पर्यटनमन्त्रीकै संरक्षणमा नियमित उडानमा चर्को भाडादर असुली।

समाचार

काठमाडौं । भदौ ९ गते पर्यटन मन्त्रालयले आगामी भदौ १७ देखि तय भएको नियमित उडानको तालिका सार्वजनिक गर्यो । मन्त्रालयले भदौ १७ देखि असोज १४ गतेसम्मको नियमित हवाई उडान तालिका सार्वजनिक गरेको हो । सो अघि कोरोना संक्रमणका कारण सरकारले उद्धार उडान गर्दै आएकोमा अहिले नियमित उडानको निर्णय गरेसँगै मन्त्रालयले तालिका सार्वजनिक गरेको हो । तर, उडान नियमित भएपनि उद्धार उडानको भन्दा चर्को भाडा असुलिन लागिएको भन्दै विरोध सुरु भएको छ ।

युएईमा बसेर पत्रकारिता गर्दै आएका मेघराज सापकोटा लेख्छन्, ‘नियमित उडान खोल्न जरुरी छ भनेर हामीले भन्यौं । हामीलाई लाग्थ्यो कि कमर्सियल उड़ान खुले पछि धेरै उडान होलान्, हवाई भाडा पहिलेको जस्तै सस्तो याने कि ६०० दिराममा पाईएला । हाम्रो मागले त सरकार र दलालहरुलाई दशैं पो आएछ ।’

उनी अगाडि लेख्छन्, ‘चार्टर फ्लाईटको दर १३–१४०० दिर्हामको बदलामा नियमित उडानमा २५–२६०० दिराम बनाउन भ्याएछन् । त्यही पनि सेप्टेम्बर महिना भरीमा १८ वटा फ्लाईट रे ! नेपाल फर्कन महिनौं देखि अलपत्र परेका ३० हजार कामदारलाई १८ वटा हवाई जहाज त्यो पनि चार्टर भन्दा दोब्बर रु यी दलालहरुले हामीलाई त झन पंगु बनाइदिए । सरकारले जनतालाई ढाँट्यो । जागिर गुमाएर खल्तिमा सुक्को नहुनेहरु र महिनौ देखि अलपत्र पर्नेहरुको खल्तिमा भ्याकुम लगाएर चुस्ने धृष्टता गर्यो । अन्तत आफैं पंगु हुने काम गर्यो । हद गर्यो !’

पर्यटन मन्त्रीले सरकारले निःशुल्क उद्धार गर्छ भनेर उद्घोष गर्ने गरेपनि युएईबाट यो ६ महिनामा १ जना कामदार पनि निःशुल्क उडेको उनले बताए ।

सापकोटाले भनेजस्तै सरकारले विदेशमा कार्यरत श्रमिकले नियमित उडान भएपनि सुविधा र सस्तो टिकटमा नेपाल फर्किन पाइने सोचेपनि त्यसको ठीक विपरित भएको छ । त्यसमाथि यस्तो गलत निर्णयमा पर्यटन मन्त्री योगेश भट्टराईले नै संरक्षण गरेको छन् ।

पर्यटन मन्त्रालय आफैँ पनि चार्टर उडानभन्दा पनि नियमित उडानको भाडादर महँगो हुन गएको स्वीकार गर्छ । पर्यटन मन्त्रालयका सहप्रवक्ता राजन पौडेलले मन्त्रालयले भाडा बढाएको नभइ सीमित मान्छे मात्रै नेपाल आउन सकेको भएकोले एयरलाइन्स कम्पनीहरुले अधिकतम भाडादर चार्ज गर्न थालेको मात्रै बताए । त्यसकै कारण यो चार्टर उडानभन्दा पनि महँगो हुन गएको उनको भनाइ छ ।

पर्यटनमन्त्री योगेश भट्टराई भने यसमा मौन छन् । पर्यटन मन्त्रालयको वार्षिक प्रगति विवरण सार्वजनिक गर्न र सेप्टेम्बरदेखि हुन लागेको उडानबारे सार्वजनिक गर्न आयोजना गरिएको भर्चुअल बैठकमा भट्टराईले पत्रकारको यो प्रश्नको कुनै उत्तर नदिई त्यतिकै टारे ।

सेप्टेम्बर महिनाभरका लागि सरकारले ६० वटा नियमित उडान र २७ वटा चार्टर उडान समेत गरी कुल ८७ वटा उडानको तालिका सार्वजनिक गरेको हो ।

तालिका कस्तो छ ?

मन्त्रालयले सार्वजनिक तालिका अनुसार नेपाली ध्वजाबहाक नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सका अतिरिक्त १० वटा विदेशी वायुसेवा कम्पनीहरुले नेपालको लागि सो संख्यामा उडान भर्नेछन् । ती एयरलाइन्स कम्पनीमा टर्किस एयरलाइन्स, क्याथी ड्रागन, कोरियन एयर, चाइना साउथन एयर, एयर अरेयिबा, कतार एयरवेज, फ्लाई दुबई, मलेसियन एयरलाइन्स, जजिरा एयर र सलाम एयर छन् । त्यसमध्ये जजिरा र सलामले चार्टर फ्लाइट मात्रै गर्नेछ ।

नेपाल एयरलाइन्स र हिमालयले दुवै प्रकारको उडान भर्नेछ भने बाँकीले नियमित उडान मात्रै गर्नेछन् ।

कुल ८७ उडानमध्ये सबैभन्दा बढी उडान नेपाल एयरलाइन्सले भर्नेछ । नेपाल एयरलाइन्सले कुल २९ वटा उडान भर्नेछ । जसमध्ये १७ वटा नियमित उडान र ११ चार्टर उडान हुनेछन् ।

त्यस्तै हिमालय एयरले १२ वटा नियमित र १० वटा चार्टर समेत गरी २२ वटा उडान भर्नेछ ।

विदेशी एयरलाइन्समध्ये काठमाडौं आउने जहाजमध्ये नियमित उडानतर्फ मालिन्दोले क्वालालम्पुरबाट २ उडान टर्किस एयरलाइन्सले स्तानबुलबाट ४ वटा, क्याथी ड्रागनले हङकङबाट २ वटा, कोरियन एयरले सिउलबाट ४ उडान, चाइना साउथनले ग्वाञ्जाओबाट ४ उडान, कतार एयरवेजले दोहाबाट ४ उडान, फ्लाइ दुबईले दुबईबाट ३ उडान, मलेसियन एयरलाइन्सले मलेसियाबाट २ उडान र एयर चाइनाले छेन्दुबाट २ उडान भर्नेछ । त्यस्तै, चार्टर उडानतर्फ एयर अरेबियाले शारजाहबाट ३ उडान र सलाम एयरले ओमनबाट २ उडान गर्ने जनाइएको छ ।

तथ्यांकअनुसार युएईमा ४६ हजार कतारबाट २० हजार साउदी २० हजार कुबेतबाट १० हजार मलेशियाबाट २० हजार गरेर एक लाख २० हजार भन्दा बढी नेपालीहरु नेपाल फर्कने तयारी अवस्थामा छन् ।

ती मध्ये ४० हजार नेपालीहरु नेपाल फर्किए । खाडी र मलेशिया गरेर ८० हजार भन्दा बढी नेपाल फर्कन पाउने दिन कुरेर बसेका छन् ।सबै भन्दा बढी युएईमा मात्र ३० हजार बढी नेपालीहरु प्लेन नपाएर छटपटिएर बसेका छन् । तर सरकारले चर्को भाडा असुल्न दिएपछि श्रमिकहरु आक्रोशित भएका छन् ।
लोकपथडट कम बाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *