताए ।

सामान्य अवस्थामा काठमाडौं उपत्यकामा दैनिक साढे दुईदेखि तीन लाख किलो मासुको माग हुने गरेको संघले जनाएको छ । तर, लामो समय लकडाउनको कारण उक्त खपत आधा कममा झरेको नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसी बताउँछन् ।

तराइका जिल्लामा ब्रोइलर उत्पादन बढेको र ती कुखुरा काठमाडौं भित्रिने क्रम बढ्दा पनि काठमाडौंमा मूल्य ओरोलो लागेको व्यवसायीहरुले जनाएका छन् । काठमाडौं बाहिरका जिल्लामा कुखुराको मासु झनै सस्तो भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *