अमेरिकाको नर्थ क्यारोलिनामा हुलाक मार्फत मतदान शुरु

अन्तर्राष्ट्रिय

संयुक्तराज्य अमेरिकाको आगामी राष्ट्रपतीय निर्वाचन नोभेम्बर ३ मा हुँदैछ,तर हुलाक सेवा मार्फत मतदान गर्नेहरुका लागि नर्थ क्यारोलिना राज्यमा मतदान शुक्रबारदेखि शुरु भएको छ ।नर्थ क्यारोलिना राज्यमा छ लाखभन्दा बढी मतदाताले हुलाक मार्फत मतदान गर्न नाम लेखाएका छन् ।

खासगरी कोरोनाभाइरसको त्रासका कारण ठूलो संख्यामा मानिसहरुले हुलाक मार्फत् मतदान गर्न खोजेको पाइएको छ ।चार वर्षअघि यस राज्यमा हुलाक मार्फत मतदान गर्नेभन्दा यसपटक चार गुणा बढीले यस्तो अनुरोध गरेका हुन् । यी अनुरोधहरु खासगरी डेमोक्राट र स्वतन्त्र मतदाताहरुबाट भएको छ ।

हुलाक मार्फत् हुने मतदानलाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीबीच तिब्र मतान्तर छ ।सन् २०१६ मा करिब एक तिहाई जनसंख्याले हुलाक मार्फत् मतदान गरेका थिए । यस पटक भने ठूलो संख्याका मतदाताले हुलाक सेवाको प्रयोग गर्न सक्ने निर्वाचन अधिकारीहरुले बताएका छन् ।

विस्कन्सिन राज्यमा पनि सन् २०१६ को चुनावमा भन्दा झण्डै एक लाख बढीले हुलाक मार्फत मतदान गर्न अनुरोध गरेका छन् । फ्लोरिडा राज्यमा सन् २०१६ मा ३३ लाख ४७ हजार ९६० जनाले हुलाक सेवाका लागि अनुरोध गरेकामा यसपटक ४२ लाख ७० हजार ७८१ जनाले अनुरोध गरिसकेको र यो अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

राष्ट्रपतिको चुनावमा “ब्याटलग्राउन्ड” भनेर चिनिने मिनेसोटा,पेन्सिलभेनिया र विस्कन्सिन राज्यमा हुलाक सेवाको प्रयोग मार्फत दुई साताभित्र मतदान हुनेछ । यी राज्यको चुनावी परिणामले आगामी राष्ट्रपतिको चयनमा प्रभाव पार्नेछन् ।ऐतिहासिक तथ्यमाथि विचार गर्दा नर्थ क्यारोलिनामा हुलाक सेवा मार्फत मतदान गर्नेहरु प्रायः रिपब्लीकन पार्टीका समर्थकहरु हुने गरेका थिए ।

तर यस पटक यस्तो मदतानका लागि रिपब्लीकन समर्थकहरुभन्दा अरु मतदाताको संख्या बढी छ । डेमोक्रेटका ३ लाख २६ हजारभन्दा बढी समर्थकहरुले अनुरोध गरेका छन् ।मतदाताहरुले हुलाक सेवाका लागि आगामी अक्टोबर २७ सम्म अनुरोध गर्न पाउँछन् ।

डेमोक्रेट पार्टीले हुलाक सेवाको प्रयोग गर्न अन्य राज्यमा पनि प्रोत्साहित गरिरहेको छ । मेन राज्यमा हुलाक सेवाको प्रयोगका लागि अनुरोध गर्नेहरु ६० प्रतिशत डेमोक्रेट छन् भने २२ प्रतिशत स्वतन्त्र मतदाता रहेका छन् ।पेन्सिलभेनियामा डेमोक्रेटहरुले रिपब्लीकनको तुलनामा तीन गुणा बढी अनुरोध गरेका छन् ।

फ्लोरिडामा विगतमा हुलाक मार्फत मतदान गर्नेहरु बहुसंख्यक रिपब्लीकन समर्थकहरु हुने गरेका भए पनि यसपटक करिब ४८ प्रतिशत डेमोक्रेट र ३२ प्रतिशत रिपब्लीकन रहेका छन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुलाक सेवा मार्फत हुने मतदानबाट धाँधली हुने बताउँदै आउनु भएको छ,तर धेरैजसो अध्ययनले हुलाक सेवा सुरक्षित रहेको बताएका छन्,फ्लोरिडा विश्वविद्यालयका प्रध्यापक मिचेल म्याकडोनाल्डले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *