घर बिहिन बालबालिका भेटिएमा १०४ मा सम्पर्क गरिदिन राष्ट्रिय बाल अधिकार परिषद् को आग्रह ।

समाचार

काठमाडौ, बैशाख ९- कञ्चनपुरमा सडकमा भेटिएका दुई जना बालकको उद्धार गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको राष्ट्रिय बाल अधिकार परिषद्ले महेन्द्रनगरको सडक पेटीमा भेटिएका अन्दाजी ११ वर्षीय र १० वर्षीय दुई बालकलाई उद्धार गरेको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले लकडाउनका बेला दुई अनाथ बालक सडकमा बेवारिसे अवस्थामा भेटिए भन्ने थाहा पाउने वित्तिकै तत्काल उद्धार गर्न परिषद्लाई निर्देशन दिनुभएको थियो । मन्त्री गुरुङको निर्देशन र स्थानीय प्रशासनको सहयोगमा दुवै बालकको शुक्रबार उद्धार गरी महेन्द्रनगरस्थित अमर बाल गृहमा राखिएको परिषद्का प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भुसालले जानकारी दिए ।

बजार क्षेत्रबाट उद्धार गरिएका दुवै बालकलाई उनीहरुको मनोविज्ञान र चाहनाअनुसार शिक्षादीक्षाको पनि आवश्यक व्यवस्था मिलाइने अमर बाल गृहका सञ्चालक उत्तर टमाटाले बताउनुभयो । उद्धार गरिएका दुवैको अभिभावक नभएको पाइएकोे छ ।

लकडाउनले मुलुक ठप्प भइरहेका बेला परिषद्ले यसअघि काठमाडौँको विभिन्न स्थानबाट पनि पाँच जना बालकको सडकबाट उद्धार गरेको थियो । मन्त्री गुरुङले सडकमा अलपत्र परेका कुनै पनि बालबालिका भेटिए स्थानीय प्रहरी वा बालबालिका खोजतलास तथा समन्वय केन्द्रको हटलाइन सेवा १०४ मा तत्काल जानकारी गराउन सबैलाई अपिल गरेका छन् ।

सरकारले बालबालिकालाई सडकमुक्त बनाउने अभियानलाई तीव्रता दिएको र चालू आर्थिक वर्षको हालसम्म ३९८ जना बालबालिकाको सडकबाट उद्धार गरिएको परिषद्का प्रमुख प्रशासकीय अधिकृत भुसालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *