सुरु भयो रेम्डिसिभिर र प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार !

समाचार

१७ भदौ, काठमाडौं । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा पहिलो पल्ट कोरोना संक्रमित बिरामीलाई रेम्डिसिभिर औषधि र प्लाज्मा थेरापी मार्फत उपचार शुरु गरिएको छ । भदौ १५ गते कैलालीको धनगढी उपउपमहानगरपालिका-३ का ४८ वर्षीय संक्रमित पुरुषमा श्वासप्रश्वासमा समस्या भएपछि नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कोभिड–१९ आईसियूमा भर्ना गरिएको थियो ।

उनको स्वास्थ्यमा समस्या आएपछि इन्जेक्टेबल औषधी रेम्डिसिभिर र प्लाज्मा थेरापी दुबै एकै साथ प्रयोग गरिएको हो । प्लाज्मा थेरापी र रेम्डिसिभिर औषधि प्रयोगपछि बिरामीको स्वास्थमा सुधार आएको उपचामा संग्लन नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका वरिष्ठ फिजिसिएन डा. श्याम बिकेले जानकारी दिए ।

रेम्डिसिभिर औषधि भेन्टिलेटरमा भएका बिरामीलाई दश दिनसम्म प्रयोग गर्न सकिने र भेन्टिलेटर भन्दा बाहिरका बिरामीलाई पाँच दिनसम्म प्रयोग गर्न सकिने नेपाल स्वास्थ अनुसन्धान परिषदका बोर्ड सदस्य समेत रहेका चिकित्सक बिके बताए । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा डा. सुमित पाण्डेको संयोजकत्वमा डा. असिम किद्वाईसहितको टिमले पश्चिम नेपालमा रेम्डिसिभिर र प्लाज्मा थेरापीको उपचार पद्धतिसहितको अनुसन्धान शुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *