लोकसेवाले समेत विश्वास गुमाउँदै : सहसचिवको नतिजामा समेत यस्तो सेटिङको खुलासापछि नतिजा रद्द।

समाचार

काठमाडौ । नेपालमा विश्वासको अर्को नाम थियो लोकसेवा आयोग । जसले अहिलेसम्म विश्वास गिराएको थिएन । तर पछिल्लो समय केही यस्ता कुरा बाहिरिरहेका छन् जसले यो गरिमामय संस्थामाथीको विश्वास चुक्दै आएको छ ।

प्राविधिकतर्फको सहसचिव पदका लागि लिएको परीक्षाको नतिजामा समेत‘सेटिङ’भएको शंका लागेपछि नतिजा आइसकेको लिखित परीक्षाको सम्पूर्ण प्रक्रिया रद्द गरेको छ ।लिखितको परिणाम आएको झन्डै ५० दिनपछि आयोगले नतिजा र परीक्षाको प्रक्रिया रद्द गरेको हो । अन्तर्वार्ता यसअघि नै स्थगित गरिएको थियो ।

आयोगले बिहीबार विज्ञापन नं.१७१६७–०७६–७७ वाट विविध सेवा,राजपत्रांकित प्रथम श्रेणी,सूचना प्रविधि विज्ञ पदको पदपूर्तिका लागि लिइएको लिखित परीक्षाको नजिता प्रकाशनसम्मका सम्पूर्ण प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो । आयोगले उक्त पदका लागि पुनः लिखित परीक्षा लिने जनाएको छ । तर,यसअघि दरखास्त स्वीकृत भएका व्यक्तिहरू मात्रै परीक्षामा सम्मिलित हुन पाउनेछन् ।

राजपत्रांकित प्रथम श्रेणी सूचना प्रविधिविज्ञको रिक्त एक पदका लागि आयोगले गत पुसको १५ र १६ गते लिखित परीक्षा लिएको थियो । त्यसको नतिजा असार ११ गते आएको हो । लिखितमा तीन जना उत्तीर्ण भएका थिए । उनीहरूको अन्तर्वार्ता असार ३१ गते तोकिएको थियो ।

आयोग स्रोतका अनुसार अन्तर्वार्ताभन्दा आधा घण्टा अगाडि आयोग अध्यक्ष उमेश मैनालीलाई लिखित परीक्षाको परिणाममा परीक्षार्थी र कापी जाँच्ने विज्ञबीच‘सेटिङ’भएर परिणाम आएको सूचना आएको थियो ।सहसचिव पदको अन्तर्वार्ता अध्यक्ष नेतृत्वकै टोलीले लिने हो । अध्यक्ष, आयोगका अन्य पदाधिकारी र एकजना विज्ञ सम्मिलित अन्तर्वार्ता टोली अन्तर्वार्ता लिन तयार रहेका बेला आएको सूचनाका आधारमा तत्कालै अन्तर्वार्ता स्थगित गरिएको थियो ।

उक्त सूचनामा विश्वास गर्न सकिने केही आधार भेटिएपछि थप छानविन तथा परीक्षाको मर्यादा उच्च राख्न तत्कालै अन्तर्वार्ता स्थगित गरिएको आयोग उच्च स्रोतले बतायो ।सहसचिवको परीक्षाको कापी जाँच्न आयोगले अवकाश प्राप्त सचिवहरूलाई जिम्मा लगाउँदै आएको छ । आईटी क्षेत्रका अवकाश प्राप्त सचिव सीमित व्यक्ति मात्रै छन् ।

स्रोतले भन्यो,‘सीमित विज्ञ भएकाले त्यसको सम्पर्कमा परीक्षार्थी पुगेको र त्यहाँ ‘सेटिङ’ भएको केही आधार भेटिएको छ । ठ्याक्कै प्रमाण नभेटिएकाले कसैलाई कारबाहीको दायरामा आयोगले ल्याउन सकेको छैन ।’आयोग पदाधिकारीहरूले यस विषयमा औपचारिक रूपमा केही बोल्न चाहेका छैनन् ।विज्ञ र परीक्षार्थीबीच व्यक्तिगत सम्बन्ध रहेको आशंका पनि आयोगलाई छ ।

कहाँ कोबाट बदमासी भएको हो,त्यसको खोजी कार्य आयोगले गरिरहेको स्रोतको भनाइ छ । केही अगाडि आयोगमै कार्यरत एक जना अधिकृतले लोक सेवाको परीक्षामा आफ्नै छोरीलाई उत्तीर्ण गराउन भूमिका खेलेको विषय बाहिरिएको थियो । आयोगले उक्त परीक्षा रद्द गरी बाबुछोरीलाई नै कारबाही गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *