भारतले धौलीगंगा बाँध खोल्दै, महाकाली नदी छेउछाउ नजान आग्रह

जानकारि

बैतडी, २० भदौ । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिने भएको छ ।एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुलाबाट प्राप्त पत्रानुसार बाँध आज राति १२ बजेदेखि भोलि साँझ ६ः४५ बजेसम्म खोलिने भएको हो ।

बाँध खोलेपश्चात् महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रमा जोखिम हुने जनाइएको छ । जोखिम हुन आउन नदिन सतर्कता अपनाउन यहाँका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले आग्रह गर्नुभएको छ । महाकालीको तटीय क्षेत्र पर्ने बैतडीको सेरादेखि कुस्मतघाटसम्मका नागरिकलाई नदी छेउछाउ आसपास नजान अनुरोध गरिएको उहाँले बताउनुभयो ।

बाँध खोलेपछि पानीको सतह घटबढ भइराख्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्नसमेत जिल्ला प्रशासन कार्यालयले अनुरोध गरिएको छ । यस्तै दार्चुलाको व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्म तटीय क्षेत्रमा खतरा हुने भएकाले यस क्षेत्रका नागरिकलाई सतर्क भएर रहन जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

बाँध खोलेपश्चात् महाकाली नदीमा पानीको सतह घटबढ भइरहेको जनाइएको छ । परियोजनाले बाँधमा पानीको मात्रा बढ्ने भएकाले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गर्ने गरेको छ ।

धौलीगंगाको बाँध खोलेपछि दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्ने भएकाले उक्त क्षेत्रका नागरिकलाई नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्नसमेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् ।

दुई सय ८० मेगावाट विद्युत् क्षमताको धौलीगंगाको परियोजनाको बाँध खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पूर्वसूचना गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको छ । यसअघि यस वर्ष पनि बेलाबेला बाँध खोलिएको थियो । विसं २०७० मा धौलीगंगाकै बाँधका कारण दार्चुला सदरमुकाममा अर्बौंको क्षति भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *