कोरोनाको डरले ज्यान जोगउन भारतबाट रातारात नेपाल पसेका नेपालीहरु फेरि तेइ ज्यान जोगउन धमाधम भारत फर्किदै, भन्छन् `मरे उतै मरौंला’

समाचार

धनगढी,१८ भदौ । दिनेश विक सुर्खेतमा बसेर एक कम्पनीमा काम गर्दै लोक सेवा आयोगको तयारी कक्षा लिइरहेका थिए । लकडाउनका कारण जागिरले निरन्तरता पाएन,आयोगको परीक्षा पनि रोकियो । त्यसपछि उनी रुकुमपश्चिम घर फर्के ।

‘चैतदेखि घरको मानो खाएर बिनाकाम बस्नुपर्‍यो,’२४ वर्षीय दिनेशले भने,‘गाउँमा साथीहरू स्याउ टिप्न सिमला जाने भए । म पनि उनीहरूसँगै मिसिएँ ।’स्याउ टिप्न भारत हिमाचलको सिमला पहाड हिँडेको दिनेशको समूहमा २३ जना छन् । लगभग उस्तै उमेरका उनीहरूमध्ये कोही सुर्खेत र नेपालगन्जमा काम र अध्ययन गरिरहेका थिए ।

कोहीले भने यसअघि पनि सिमलामा गएर काम गरेका थिए ।‘पाइरहेको काम पनि कोरोनाका कारण गुमाउनुपरेपछि स्याउ टिप्न सिमला जाँदै गरेका हौं,’त्यही हूलमा रहेका २३ वर्षीय दीपक विकले भने । रुकुमबाट बस रिजर्भ गरेर धनगढी आइपुगेका उनीहरूलाई नाकाबाट सिमलासम्म लैजान भारतीय‘एजेन्ट’आएको दीपकले सुनाए ।

स्याउ टिप्न सिमला जानका लागि बर्दिया बढैयातालका १७ जनाको अर्को समूह पनि गौरीफन्टा नाकामा लामबद्ध भेटियो । उनीहरूमध्येका गम्भीरसिंह महतराले गाउँघरमा खाली बस्नुपरेकाले तीन महिनाका लागि सिमला जान लागेको बताए । त्यस समूहमा जया र वीरबहादुर भण्डारी दम्पती पनि छन् ।

पाँच वर्षीर्य बालक बोकेर २२ वर्षीया पूजा परियार पनि टोलीमा सामेल भएकी छन् ।‘श्रीमान् पहिल्यैदेखि सिमलामै हुनुहुन्छ,त्यही भएर म पनि हिँडेकी हुँ,’पूजाले भनिन् । कान्तिपुर दैनिकमा खबर छ ।

उक्त समूहमा रहेका गोपाल घर्तीका अनुसार नेपाली कामदारका लागि सिमलाबाट स्याउ बगानका साहुहरूले गाडीको पास बनाएर सीमा नाकासम्म पठाउने गरेका छन् ।‘कोरोनाको डर मान्दै घरमा हातखुट्टा बाँधेर बस्न सकिएन,’२७ वर्षीय घर्तीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *