कोरोनाको स्वास्थ्य सामग्री ल्याउन भारतसँग छलफल जारी । टुङ्गियो चीन संगको सम्झौता ।

समाचार

काठमाडौँ, ९ वैशाख – कोभिड–१९ को सङ्क्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद गर्ने प्रक्रिया टुङ्गिएको नेपाली सेनाले जनाएको छ । आज जङ्गी अड्डामा पत्रकार सम्मेलन गर्दै सेनाले चिनियाँ पक्षसँग खरिद सम्झौता सम्पन्न भई रकमसमेत भुक्तानी भइसकेकाले खरिद प्रक्रिया टुङ्गिएको जनाएको हो ।

सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले चीनबाट ३४२ टन स्वास्थ्य सामग्री सरकार–सरकार (जिटुजी) प्रक्रियाबाट खरिद गर्ने चरणमा प्रवेश गरिएको जानकारी दिनुभयो । ६७ प्रकारका स्वास्थ्य सामग्री खरिदका लागि सोमबार नै चिनियाँ पक्षलाई रकम भुक्तानी गरिसकिएको छ । स्वास्थ्य उपकरण खरिदका लागि एक करोड ८४ लाख ४१ हजार ७०६.३५ अमेरिकी डलर भुक्तानी भइसकेको छ । नेपालले भुक्तानी गरेको रकम पाइसकेको पनि चिनियाँ पक्षले जानकारी दिइसकेको उहाँले बताउनुभयो ।

स्वास्थ्य सामग्री खरिदका लागि चीन सरकारको स्वामित्वमा रहेको चाइना साइनोफार्म इन्टरनेशनल कर्पोरेशनसँग सम्झौता भइसकेको छ । नेपाल र चीनबीच भएको सम्झौतामा रकम भुक्तानी गरेको एक साताभित्र सबै सामग्री चिनियाँ पक्षले ग्वान्जाओमा जम्मा गरिदिने उल्लेख छ । सोहीअनुरुप अबको एक साताभित्र चिनियाँ पक्षले ती स्वास्थ्य सामग्री ग्वान्जाओमा जम्मा गरिदिने जानकारी प्राप्त भएको प्रवक्ता पाण्डेले जानकारी दिनुभयो ।

भारतसँग छलफल जारी
प्रवक्ता पाण्डेले भारतबाट कोभिड–१९ का बिरामीलाई दिइने औषधि खरिद गर्ने विषयमा पनि छलफल भइरहेको बताउनुभयो । सरकारले भारतबाट ५३ प्रकारको औषधि ल्याउने तयारी गरेको छ ।

“हामीले नेपाललाई आवश्यक पर्ने औषधिको सूची पठाएका छौँ, भारतीय पक्षसँग औषधि खरिदपछि गरिने भुक्तानी प्रक्रियाका बारेमा छलफल भइरहेको छ”, उहाँले भन्नुभयो, “भारतीय पक्षबाट हालसम्म कुनै जानकारी आएको छैन । केही दिनमा यसको पनि टुङ्गो लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *