दशगजामा रहेका नेपालिले घर जान पाउनुपर्ने माग गर्दै बस तोडफोड गरे ।

समाचार

राँझा- बाँकेको जमुनाह नाकास्थित दशगजा क्षेत्रको एकान्तबासमा रहेका नेपाली नागरिकले घर जान पाउनुपर्ने माग गर्दै बसमा तोडफोड गरेका छन् । पन्ध्र दिन एकान्तबासमा रहेका सबै जनाको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आए पनि थप केही दिन एकान्तबासमै बस्नुपर्ने भएपछि उनीहरु आक्रोशित भएका हुन् । आज गरिएको स्वास्थ्य परीक्षणमा एकान्तबासमा रहेका १८१ जनाकै कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

रिपोर्ट नेगेटिभ आएपछि नेपालगञ्ज उपमहानगरपालिकाले दशगजा क्षेत्रमा बस पु¥याएर सबैलाई घर पठाउने तयारी गरिरहेका बेला बाँके प्रशासन र गृहमन्त्रालयले उनीहरुलाई तत्काल घर पठाउन नमिल्ने भन्दै रोक लगाएको थियो ।

घर जाने तयारीमा रहेका उनीहरुलाई गृहमन्त्रालयको आदेशअनुसार प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले एकान्तबास नछोड्न निर्देशन दिएपछि एकान्तबासमा बस्दै आएका नागरिक आक्रोशित भएका थिए ।

उनीहरुले उपमहानगरपालिकाद्वारा एकान्तबास स्थलमा पु¥याएका तीन बसमा तोडफोड गरी ढोका र झ्यालको सिसा फुटाइदिएका छन् । गाडीमा तोडफोड गर्न लागेपछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *