युरिया मलको संकट टार्न प्रधानमन्त्री नै अघि सरे, बंगलादेशसँग पैँचो मागे

समाचार

काठमाडौ । बालीनालीमा हाल्नका लागि नेपालमा युरिया मल अभाव भएपछि त्यसलाई टार्नपनि प्रधानमन्त्री केपी शर्मा ओली नै आफै अघि सरेका छन् । प्रधानमन्त्री ओलीले आज बंगलादेशका समकक्षीसँग टेलिफोन संवाद गरी मल ल्याउने प्रक्रियाको विषयमा छलफल गरेको बुझिएको छ ।

प्रधानमन्त्री ओलीले बंगलादेशी समकक्षी (प्रधानमन्त्री) शेख हसिना वाजेदसँग आज दिउसो टेलिफोन संवाद गर्दै रासायनिक मल आपुर्तिको बिषयमा कुराकानी गरेका थिए । संवादपछि प्रधानमन्त्री ओलीले नेपालमा युरिया मल आपूर्ति गर्न बंगलादेशी प्रधानमन्त्री शेख हसिना सकरात्मक रहेको जानकारी दिए ।

‘आज दिउँसो बंगलादेशी प्रधानमन्त्री शेख हसिनासँग नेपाल–बंगलादेश सम्बन्धका अनेकौँ पक्षबारे मैले फलदायी टेलिफोन संवाद गरें,’ प्रधानमन्त्री ओलीले संवादलगत्तै ट्विट गरे, ‘यो बालीको सिजनमा तत्काल युरिया आपूर्ति गर्ने मेरो आग्रहलाई उहाँले सकारात्मक रुपमा लिनुभएको छ ।’ प्रधानमन्त्री ओलीले बंगलादेसी समकक्षीसँग द्धिपक्षीय हितको बिषयमा समेत कुराकानी भएको जानकारी दिएका छन् ।

‘हामीले दुई देशबीचको व्यापार, उर्जा र एक अर्का बीचमा पारवहनमा सहयोग बढाउनुपर्ने आवश्यकतालाई जोड दियौँ,’ प्रधानमन्त्री ओलीले भनेका छन् । नेपालमा बाली नालीमा मल हाल्ने बेलैमा अभाव हुँदा सरकारको आलोचना भइरहेको छ । नेपालले बंगलादेशसँग ५० हजार टन युरिया मल सापटी (पैँचो) माग्न लागेको छ । युरिया मल बंगलादेशबाट नेपाल ल्याउनका लागि परराष्ट्रमन्त्रालयले एक साताअघिबाटै कूटनीतिक पहल थालेको थियो ।

यस्तै कृषि मन्त्री घनश्याम भुसालले पनि बंगलादेशस्थित नेपाली दूतावासको समन्वयमा बंगलादेशको सरकारी संस्थान मल विभागका प्रतिनिधिसँग छलफल गरेका छन् । उक्त छलफलमा बंगलादेशबाट नेपालमा तत्कालै मल ल्याउन संभावना र त्यहाँका प्रतिनिधि सकरात्मक भएपछि प्रधानमन्त्रीस्तरमा छलफल भएको हो । नेपाललाई आवश्यक रहेको युरिया मल पैँचो दिन बंगालादेश पनि सकारात्मक देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *