न्युयोर्कमा विष्णु राईको मृत्यु भयो, २ हप्ता सम्म न कसैले उनलाई भेट्न् नै गए न उनको मृत्युबारे सोधीखोजी नै भयो ।

अन्तर्राष्ट्रिय

न्युयोर्क, न्युयोर्कमा नेपालीको एउटा मृत्यु जो कसैले पनि वास्ता गरेका छैनन् । न उनको नाममा कसैका फेसबुकमा श्रद्धाञ्जली देखियो न त उनको मृत्युबारे कसैले सोधीखोजी नै गरे । मार्च २७ मा न्युयोर्कको एल्महस्र्ट अस्पतालमा एकजना राई थरका व्यक्ति विते । तर उनको मृत्युबारे न्युयोर्कको नेपाली समुदायले पत्तो पाएन । खसोखासले भने उनको मृत्युबारे अनुसन्धान सुरु गरेको थियो ।झण्डै २ सातासम्मको अनुसन्धानपछि गत विहिबार पत्तो लाग्यो, मार्च २७ मा एल्महस्र्ट अस्पतालमा बितेका व्यक्ति रहेछन् बिष्णुकुमार राई ।

उनी त्यसको केहीदिन अगाडि एल्हमस्र्ट अस्पतालमा भर्ना भएका रहेछन् ।मार्च २७ मा एल्महस्र्ट अस्पतालमा निधन भएका व्यक्ति बिष्णुकुमार राई रहेछन् । अस्पतालको डेढ नोटिफिकेशन विभागले यसको पुष्टी गरेको छ । विभागका अनुशार उनको शव मेडिकल इक्जामिनरको कस्टडीमा राखिएको छ । – मेरिल्याण्ड राज्यको संसदमा प्रतिनिधित्व गर्ने सांसद ह्यारी भण्डारीले पुष्टी गरे ।राईको मृत्युपछि ह्यारी भण्डारीलाई सम्पर्क गरेपछि भण्डारीले डेढ नोटिफिकेशन विभागमा पटकपटकको सम्पर्कपछि राईको मृत्यु भएको पुष्टी गरे ।

उनी भन्छन् – ‘व्यक्तिको मृत्यु भएको पुष्टी गर्न पनि अहिले निकै गाह्रो रहेछ । म जनप्रतिनिधि भएको हैसियतले अलिकति सहज भयो ।उनको शव दाहसंस्कारका लागि जिम्मा लिने कोही व्यक्ति अमेरिकामा नभएका कारण अहिलेसम्म उनको शव कसैले पनि दावी गरेको छैन । निश्चित समयसम्म दावी नगरिएको खण्डमा न्युयोर्कमा अन्क्लेम शवहरु सामुहिक चिहानमा लगेर दफनाउने गरिएको छ ।तर परिवारका सदस्यहरु वा हकवाला कोही भएकोखण्डमा र उनीहरुले स्वीकृति दिएको खण्डमा शव दाहसंस्कारका लागि आफूहरुले सहयोग गर्नसक्ने भण्डारीले बताएका छन्।

को हुन् बिष्णु राई ?बिष्णु राई को हुन् भन्ने विषयमा पारिवारिक पृष्ठभूमि खुलेको छैन । तर उनी केहीबर्ष अगाडि आप्रवासीको अधिकारका लागि कृयाशिल संस्था अधिकारको सम्पर्कमा आएका थिए । अधिकारले उनलाई टीपीएस दिलाउनका लागि सहयोग गरेको थियो ।उनको वर्क परमिट कागजातमा उनको जन्ममिति १९४८ अप्रिल २५ उल्लेख गरिएको छ । जस अनुशार उनी आगामी साता ७२ बर्ष पुग्न लागेका थिए । उनको वर्क परमिटमा उनको जन्मदेश नेपाल उल्लेख गरिएको छ । श्रोतका अनुशार उनी नेपालमा बैंकमा समेत जागिरे थिए ।

तर उनी कहिले र कसरी अमेरिका आए भन्नेबारे केही खुलेको छैन ।लामोसमय होमलेस सेल्टरमा बसेका उनले सन् २०१७ को फरबरी देखि अधिकारकै सहयोगमा नर्सिङ होम प्राप्त गरेका थिए । रकवे केयर सेन्टरको कागजात अनुशार उनी सन् २०१७ को फरबरी २४ देखि एल्महस्र्ट अस्पतालबाट रकवे केयर सेन्टरमा भर्ना भएका थिए ।केयर सेन्टरको कागजात अनुशार राई मृगौलाका बिरामी थिए । उनले नियमित रुपमा डायलासिस गराउँदै आएका थिए । साताको तीनपटक उनको डायलासिस गराउँदै आइएको थियो ।

एल्महस्र्टको ब्रोडवे डायलासिस सेन्टरका अनुशार राईले सन् २०१२ को मार्च देखि नै उक्त डायलासिस सेन्टरमा डायलासिस गराउँदै आएका थिए । सन् २०१२ को मार्च २२ देखि उक्त सेन्टरमा राईको डायलासिस सुरु गरिएको प्राप्त कागजातमा उल्लेख छ ।उनले हरेक मंगलबार, बिहिबार र शनिबारगरी हप्तामा तीनपटक डायलासिस गराउँदै आएका थिए । एकपटकको डायलासिसमा ४ घण्टा लाग्ने गरेको ब्रोडवे डायलासिस सेन्टरले जनाएको छ । कागजातमा उल्लेख भए अनुशार उनमा निको नहुने प्रकारको क्रोनिक स्वास्थ्य अवस्था रहेको थियो ।उनले बेलाबेलामा रक्तश्राव, बान्ता, कमजोरी, रिंगटा लाग्ने लगायतका समस्याहरु समेत भोग्दै आएका थिए ।

होमलेस सेल्टरमा बस्ने क्रममा उनी बिरामी भएर अस्पतालमा भर्ना भएर फर्कदा उनका सामानहरु ’मिल्काइने लगायतका समस्या उनले भोग्दै आएका थिए ।उनले आफ्ना कुनै परिवारका सदस्यहरु नरहेको बताउँदै आएका थिए । टीपीएसभन्दा अगाडि उनको जीवन अत्यन्तै दर्दनाक रहेकोमा टीपीएस पाइसकेपछि भने उनले नर्सिङ होम पाएका कारण केही सहज भएको थियो ।बाँच्नका लागि लागि लामो समयदेखि संघर्ष गर्दै आएका उनको स्वास्थ्य अवस्था अत्यन्तै कमजोर रहेका कारण र उनी मुटुको समेत रोगी भएका कारण उनी कोरोनासँग भने जुध्न सकेनन् ।

मार्चमा अस्पतालमा भर्ना भएका उनी मार्च २७ मा यो संसारबाट बिदा भए ।उनको मृत्युको खबर अहिले भारतमा रहेका उनका आफन्तहरुले पाइसकेका छन् । तर उनका आफन्त दावी गर्नेहरुसँगको उनको सम्बन्ध के हो भन्नेबारे केही खुलेको छैन ।उनका आफन्त दावी गर्ने केही व्यक्तिले न्युयोर्कमा रहेको नेपाली कन्सुलेट र वासिंटन डिसीमा रहेको नेपाली दूतावासमा इमेलमार्फत सम्पर्क गरेको कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले जानकारी दिए । उनका आफन्तहरुले शव नेपालमा लैजान चाहेको भन्दै दूतावासमा इमेल गरेका थिए ।

उनका आफन्त दावी गर्नेहरु आफ्नो सम्पर्कमा आएको न्युयोर्कमा सामाजिक व्यक्तित्व केशवराम राईले जानकारी दिए । उनीहरुले मृत्यु हुने व्यक्ति उनीहरुकै आफन्त भए नभएको पुष्टी गर्न खोजेका थिए । तर फोटो, जन्ममिति, मृतकको सामाजिक सुरक्षा नम्बर लगायतका आधारमा मृतक बिष्णु कुमार राई नै भएको पुष्टी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *