लकडाउनका बेला पनि झ्याप्प–झ्याप्प किन जान्छ बत्ती ? यसो भन्छन् कुलमान

राष्टिय

हिजोआज देशका विभिन्न स्थानमा विद्युत् जाने आउने समस्या भइरहेको छ । देशमा जारी लकडाउनका कारण विद्युत खपत पनि धेरै भएको छैन । देशमा विद्युतको अभाव नभएको समयमा पनि किन बत्ती गइरहेको छ त ?

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भन्छन्–अहिले हावा, हुरी चल्ने, पानीका साथै चट्याङ् पर्ने समय हो । कतिपय स्थानका ट्रान्समिटरमा चट्याङ पर्ने गरेको छ । तराईका क्षेत्रहरूमा हावाहुरीले बिजुलीका पोलसमेत ढाल्ने गरेको छ । चैत,वैशाख,जेठमा हावाहुरी लाग्छ । तराईमा बिजुलीको पोल नै ढालिदिन्छ,रुख ढालिदिन्छ । यो चाहिँ हावा, हुरी र चट्याङ्ले गर्दा हो ।

उनले अहिले विद्युत वितरणमा समस्या नभएको बताउँदै प्राकृतिक कारणले बिजुली जाने गरेको बताए । ती स्थानमा मर्मत गर्न केही समय लाग्ने भएकाले त्यो बेला उपभोक्ताले समस्या भोग्नुपरेको उनको भनाइ छ ।

लकडाउनपछि उद्योग कलकारखाना बन्द भएपछि विद्युत खपतमा गिरावट आएको छ । अहिले दैनिक ढेड करोड युनिट विद्युत खपत हुने गरेको छ । लकडाउन अघि दैनिक २ करोड २० लाख युनिट विद्युत खपत हुने गरेको छ ।

तर दिनमा हरेक घण्टा विद्युत खपत फरक फरक रहने गरेको छ । बिहान ७ सयदेखि साढे ७ सय मेगावाट विद्युत् खपत हुनेमा दिउँसो भने ६ सय देखि ६ सय ६० मेगावाट खपत हुने गरेको छ । शनिबार दिउँसो ५ सय मेगावाट मात्र विद्युत खपत भएको कार्यकारी निर्देशक घिसिङले रातोपाटीलाई जानकारी दिए ।

बेलुकाको समयमा भने सबैभन्दा धेरै ९ सय मेगावाटसम्म विद्युत खपत हुने गरेको छ । पानी परेको समयमा तराईमा विद्युत खपत कम हुने गरेको छ । रातको समयमा विद्युत खपतको मात्रा ५ सय मेगावाटमा झर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *