गुल्मीमा कोरोना कहरका बिच पनि चारवटा पुल सकियो

समाचार

गुल्मी । विश्वभर फैलिएको कोभिड–१९ का बिच पनि जिल्लामा पुल निर्माणको काम निरन्तर चलिरहेको छ । कोरोना नियन्त्रणका लागि सरकारले बेला–बेलामा गरेको बन्दाबन्दीमा पनि सामाजिक दूरी कायम राख्दै पुल निर्माणको कार्यले निरन्तरता पाएको हो । यसै बिचमा जिल्लामा मोटर गुड्ने चारवटा पक्की पुल निर्माण भएका छन् । विभिन्न समयमा ठेक्का सम्झौता भएका पक्की पुलहरुमध्ये आर्थिक वर्ष २०७६/०७७ मा चार वटा पक्की पुल निर्माण भएका हुन् । जिल्लामा रहेका सडक पूर्वाधार विकास कार्यालय र मदन भण्डारी राजमार्ग योजना कार्यालयले सञ्चालन गरेका २१ वटा पक्की पुलहरुमध्ये चारवटा पक्की पुल निर्माण भएका छन् ।

सडक पूर्वाधार विकास कार्यालयसँग विभिन्न समयमा ठेक्का सम्झौता गरी निर्माण थालेका तीन वटा पक्की पुलमध्ये एकवटा पक्की पुलको निर्माण कार्य सम्पन्न भएको कार्यालय प्रमुख इन्जिनियर गोपिराज पुन मगरले जानकारी दिए ।उनका अनुसार ईस्मा गाउँपालिकाको दोहोली र मुसिकोट नगपालिकाको पौंदी अमराई जोड्ने निस्ती खोला पक्की पुलको निर्माण कार्य सकिएको हो । यो पुलको २०७३ असार २७ गते २ करोड १५ लाख १२ हजार लागतमा ठेक्का सम्भौता भएको थियो । २ स्पानको उक्त पुलको लम्बाई ४१.२० मिटर रहेको छ ।

यस कार्यालयबाट विभिन्न समयमा निर्माण कार्यको लागि ठेक्का सम्झौता भएका २ वटा पुलहरु निर्माणधीन अवस्था रहेको कार्यालय प्रमुख पुनले जानकारी दिए । उनका अनुसार मुसिकोट नगारपालिकाको बडिघाट खोलाको झर्दी बल्लेघाट पुल र सत्यवती गाउँपालिकाको त्रिवेणी पुल निर्माणाधिन अवस्थामा रहेका छन् । बल्लेघाट पुलको निर्माण कार्यका लागि २०७३ असार २३ गते ठेक्का सम्झौता भएको हो । उक्त पुलको ५ करोड १७ लाख ८४ हजार लागतमा निर्माण कार्य सकिने छ । २०७८ असार ३१ गते सम्म निर्माण कार्य सम्पन्न गनुपर्ने छ ।त्रिवेणी पुलको निर्माण कार्यको लागि २०७६ असार ३१ गते ठेक्का सम्झौता भएको हो ।

उक्त पुल ३ करोड ११ लाख २१ हजार लागतमा निर्माण कार्य सम्पन्न हुने कार्यालय प्रमुख पुनले बताए । उनका अनुसार २०७८ असार ३१ गते सम्म निर्माण कार्य सम्पन्न गनुपर्ने छ । मुसिकोट नगारपालिकाको बडिघाट खोला (खौलार) पुल र मालिका गाउँपालिकाको निस्ती खोला पुलको टेन्डर सूचना प्रकाशित भैसकेको तर सम्झौता हुन बाँकी रहेको जनाइएको छ ।त्यस्तै मदन भण्डारी राजमार्ग योजना कार्यालयसँग विभिन्न समयमा ठेक्का सम्झौता गरी निर्माण थालेका १८ पक्की पुलमध्ये तीन वटा पक्की पुलको निर्माण कार्य सकिएको निमित्त योजना प्रमुख सुनित केसीले जानकारी दिए ।

उनका अनुसार स्याला खोला पुल स्याला, मलागिरी खोला पुल मलागिरी र कपरपाटा खोला पुल दुविचौरमा निर्माण कार्य सकिएको हो । स्याला खोला पुलको २०७४ असोज २२ गते ५ करोड ८१ लख ४३ हजार ५ सय ९ रुपैयाँ ५४ पैसा लागतमा निर्माणको लागि ठेक्का सम्झौता भएको थियो । मलागिरी खोला पुलको २०७४ असोज २६ गते ३ करोड ७६ लाख ७० हजार ६ सय २७ रुपैयाँ लागतमा निर्माणका लागि ठेक्का सम्झौता भएको थियो ।कपरपाटा खोला पुलको २०७५ जेठ २२ गते ३ करोड ४७ लाख ४८ हजार १ सय १४ रुपैयाँ ५० पैसा लागतमा निर्माणको लागि ठेक्का सम्झौता भएको थियो । सम्झौता भएका १५ वटा पुलहरु निर्माणधीन अवस्था रहेको योजना प्रमुख केसीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *