भारतमा कोरोनाले माहामारीको रूप लिन थालेपछि नेपाली फर्कने क्रम एकाएक शुरु,क्वारेन्टाइनमा नबस्दा त्रास

समाचार

डोटी, ३ वैशाख- भारतमा कोरोना भाइरसको त्रासपछि काम गर्ने क्षेत्र बन्द भएपछि जिल्लाका सयौँ नागरिक आ–आफ्ना गाउँ फर्किएका छन् तर ती सबै क्वारेन्टाइनमा बसेका छैनन् । क्वारेन्टाइनमा बसेकाहरुलाई अहिलेसम्म कोरोना भाइरससँग मिल्दोजुल्दो कुनै पनि लक्षण नदेखिए पनि गाउँले भने त्रसित भएको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीय खेमबहादुर विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “क्वारेन्टाइनमा बसेकामा समस्या देखिएन, कतिपय क्वारेन्टाइनमा नबसेका पनि छन् उनीहरुको अवस्था के छ अहिलेसम्म नबुझ्दा त्रास बढेको छ ।

पछिल्लो समय कैलाली र कञ्चनपुरमा पाँचजना सङ्क्रमणका बिरामी फेला परेपछि अहिले यहाँका पहाडी जिल्लामा त्रास बढेको स्थानीयवासी बताउँछन् । दिपायल, राजपुर, पिपल्ला, सिलगढीलगायतका बजारमा भने मान्छेको चहलपहल तथा आवतजावत बन्द भएसँगै सुनसान छ । गाउँभन्दा शहरमा स्थानीय प्रहरी प्रशासनले कडाइ गरेपछि गाउँभन्दा बजार सुनसान भएको हो ।

गाउँघरमा मानिसको बढी चहलपहल र आवतजावत बढ्न थालेका कारण गाउँबाट कोरोनालगायतका रोगको सङ्क्रमण फैलिनसक्ने भन्दै स्थानीयवासीमा त्रास फैलिन थालेको कतिपयको बुझाइ छ । स्थानीय तहका क्वारेन्टाइनमा राखिएकाहरुमा कोरोनाको कुनै लक्षण नदेखिए पनि भारतबाट लकडाउन हुनुभन्दा पहिले आएका कतिपय गाउँघरमा खुलारूपमा हिँडडुल गरिरहेका कारण स्थानीयवासीमा त्रास फैलिएको हो ।

भारतबाट आएका तर क्वारेन्टाइनमा नबसेर गाउँमै लुकेर बसेकालाई यहाँको स्थानीय प्रशासनले क्वारेन्टाइनमा बस्न पटक–पटक आग्रह गर्दै पत्राचार गरिरहे पनि उनीहरुले त्यसको वास्ता नगरेको बोगटान फुड्सिल गाउँपालिकाका स्थानीय खड्क बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “लकडाउनु हुनुभन्दा पहिले आएका कतिपय स्थानीयवासी गाउँघरमै खुलारुपमा हिँडिरहेका छन्, उनीहरुमा कोरोना सङ्क्रमण भएको खण्डमा जिल्लामा समस्या देखिन सक्छ, क्वारेन्टाइन बस्भन्दा मान्दैनन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *