कोरोना अस्पतालको सिसिटिभी फुटेज; कर्मचारी नै चोरीमा, लाखौं घोटालाको आशंका (भिडियो सहित)

समाचार

चितवन । कोरोना संक्रमितको उपचारका लागि भरतपुर बनाएको भरतपुर कोरोना अस्पतालका सरसामान राति कर्मचारीहरूले पोको पारेर लगेको भिडियो सार्वजनिक भएको छ । अस्पतालका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत सूर्य तिवारीले अस्पतालको स्टोरबाट सामान बाहिर निकालेको भिडियोमा प्रष्ट देखिन्छ ।

खनाल नेपाल निजामती कर्मचारी संगठन चितवनका जिल्ला अध्यक्ष हुन् भने बराल अस्पताल विकास समिति कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष हुन् । उनीहरूले स्टाण्ड फ्यान,सर्जिकल मास्क,कम्प्युटरको स्क्रिन, स्यानिटाइजर,चप्पल,ग्लुस्टिक,साबुन,लामखुट्टे भगाउने धुप,बेगन लगायतका सामान तीन पोका बनाएर निकालेको देखिन्छ ।

सामान पोको पार्नेहरू बत्ती निभाएर स्टोर कोठाबाट बाहिरिन्छन् र केही समयपछि मोबाइलको लाइटको साहारामा अँध्यारो कोठामा पसेर करिब आधा घण्टा अगाडि तयार बनाएर राखेको पोको उठाउँछन् । अरू केही सामानहरू खोजेको जस्तो पनि देखिन्छ ।

वीरगञ्जका बिरामी सन्तोष यादवको मृत्यु भएसँगै विवादमा परेपछि यो कोरोना अस्पताललाई भरतपुर अस्पतालको शाखा बनाउने निर्णय गरिएको थियो । भरतपुर अस्पताल मातहत चलाउने सम्झौता नै भएको थियो गत चैत २१ गते । भरतपुर अस्पतालले वैशाख १ गते दिउँसो सामानहरूको विवरण बुझेको थियो । खनाल, बराल र तिवारीले चैत ३० गते राति ९.३० बजेसम्म बसेर सामानहरू उठाएका थिए ।

उनीहरूले केही सामान आ-आफ्ना घर लगेका र केही नारायणगढको एक सर्जिकल पसललाई बेचेको स्रोत बताउँछ । आरोपीहरूले भने भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखामा लगेको दाबी गरेका छन् । महानगरका लेखापाल खनालले आफूहरूले सामान चोरी नगरेको दाबी गरे । राति मोबाइल बालेर सामान उठाउनुको कारण सोध्दा उनले भने, ‘दिउँसो नभ्याएर राति लैजानु परेको हो ।’

भरतपुर अस्पतालको स्टोर शाखा प्रमुख केशव सापकोटा कोरोना अस्पतालबाट केही थान मास्क र पीपीई मात्र ल्याएको बताए । ‘हामीले वैशाख १ गते स्टोर जिम्मा लिएपछि एक जना मान्छे पनि खटाएका छौँ’,उनले भने,‘त्यसभन्दा अगाडिको कुरा हामी जान्दैनौँ ।’

भिडियोमा लेखापाल खनालले इलेक्टि्रसियन सन्तोष कुमारलाई हात हालेको पनि देखिन्छ । कुमार जाइलागेपछि खनाललाई जोगाउन बराल बीचमा आएको देखिन्छ । पेस्की रकमको बिल नदिएपछि कुटपिट गरेको लेखापाल खनालले स्वीकार गरे ।

आर्थिक घोटलाको आशंका

गत ७ चैतबाट हतार-हतार सञ्चालन गरिएको भरतपुर कोरोना अस्पतालको नक्कल गर्दै बुटबल लगायतका स्थानमा अलग्गै कोरोना अस्पताल बने । तर,नमुना मानिएको अस्पताल नै अहिले अस्तव्यस्त बनेको छ । अस्पतालमा लाखौं अनियमितता भएको चर्चा चल्न थालेको छ ।

भरतपुर महानगरपालिकालाई अस्पताल सञ्चालन गर्न वागमती प्रदेश सरकारले चैत २० गते एक करोड दिएको थियो । त्यसअघि महानगरपालिकाको विपद् कोषबाट छ लाख ५० हजार लेखापाल खनालको नाममा पेस्की दिएको थियो । अडिट गर्ने,गराउने आर्थिक नियम ऐनअनुसार सामान खरिद र व्यवस्थापन गर्ने जिम्मा लेखापाल खनाल र अस्पतालका सदस्य सचिव डा.भोजराज अधिकारीलाई दिइएको छ ।

अस्पतालमा वैशाख १४ गतेसम्म ७४ लाख ४४ हजार ९९ रुपैयाँ खर्च भएको देखिन्छ । कोरोना अस्पताल सञ्चालन कार्यदलको बैठकमा भने महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले एक करोड २७ लाख खर्च भएको विवरण दिएको स्रोत बताउँछ ।

अस्पतालले दिएको जानकारीअनुसार अहिलेसम्म कार्यालय सञ्चालनमा ११ लाख ८६ हजार र औषधि तथा मेसिनरी खरिदमा ५२ लाख २८ हजार दुई सय १० खर्च भएको छ । यसमा तोकिएको ४५ लाखको सिलिङ नाघेर खर्च गरिएको छ ।

अस्पतालले कुन औषधि, कोबाट, कतिमा किनेको भन्ने खुलाएको छैन । पीपीई र एन-९५ मास्कमा चाहिँ भ्याटसहित ३४ लाख खर्च गरेको देखाइएको छ । ५२ लाखमध्ये १८ लाखको हिसाब अस्पतालले देखाएको छैन । पाँचवटा एसी र पङ्खा खरिदको खर्च ७४ लाखमा जोडिएको छैन ।

सार्वजनिक खरिद ऐनको खरिदसम्बन्धी व्यवस्थामा पाँचलाखसम्मको खर्चमा तीनवटा सप्लायर्ससँग दरभाउ पत्र मागेर सबभन्दा कम गर्नेसँग खरिद गर्न पाउने व्यवस्था छ । त्यसभन्दामाथि टेन्डरमा जानुपर्ने नियम छ । ७ चैतमा खुलेको अस्पतालमा १५ गते अधिकांश समान ल्याएको देखिन्छ । पीपीई र एन ९५ मास्क खरिदको न कोटेसन छ न त सम्झौता ।

नेपाली कांग्रेस, चितवनका सभापति जीतनारायण श्रेष्ठ अस्पतालमा चोरी र घोटालाबारे महानगर प्रमुख रेनु दाहाल,भरतपुर अस्पतालका अध्यक्ष एवं कोरोना अस्पतालका सदस्य सचिव डा.भोजराज अधिकारी र भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.श्रीराम तिवारी जानकार रहेको बताउँछन् । उनी भन्छन्,‘हामीले संकटको बेला सामान चोर्ने र अनियमिता गर्नेमाथि छानबिन र कारबाहीको माग गरेका छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *