नेपाल टेलिकमले कोरोना सङ्क्रमित पत्ता लगाउन सुरु गर्यो अनौठो प्रणाली ।

समाचार

काठमाडौं, बैशाख ३-नेपाल टेलिकमले कोरोना भाइरसबाट आफ्ना प्रयोगकर्ता सङ्क्रमित भए नभएको पत्ता लगाउने प्रयास थालेको छ।यसका लागि कम्पनीले मङ्गलबारदेखि नयाँ प्रणाली विकास गरेको छ। जसबाट टेलिकमका प्रयोगकर्ताले आफ्नो अवस्था जानकारी दिनसक्ने खबर गोरखापत्रले छापेको छ।

नेपाल टेलिकमका अनुसार प्रयोगकर्ताले आफ्नो नम्बरबाट ८१४१९३ डायल गरेर त्यहाँ सोधिएको उत्तर दिनुपर्ने छ। टेलिकमले त्यहाँ चरणबद्ध प्रश्न सोध्ने व्यवस्था गरेको छ। ज्वरो आए नआएको, खोकी लागे नलागेकोजस्ता प्रश्न त्यसमा सोधिएको छ।

उत्तरमा दुईवटा मात्र विकल्प राखिएकाले प्रयोगकर्ताले १ वा २ अङ्क थिचेर प्रश्नको जवाफ दिनसक्ने छन्।

प्रयोगकर्ताबाट प्राप्त उत्तरको आधारमा टेलिकमले लक्षणको विश्लेषण गर्ने छ। ‘उत्तरको आधारमा रातो, पहेँलो अथवा हरियो क्षेत्रमा नम्बर विभाजन गर्ने व्यवस्था गरेका छौँ,’ कम्पनीका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले भने।

त्यसरी छुट्याइएको नम्बर टेलिकमले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई उपलब्ध गराउने छ । जोखिमयुक्त रातो क्षेत्रमा परेका प्रयोगकर्तालाई समितिबाटै सम्पर्क गर्ने व्यवस्था हुने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *