प्रधानमन्त्री ओली राजीनामा दिन तयार, कोरोनापछि वामदेव गौतम प्रधानमन्त्री ।

समाचार

काठमाण्डौँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले नेकपा विवाद समधान गर्न नयाँ ल‘एंगल’प्रस्तुत गरेका छन् । कोरानाको नियन्त्रणपछि आफूले राजीनामा दिने र उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव उनले अघि सारेका छन् । त्यस्तै वरिष्ठ नेता माधव नेपाललाई पनि अध्यक्ष बनाएर सामूहिक नेतृत्वमा पार्टी सञ्चालन गर्ने उनको प्रस्ताव छ । प्रधानमन्त्री ओलीले नयाँ प्रस्ताव ल्याएपछि नेकपा विवाद नयाँ मोडमा प्रवेश गरेको छ । नयाँ प्रस्तावबारे दुई दिन छलफल गरेर शनिबार बैठक बस्ने निर्णय भएको छ ।

‘जतिसुकै वादविवाद होस्, घेराबन्दी होस्,ओम तत्काल त राजीनमा दिन्नँ । हामी कोरोनाविरुद्ध लडिरहेका छौँ । यस्तो वेला सरकार छाडेर हिँड्दा जग हँसाउने कुरा मात्रै हुन्छ,’सचिवालयका एक सदस्यका अनुसार बुधबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले भने,‘कोरोनापछि मैले पनि छाडौँला,विकल्पमा वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने मेरो प्रस्ताव छ ।’

वामदेवलाई एउटा निर्वाचन क्षेत्रमा प्रत्यक्ष लडाएर वा संविधान संशोधन गरी राष्ट्रिय सभा सदस्यलाई पनि प्रधानमन्त्री बनाउने व्यवस्था गरेर अघि बढ्न सकिने उनको प्रस्ताव थियो । त्यस्तै ओलीले वरिष्ठ नेता नेपालको वरीयता पनि अपुग भएको भन्दै तीनजना पार्टी अध्यक्ष बनाएर नेपाललाई पनि अध्यक्ष बनाउने प्रस्ताव अगाडि सारेका छन् ।

निर्वाचित जनप्रतिनिधिलाई राजीनामा गराएर उपनिर्वाचनमा वामदेव गौतमको पक्षमा जनमत जुटाउन सहज छैन,राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउने गरी संविधान संशोधन गर्न नेकपासँग दुईतिहाई छैन,तर पनि प्रस्तावले वामदेव उत्साही भएका छन् ।

ओलीको प्रस्तावलाई सकारात्मक भन्दै गौतमले यो विषयमा औपचारिक निर्णय गर्न प्रस्ताव गरेका थिए ।उनको भनाइ थियो,‘प्रधानमन्त्रीज्यूले अगाडि सारेको प्रस्ताव ठीकै छ । यसलाई सकारात्मक रूपमै लिउँ ।तर, पार्टी बैठकमै प्रवेश गराएर निर्णय गरौँ ।आजै गरे पनि गरौँ । सचिवालयमै निर्णय भयो भने स्थायी समितिमा जानैपर्छ भन्ने पनि छैन ।’

तर,गौतमले फेरि विगतमै जस्तै धोका हुने हो कि भनेर आशंका पनि व्यक्त गरेका थिए । वामदेवलाई राष्ट्रिय सभा सदस्य मात्र बनाउने पार्टी सचिवालयको निर्णय प्रधानमन्त्री ओलीकै कारण अलपत्र परेको छ । राष्ट्रपतिबाट मनोनीत हुने एक सिटमा गौतमलाई फागुनमै सचिवालयले गरेको निर्णय ओलीले अस्वीकार गरेका थिए ।

त्यस्तै पार्टी एकता हुँदा तेस्रो वरीयतामा रहेका नेता नेपालका ठाउँमा ओलीले गत साउनमा झलनाथ खनाललाई ल्याएपछि नेपालले पनि अपमानित महसुस गरेका थिए । सो विषयमा विवाद बढेपछि लामो समयसम्म ओली र नेपालबीच संवाद पनि भएको थिएन ।

महासचिव विष्णु पौडेलले पार्टी विवाद समाधानका लागि प्रधानमन्त्री ओलीले अगाडि सारेको प्रस्ताव सही विकल्प भएको बताएका थिए । नेता ईश्वर पोखरेलले पनि प्रधानमन्त्रीको प्रस्तावमा आफ्नो समर्थन रहेको बताएका थिए । तर,यो विषयमा थप छलफल आगामी बैठकमा मात्र गर्ने निर्णय भएको छ ।

प्रधानमन्त्री ओलीले बैठकको सुरुमै अर्का अध्यक्ष प्रचण्डलाई आफ्ना धारणा राख्न आग्रह गरेका थिए । केन्द्रीय समिति बैठकले ऊर्जा भरेको पार्टीलाई सरकारको कदमले पछाडि धकेलेको र परिस्थिति जटिल हुँदै गएकाले प्रधानमन्त्रीले राजीनामा दिनु नै उपयुक्त हुने धारणा उनले राखेका थिए । सचिवालयका एक सदस्यका अनुसार प्रचण्डको भनाइ थियो, ‘सरकारको कदम र तपाईंको कार्यशैलीले पार्टी फुटको दिशातिर गएको छ । अध्यादेश ल्याएर बबन्डर गर्नुभयो । पार्टी र देशका लागि पनि तपाईंले प्रधानमन्त्री पदबाट राजीनामा दिनु नै सबैभन्दा उपयुक्त हुन्छ ।’

प्रचण्डपछि बोलेका वरिष्ठ नेता नेपालले पार्टी, सरकार र प्रधानमन्त्री आफैँको पनि प्रतिष्ठा धुमिल भएकाले राजीनामा दिएर निकास दिनुपर्ने प्रस्ताव गरे ।‘हेर्नुस्, सुन्दा नमिठो लाग्ला । प्रधानमन्त्रीका रूपमा तपाईंको प्रतिष्ठा घटेको छ । तपाईं त होइन भन्नुहोला,सरकारको पनि प्रतिष्ठा कहाँ पुग्यो कहाँ । अब सरकारको नेतृत्वको निरन्तरता तपाईंबाट सम्भव नै छैन । तपाईं सक्नुहुन्न । पार्टी, जनता र सबै परिवेश बुझेर राजीनामा दिँदा नै तपाईंको, पार्टीको र देशको पनि हित हुन्छ,’नेता नेपालको भनाइ थियो ।

वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्रीको राजीनामाको प्रसंग स्थायी समिति बैठक बसेर टुंग्याउनुपर्ने बताएका थिए ।‘अब राजीनामा दिनुको विकल्प छैन । स्थायी समितिबाट निर्णय गरौँ,’खनालको भनाइ थियो । अर्का नेता रामबहादुर थापा बादलले सरकारका कमीकमजोरी भए सच्चाउन सकिने, तर प्रधानमन्त्रीले अहिले राजीनामा दिन नहुने अडान राखे ।

बैठकपछि प्रवक्ता श्रेष्ठले विवाद समाधान गर्न तथा स्थायी समिति बैठक बोलाउन सचिवालयको बैठक शनिबार पनि बस्ने जानकारी दिए । उनले पत्रकारहरूसँग भने,‘सचिवालय बैठकमा पार्टीभित्रको आन्तरिक समस्या, पार्टी एकता र सुदृढीकरणको महत्व,सरकार र केही कमरेडहरूले माग गर्नुभएको पार्टीको स्थायी कमिटी बैठक र यससँग जोडिएको विधि पक्षमा गम्भीर विचार विमर्श भयो । बैठक जारी छ,’उनले भने,‘पार्टीको नेतृत्व टिमले अनौपचारिक प्रक्रिया अगाडि बढाउँदै यही २० गते पुनः सचिवालयको बैठक बस्ने निर्णय गरेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *