काँग्रेसको महाधिवेशन : महिला सहभागिता धेरै, नेतृत्व थोरै !

समाचार

हरेक राजनीतिक परिवर्तनको नेतृत्व गर्दै देशको निर्णायक शक्तिको रूपमा स्थापित सबैभन्दा पुरानो पार्टी नेपाली काँग्रेस आज १४औँ महाधिवेशनको सँघारमा उभिएको छ । कोरोनाको कहरभित्रको जटिल परिवेश एवं प्रतिपक्षमा रहेको बेला हुन लागेको काँग्रेसको महाधिवेशनले पार्टीको आन्तरिक जीवनमा पुनर्ताजगी गराउँदै आमकार्यकर्तामा उत्साहको सन्देश प्रवाह गर्न सक्नुपर्दछ । यस्तै राष्ट्र सामु देखापरेका चुनौतीलाई काँग्रेसले मात्र समाधान गर्न सक्छ भन्ने एउटा आशा र भरोसा नेपाली जनतालाई दिलाउन सक्नुपर्दछ ।

तर त्यस दिशातर्फ सबैको ध्यान जानुको सट्टा अहिले नेतृत्वको होडबाजीको बहस मात्र केन्द्रित भएको छ । काँग्रेसभित्र आमूल परिर्वतन गर्न अबको काँग्रेस कस्तो बनाउने भन्ने वैचारिक बहसभन्दा पनि अबको सभापति र पदाधिकारी को बन्ने भन्ने विषयले काँग्रेसको महाधिवेशनको माहोल केही तातिएको पनि देखिन्छ । अबको महाधिवेशनमा महिलाको सहभागिता धेरै हुने तर निर्णायक तहमा नेतृत्व थोरै हुने धरातलीय यथार्थलाई बहसको विषय बनाउन यो पङ्क्तिकारले प्रयत्न गरेको छ । इतिहासले वर्तमानलाई डो¥याउँदै छ भने झैँ विसं २००३ सालमा माघ १२ र १३ गते भारतको कलकत्तामा नेपाली राष्ट्रिय काँग्रेसको रूपमा भएको पहिलो महाधिवेशनले नेपाली राष्ट्रिय काँग्रेसको हरेक राजनीतिक आन्दोलनको अगुवाइ गरेको छ । यसरी विसं २००३ सालको राष्ट्रिय काँग्रेस र विसं २००५ सालको प्रजातन्त्र काँग्रेसबीच २००६ चैत २७ गते सम्पन्न महाधिवेशनले दुवै पार्टीबीच एकता भएपछि नेपाली काँग्रेसको जन्म भएको हो ।

राष्ट्रियता, प्रजातन्त्र र समाजवादको आदर्श बोकेको काँग्रेसले नीति र नेतृत्वभन्दा पनि ७ दशकभन्दा बढी समय प्रजातन्त्र प्राप्ति, पुनः प्राप्ति एवं जनताको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वाधीनताका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आज सङ्घीय लोकतान्त्रिक गणतन्त्र युगको ढोका खोल्न सफल भएको हो । यसरी प्रजातान्त्रिक आन्दोलनको शक्ति पुञ्जको रूपमा आफूलाई उभ्याइएको काँग्रेसले आधुनिक नयाँ नेपालको निमार्ण गर्नतर्फ अबको गन्तव्य बनाउन जरुरी छ । सत्तामा पुगेको नेकपाको कम्युनिस्ट सरकारले मुलुकको समस्या एवं जनताका लागि अभिभावकीय भूमिका निभाउन सकेको छैन । भ्रष्टाचार चुलिएको छ । जनता भोक र रोग दुवैबाट आक्रान्त छन् । त्यसैले काँग्रेसलाई पुनः जीवन दिन एवं युगानुकूल रूपान्तरण गर्न समावेशी नेतृत्व साथै समयसापेक्ष पार्टीेका लागि नयाँ एजेन्डा मुखरित गर्न सक्ने नेतृत्व आजको आवश्यकता हो । त्यसका लागि महिलालाई निर्णायक तहमा पु¥याउन अति आवश्यक देखिन्छ ।

काँग्रेसको विधानमा महिला सहभागिता :
घर, परिवार, समाज र राष्ट्रलाई रूपान्तरण गरी लोक कल्याणकारी राज्य स्थापनार्थ गर्न महिला र पुरुषको समान सहभागिता एवं प्रतिनिधित्वको व्यवस्था हुनुपर्दछ । रथका दुई पाङ्ग्रामा एक पाङ्ग्रा कमजोर भयो भने रथलाई सही दिशामा लैजान सकिँदैन । यस्तै आर्थिक विकास, सामाजिक, राजनीतिक र सांस्कृतिक हरेक क्षेत्रमा महिला र पुरुषबीचमा लैङ्गिक समानता भएर मात्र पुग्दैन । लैङ्गिक समता हुन जरुरी छ । नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले महिला र पुरुषबीचमा समानताको साथै हरेक वर्ग, तप्काको बीचमा समानता ल्याउन जरुरी छ । १४आँै महाधिवेशनको सँघारमा आइपुग्दा पनि नेपाली काँग्रेसले आठ तहको संरचनामा विधानमा बल्लतल्ल ३३ प्रतिशत महिलाको उपस्थिति हुने भनिएको छ । तर निर्णायक तहमा वा पदाधिकारीमा महिलाको प्रतिनिधित्व केन्द्रीय समितिमा केवल एक सहमहामन्त्रीबाहेक अन्य तहको कुनै निकायमा अनिवार्य गरिएको छैन । ३३ प्रतिशत मात्र सहभागिता छ । निर्णायक तहमा महिला नभएको हुँदा एकातर्फ प्रतिस्पर्धामा उत्रन पनि अब महिला नेताले आफूलाई अझ सशक्त बनाउँदै जानुपर्नेछ भने अर्कोतर्फ पार्टीले महिलालाई पदाधिकारीमा लैजाने अनिवार्य व्यवस्था मिलाउन जरुरी छ । यसरी तल्लो निकायदेखि माथिल्लो निकायसम्म केवल सदस्य पदमा मात्र आरक्षण गरिएकाले अबको महाधिवेशनमा चुनिएर आउने ३३ प्रतिशत महिला प्रतिनिधिको मत निर्णायक हुँदै अबको काँग्रेसको भावी सभापति एवं पदाधिकारी को बन्छ भन्ने कुरा त्यसैले निर्धारण हुने देखिन्छ । तर निर्णायक मत हुने महिलाको उपस्थितिलाई उपसभापति, महामन्त्री र कोषाध्यक्ष पदमा लैजाने सोच नेतागणमा अझै देखिँदैन । यो विडम्बना नै भन्नुपर्दछ । त्यसै महिलाहरुले पनि महिला महिलाबीच एकता कायम गरी निर्णायक तहमा पुग्न खुला प्रतिस्पर्धामा उत्रन खुट्टा कमाउनु हुँदैन ।

काँग्रेसभित्र महिलाको भूमिका :
नेपाली काँग्रेसभित्र महिलाको भूमिकालाई औँल्याउने हो भने पार्टीले गरेका हरेक आन्दोलन र सङ्घर्षमा काँधमा काँध र हातमा हात मिलाएर साथसाथै होमिएको देखिन्छ । महिला सङ्घको संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहले २००४ सालमा महिलाको सङ्घको स्थापना गरी प्रजातन्त्र प्राप्ति एवं महिला मुक्तिका लागि खेलेको अहम भूमिका, महिला मताधिकारका लागि तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरलाई दबाब दिएको घटना, २०१५ सालको आमनिर्वाचनमा निर्वाचित भई स्वास्थ्य सहायकमन्त्री बन्न सफल हुनुभएका द्वारिकादेवी चन्द ठकुरानीले गर्नुभएको योगदान आदिले नेपालको महिला आन्दोलन गौरवान्वित भएको देखिन्छ । तर जिम्मेवारीको हिसाबले केलाएर हेर्ने हो भने बहुदलीय व्यवस्थाको पुनः स्थापनापछि वरिष्ठ महिला नेता शैलजा आचार्य पार्टी उपसभापति र उपप्रधानमन्त्री एवं २०४६ सालको परिर्वतनपछि सुजता कोइराला उपप्रधानमन्त्री, चित्रलेखा यादव उपसभामुख र कोषाध्यक्षको साथै वर्तमान कोषाध्यक्ष सीतादेवी यादव बन्न सफल भएको देखिन्छ । तर त्यसपछिका महिलाहरुले मन्त्रीमण्डल स्थान पाएता पनि पदाधिकारीको पदमा स्थान पाउन सकेका छैनन् । पछिल्लो समय पार्टीले महिला नेतृत्वलाई निर्णायक तहमा लैजान चासो नदेखाएको देखिन्छ ।

काँग्रेसमा महिला नेतृत्व नै किन ?
नेपाली काँग्रेसको १४आँै महाधिवेशनमा महिला नेतृत्व किन आवश्यक छ भन्ने अहम प्रश्न उब्जिएको छ । महिला नेताहरुले सभापति पदमा उठ्न कुनै इच्छा नदेखाए पनि पदाधिकारी बन्न आकङ्क्षा देखाएको पाइन्छ । त्यसैले नेपाली काँग्रेसले महिलालाई नेतृत्वमा स्थापित गराउन अपरिहार्य छ ।

समानता र समावेशीका लागि
नेपालको संविधानले पनि समानुपातिक र समावेशी प्रतिनिधित्वको व्यवस्था गरेका महिला र पुरुषबीच समानता कायम गर्न लागि महिलालाई पदाधिकारीमा लैजानुपर्दछ । हामी समावेश लोकतन्त्रको अभ्यास गरिरहेका छौँ । समावेशी लोकतन्त्रमा सबै वर्ग, तह र तप्काको समान रूपले प्रतिनिधित्व हुने गर्दछ ।

सन्तुलित विकास
महिला र पुरुष यहीँ समाजका उपज हुन् । तर एउटा मात्र वर्गलाई अधिकार सम्पन्न बनाउँदा विकासको मूल प्रभावीकरणमा महिला पुग्न सकेका छैनन् । त्यसैले हरेक तहमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रको सन्तुलित विकासका लागि पनि महिलालाई नेतृत्व तहमा लैजानुपर्दछ ।

विभेदको अन्त्य
नेपाली समाजमा सदिऔँदेखि लैङ्गिक विभेदले जरो गाडेको छ । रुढिवादी परम्परा, पितृसत्तात्मक संरचना एवं असमानताको महिलामाथि दमन, शोषण, थिचोमिचो एवं राजनीतिक हिंसा आदि अन्त्यका लागि पनि महिला निर्णायक तहमा लैजानुपर्दछ ।

इमानदारी र मिहिनेती
महिलाहरु इमानदार र मिहिनेती हुन्छन् । उनीहरुले अवसर पाएमा इमानदारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्न सक्छन् भन्ने उदाहरण नेतृत्वमा पुगेका महिलाले प्रस्तुत गरिसकेका छन् ।

एकता र मेलमिलाप
पार्टीभित्र चरम गुटबन्दीका कारणले नेपाली काँग्रेस आफैमा कमजोर देखिएको छ । व्यक्तिवादी सोच र महत्त्वकाङ्क्षाको कारण पार्टी सशक्त रूपमा अगाडि बढ्न सकिरहेको छैन । त्यसैले नेता र कार्यकर्ताबीच आत्मीयता, एकता र मेलमिलापको मियो महिला मात्र बन्न सक्दछन् ।

नेतृत्व तहमा महिला स्थापित गर्न अब के गर्ने ?
नेतृत्व तहमा महिला स्थापित गर्न हामीले विभिन्न कुरामा ध्यान दिन जरुरी छ ।

विधानमा सुधार
नेपाली काँग्रेसको अहिलेको संशोधित विधानमा रहेको ३३ प्रतिशतको उपस्थितिलाई सिँढी मानेर ५० प्रतिशतको हाराहारीमा पु¥याउनुपर्दछ ।

नेतृत्व क्षमताको विकास
महिलालाई नेतृत्वमा स्थापित गराउने हो भने वडा र गाउँ तहदेखि नै महिला नेतृत्व विकासको तालिम दिएर उनीहरुको योग्यता र क्षमता बढाउनुपर्दछ ।

सामाजिक र पारिवारिक वातावरण
महिलालाई अगाडि ल्याउन सर्वप्रथम परिवारको सहयोग अनिवार्य चाहिन्छ । पारिवारिक सहयोगले मात्र सामाजिक वातावरण तयार भई राजनीतिक नेतृत्वमा पुग्न सफल हुन्छन् । त्यसैले सामाजिक र पारिवारिक वातावरण महिलामैत्री हुनुपर्दछ ।

आर्थिक सशक्तीकरण
महिलाहरु आत्मनिर्भर नभएका कारण राजनीतिकमा सशक्त रूपमा अगाडि बढ्न सकेका छैनन् । त्यसैले उनीहरुलाई आर्थिक र सशक्तीकरण र सबलीकरण गर्न अत्यन्त जरुरी छ ।

नेतृत्वको सोच र शैलीमा परिवर्तन
महिलालाई नेताका रूपमा स्वीकार नगर्ने, पार्टीको आमसभा र कार्यक्रममा झण्डा र डन्डा बोक्न लगाउने, आम निर्वाचनमा प्रत्यक्षमा टिकट नदिने सोच र शैलीलाई नेतृत्व वर्गले सुधार गर्नुपर्दछ ।

महिला आफै सक्रिय हुनुपर्ने
अहिलेसम्म नेपाली काँग्रेसको परम्परालाई हेर्दा महिला नेताहरुले पार्टी शीर्ष नेतृत्वको मुख मात्र ताक्ने सम्पूर्ण महिलाहरुलाई एकीकृत गरी सक्रिय नहुने प्रवृत्तिलाई तिलाञ्जलि दिँदै अगाडि बढ्नुपर्दछ ।

महिलाबीचको सम्बन्ध
महिला महिलाबीचको सम्बन्ध घर, समाजदेखि नेतृत्व तहसम्म राम्रो भएको पाइँदैन । जस्तो सासू बुहारीबीचको सम्बन्ध, समाजका टाठाबाठा र अन्य महिलाबीचको सम्बन्ध, राजनीतिक नेतृत्व तहमा पुगेका महिला महिलाबीचको सम्बन्ध पनि पारस्पारिक सहयोग साझेदारी र एकता भएको देखिँदैन । यो कमजोरीलाई हामी सबैले आत्मसात गर्दै काँग्रेसको १४औँ महाधिवेशनमा महिलालाई निर्णायक तहमा पु¥याउन सबैले अहम भूमिका खेल्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *