चीनमा कोरोनाविरुद्धको खोप परिक्षण सफल, आब छिटो अन्तर्राष्ट्रिय स्तरमा उपलब्ध गराउने ।

अन्तर्राष्ट्रिय

चीनले विकास गरेको कोरोनाभाइरसविरुद्ध खोप मानिसमा परिक्षण गर्दा सफल भएको छ । गएको १७ मार्चदेखि क्लिनिकल ट्रायल शुरुगरिएको खोपको नतिजा एकदमै सकारात्मक रिपोर्ट आएको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।

चीनले यो भ्याक्सिनको क्लिनिकल ट्रायलको लागि १०८ स्वयंसेवकलाई छानेको थियो । यो परीक्षणका लागि छानिएका स्वयंसेवकमध्ये १४ जनाले खोपको परीक्षण अवधि पूरा गरिसकेका छन् । १४ दिनसम्म क्वारेन्टाइनमा राखिएपछि उनीहरुलाई आ–आफ्नो घर पठाइसकिएको बेलायती पत्रिका डेलिमेलले लेखेको छ ।

यी सबै परीक्षण चीनको वुहान शहरमा गरिएको छ जहाँबाट कोरोनाभाइरस फैलिन सुरु भएको थियो । कोरोनाभाइरस संक्रमणले विश्वमै महामारीको रुप लिएको अवस्थामा अब भने भाइरस नियन्त्रणमा ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ ।

मार्च २२ मा ऊहान इभिनिङ न्यूजले जनाएअनुसार कोरोनाविरुद्धको खोप परीक्षणका लागि ४ हजार ६ सय ६७ स्वयंसेवकले नाम दर्ता गराएका थिए । तीमध्ये १ सय ८ जनालाई परीक्षणमा सामेल गराइएको हो । परीक्षणमा सामेल गरिएका १ सय ८ जनालाई तीन समूहमा विभाजन गरि क्वारेन्टाइनमा राखिएको थियो । तीन समूहमध्ये एउटा समूहलाई खोपको सामान्य डोज दिइएको छ भने अर्को समूहलाई मध्यम डोज दिइएको छ । यस्तै तेस्रो समूहलाई भने हेभी डोजमा खोप दिएर परीक्षण गरिएको अधिकारीहरुको भनाइ छ ।

परीक्षणमा १८ देखि ६० वर्ष उमेर समूहका मानिसलाई सहभागी गराइएको छ । भ्याक्स्निको परीक्षणपछि घर पठाइएका १४ जना नै पूर्ण रुपमा सुरक्षित र स्वस्थ पाइएका छन् । यीसबै जना अझै पनि मेडिकल निगरानीमै छन् । यो भ्याक्सिनलाई चीनको पिपुल्स लिबरेशन आर्मीकी सबैभन्दा बरिष्ठ वैज्ञानिक चेन वी र उनको टिमले विकास गरेको हो ।

परीक्षण गर्नका लागि छानिएका १०८ स्वयंसेवकहरु १८ वर्षदेखि ६० वर्ष उमेर समूहका छन् । यी सबैलाई तीन समूहमा बाँडिएको छ । तीनै समूहका स्वयेंवकहरुलाई भ्याक्सिनको फरक फरक मात्रा दिइएको छ । यी सबैलाई वुहान स्पेसल सर्भिस हेल्थ सेन्टरमा क्वारेन्टाइनमा राखिएको छ । यी सबैलाई फरक फरक दिन खोप दिइएकोले क्वोन्टाइन समय पूरा हुँदासम्म त्यहीँ बस्नुपर्नेछ र क्वारेन्टाइन अवधि पूरा भएपछि घर जान पाउनेछन् ।

आगामी केही हप्तामा सबै १०८ जना नै घर जान पाउनेछन् । क्वारेन्टाइन अवधि पूरा गरेर घर गइसकेका १४ जनालाई अझै ६ महिनासम्म मेडिकल निगरानीमा राखिनेछ । हरेक दिन उनीहरुको मेडिकल टेस्ट हुनेछ । यो ६ महिनामा यदि उनीहरुको शरीरमा कोरोनाभाइरसको संक्रमण भएमा उनीहरुको शरीरले कसरी प्रतिक्रिया दिन्छ भन्ने हेरिनेछ ।

जब उनीहरुको शरीरमा कोरोनाभाइरससँग लड्ने क्षमता विकास हुनेछ अर्थात उनीहरुको शरीरमा भाइरससँग लड्ने एन्टिबडी बन्न थाल्नेछ त्यसपछि उनीहरुको रगतको नमूना लिएर भ्याक्सिनलाई बजारमा पठाइनेछ। वैज्ञानिक चेन वीका अनुसार पहिलो परीक्षण लगभग सफल भएको छ । उनले यो भ्याक्सिनको क्षमता पूर्ण रुपमा थाहा भएपछि अन्तर्राष्ट्रिय स्तरमा सम्झौता गरेर विश्वभर पठाउने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *