चक्रीय ब्याजको कारोबार गरेर ठगी धन्दा चलाउनेलाई मन्त्रीको संरक्षण

समाचार

काठमाडौं । विपन्न समुदायका युवालाई भारतको पञ्जाबमा काम लगाइदिने र कमाइ नहुन्जेलसम्मका लागि घर खर्चबापत ऋण दिएर चक्रीय ब्याज असुल गर्ने आरोप लागेका शिवजी यादवलाई प्रदेश २ सरकारका एकजना मन्त्रीले संरक्षण गरेको तथ्य प्रकाशमा आएको छ । सिरहाका पीडित मुसहर समुदायले भदौ ८ गते नै जिल्ला प्रशासन कार्यालय सिरहामार्फत शिवजी यादवविरुद्ध उजुरी गरेका थिए । जिल्ला प्रशासन कार्यालयले सो उजुरी सोही दिन जिल्ला प्रहरी कार्यालयमा छानविनका लागि पठाएको थियो तर अहिलेसम्म प्रहरीले कारवाही प्रकृया अगाडि नबढाएको पीडितहरु बताउँछन् ।

जिल्ला प्रशासन कार्यालयमा दिएको उजुरीको सुनुवाई नभएपछि पीडितहरुले भदौ १५ गते शिवजी यादवविरुद्ध जिल्ला प्रहरी कार्यालयमै अर्को उजुरी दिए । छोरा रामभजन सदालाई बेपत्ता बनाएको भनि फुलोदेवी सदाले उजुरी दिइन् भने महेश सदा, रामचन्द्र सदा र भरोसी सदाले ठगीको उजुरी दिएका छन् । तर तीमध्ये कुनै पनि उजुरी दर्ता भएको छैन ।

स्रोतका अनुसार प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले त्यहाँका एसपीलाई उजुरी दर्ता नगर्न दबाब दिएका छन् । मन्त्री यादव सिरहा औरही गाउँपालिका खजनपुर निवासी हुन् । जनता समाजवादी पार्टीका नेता समेत रहेका मन्त्री यादवले शिवजी यादवविरुद्ध कुनै कारवाही अगाडि नबढाउन सिरहाका एसपी उमाशंकर पँजियारलाई दबाब दिएको पीडितहरुको गुनासो छ ।
शिवजी यादव पनि जसपा नेपालकै स्थानीय नेता हुन् । उनी सिरहा औरही गाउँपालिकाको अध्यक्षमा चुनाव लडेका थिए । तर ६ मतले पराजित भएका उनी जसपा नेपालको सो गाउँ कार्यसमितिका अध्यक्षसमेत हुन् ।

उजुरी दिने मुसहर समुदायहरु दिनदिनै प्रहरी कार्यालय धाउँछन् तर प्रहरीले कुनै सुनुवाई गरेको छैन । उजुरीमाथिको कारवाहीबारे बुझ्न जाँदा प्रहरी कार्यालयमा छिर्नसमेत प्रहरीले नदिएको पीडितहरुको भनाइ छ । रामचन्द्र सदाले भने, ‘सिडिओ कार्यालयमा उजुरी दिएपछि सो पत्र एसपी कार्यालयमा पठाइयो, तर प्रहरीले यो उजुरीले हुँदैन, किटानी जाहेरी नै दिनुस्, अनि सुनुवाई हुन्छ भनेपछि हामीले एसपी कार्यालयमा उजुरी दियौँ तर हालसम्म त्यसलाई दर्तासमेत गरेको छैन

‘अहिले केही भएको छैन, केही भयो भने तपाईहरुलाई बोलाउँछौँ’ भनि प्रहरीले आफूहरुलाई फर्काउने गरेको उनले बताए । उनले भने, ‘शिवजी यादव आफै ठूलो नेता हुनुहुन्छ, त्यही कारणले प्रहरीले उहाँमाथि कारवाही गर्न डराएको छ, शिवजी यादव कै पार्टीका नेता मन्त्री हुनुहुन्छ, त्यही कारणले हुनसक्छ हाम्रो मुद्दा दर्ता भएको छैन ।’
जिल्ला प्रहरी कार्यालयका एक प्रहरीले भने, ‘गाउँघरको हरेक घटनामा राजनीतिक हस्तक्षेप हुन्छ, शिवजी यादव आफै एउटा दलका नेता हुनुहुन्छ, उहाँका लागि राजनीतिक दबाब नआउने कुरै हुँदैन ।’
तर कसको दबाब आएको छ भन्ने उनले बताउन चाहेनन् । एसपी पँजियार धनुषाका हुन् । उनको सम्बन्ध मन्त्री यादवसँग राम्रो छ । मन्त्रीकै निर्देशनमा एसपी पँजियारले यो घटनालाई दबाउन खोजेको स्थानीयबासीको आशंका छ । सिरहाबाट सरुवा हुने बेला भइसकेका कारण पनि एसपी पँजियारले आफू रहुन्जेलसम्म यो मुद्दालाई अघि बढाउन नचाहेको स्रोत बताउँछ ।

प्रहरीको प्रतिकृया
यस विषयमा एसपी पँजियारलाई सोध्दा उनले आफूलाई त्यो घटनाको बारेमा केही जानकारी नरहेको बताए । यसबारेमा बुझेरमात्र जवाफ दिने उनको भनाइ थियो । जबकि शिवजी यादवविरुद्ध पीडितहरुले उजुरी दिएको यतिका दिनसम्म पनि उनले घटनाबारे बुझेका छैनन् भनेर विश्वास गर्न सक्ने आधार छैन ।
यस विषयमा सिरहाका प्रमुख जिल्ला अधिकारीले समेत एसपी पँजियारसँग कुरा गरेका छन् । जिल्लाका नेताहरुले एसपीसँग पटक पटक कुरा गरेका छन् । तर रातोपाटीले जिज्ञासा राख्दा आफूलाई त्यसबारेमा केही जानकारी नरहेको भनेर पन्छिन खोजेबाट नै उनी राजनीतिक दबाबमा रहेको प्रष्ट हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *