गोरखामा रेबिजबाट एकको मृत्यु भएपछि स्थानीयलाई भ्याक्सिन लगाउन शुरु ।

समाज

गोरखा, बैशाख ५ – गोरखाको शहिद लखन गाउँपालिका–६ रानागाउँका ६० जना स्थानीयवासीलाई रेबिज बिरुद्धको भ्याक्सिन लगाउन शुरु गरिएको छ । स्थानीयवासी खिलबहादुर थापाको कुकुरको टोकाईपछि रेबिज लागेर मृत्यु भएसँगै मृतकका परिवारसहित गाउँका अन्यलाई भ्याक्सिन लगाउन शुरु गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठले जानकारी दिए ।

गत पुसमा कुकुरले टोकेको तर उपचारमा हेलचक्राई गरेका थापामा एक्कासी ज्वरो आउने र काम्ने समस्या देखिएपछि उपचारका लागि चैत २७ गते गोरखा अस्पताल पुर्याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि काठमाडौंको टेकु अस्पताल पठाइएको थियो । अस्पतालमा उपचारका क्रममा थापाको चैत २९ गते मृत्यु भएको थियो ।

अस्पतालले थापाको मृत्यु रेबिजका कारण भएको पुष्टी गरेपछि मृतकका घरपरिवार र उनको सम्पर्कमा रहेका सबैको पहिचान गरी रेबिज बिरुद्धको भ्याक्सिन लगाउन थालिएको हो,शाखा प्रमुख श्रेष्ठले भने, “पहिलो चरणमा चैत ३० गते ५२ जना र हिजो ८ जनालाई पहिलो चरणको भ्याक्सिन लगाइएको छ ।

प्रमुख श्रेष्ठले टोलमा रेबिज रोग फैलन सक्ने जोखिमलाई ख्याल गरी थापाको परिवार, छरछिमेकी र मृत्यु संस्कारमा सहभागी सबैलाई भ्याक्सिन लगाउन शुरु गरिएको बताए ।उहाँहरु सबैलाई ३ चरणसम्म रेबिज बिरुद्धको भ्याक्सिन लगाउनुपर्छ, उनले भने, “सबैलाई गाउँपालिकाको समन्वयमा निःशुल्करुपमा घरमै पुगेर भ्याक्सिन लगाउन शुरु गरिएको छ ।” गोरखाको सिरानचोक गाउँपालिकामा पनि एकसाता अघि रेबिज लागेर एक पुरुषको मृत्यु भएपछि गाउँका ४० जनालाई रेबिज बिरुद्धको भ्याक्सिन लगाउन थालिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *