प्रधानमन्त्री ओलीलाई कोरोना संक्रमणबाट जोगाउन उनको वरपरका १२ सिट खाली राखिने ।

राजनिति

काठमाडाैं,प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा बैठकमा उपस्थित हुँदा उनको वरपरका १२ सिट खाली राखिने भएको छ। कोरोना भाइरस संक्रमणबाट जोगाउन प्रधानमन्त्री संसद बैठकमा उपस्थित भएका बेला यस्तो दुरी कायम गर्न लागिएको हो। केही समयअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीको वरपर संसद बैठक क्रममा कुनै पनि मन्त्री बस्ने छैनन्। सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंह र स्वास्थ्य सेवा विभाग टेकुका डाक्टर अमृत पोखरेल नेतृत्वको टोलीले बुधबार प्रतिनिधिसभा बैठक कक्ष अवलोकन तथा निरीक्षण गरी यी सुझाव दिएको हो।

संसदमा सरकारको बेञ्चको पहिलो र दोश्रो लाइनमा प्रधानमन्त्री एक्लै हुनेछन्। त्यसपछि मन्त्रीहरू दुई-दुई सिटको दुरी कायम गर्दै बस्नेछन्। संसद भवनस्थित प्रधानमन्त्रीको कार्यकक्षमा समेत उनी भएका बेला ६ जनाभन्दा धेरै भित्र पस्न पाउने छैनन्। प्रतिनिधिसभामा प्रधानमन्त्री बस्ने सिट र कार्यकक्ष निरीक्षण गरी चिकित्सकहरूले प्रधानमन्त्री आसपास कसैलाई पनि बस्ने व्यवस्था नगर्न संसद सचिवालयलाई सुझाव दिएका हुन्। संघीय संसदको बजेट अधिवेशन २६ गते ४ बजेबाट सुरू हुँदैछ। बैठक क्रममा सांसदहरूबीच दुई सिट खाली राख्ने र कक्ष प्रवेश गर्दा नयाँ मास्क दिने तयारी संसद सचिवालयको छ।

सचिवालयले राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरूको कोरोना समेत जाँच गर्दैछ। त्यसका लागि बिहीबार १० बजे राष्ट्रियसभाका सांसद र ११ बजे प्रतिनिधिसभाका सांसदलाई संसद भवनमा एसएमएस मार्फत् डाकिएको न्यौपानेले बताए। बैठक सञ्चालन गर्दा कम्तिमा एक हजार व्यक्ति बानेश्वरस्थित संसद भवनमा उपस्थित हुनेछन्। राष्ट्रियसभा र प्रतिनिधिसभा गरी ३३० सांसद छन्। उनीहरूका चालक,सुरक्षाकर्मीका साथै त्यस्तै मर्यादापालक सुरक्षाकर्मी,संघीय संसदका कर्मचारी,मन्त्री, प्रधानमन्त्री र शीर्ष नेताका सुरक्षाकर्मीसमेत गरी झन्डै थप ३ सय जना त्यहाँ हुनेछन्।

सभामुख अग्नि सापकोटाले कोरोना भाइरस जोखिम कम गर्ने उपायका विषयमा प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठक डाकेर छलफल गरेका थिए। समितिमा सबै दलका सचेतक र कानुनमन्त्री रहन्छन्। उक्त बैठकमा सभामुख सापकोटाले सांसदहरूलाई संसद बैठक सञ्चालन अवधिभर सेल्फ आइसोलेसनमा बस्न सुझाएको सापकोटाका प्रेस सल्लाहकार न्यौपानेले बताए।‘सांसदहरूलाई परिवारका सदस्यबीच दुरी कायम गर्न,बालबालिका र वृद्धवृद्धालाई नभेट्न अनि संसद बैठकमा आउँदा कमभन्दा कम सुरक्षाकर्मी र सहयोगी ल्याउन सुझाउनु भएको छ,’न्यौपानले भने।

भवन निरीक्षण गरेको स्वास्थ्यकर्मीको टोलीले नै सांसदहरूलाई बैठक अवधिभर घरमा गई आइसोलेसनमा बस्ने आचारसंहिता बनाउन सभामुखलाई सुझाव दिएको थियो। टोलीले संसद भवन छिर्न र निस्कन फरक ढोका प्रयोग गर्न,कक्षको सेन्ट्रल एसी बन्द गर्न,सांसदले बोल्ने माइकको टुप्पोमा भएको खोल निकाल्न,प्रवेशद्वारमा थर्मल स्क्यानर राख्न पनि सुझाएको छ। सचिवालयले सांसदहरूको टेबलमा स्यानिटाइजर,बाहिरै हात धुने व्यवस्था मिलाउने तयारी पनि गरिरहेको छ। संघीय संसद भवनमा झन्डै १५ सय कुर्सी छन्। तर संघीय संसदको तल्लो कक्षमा मात्र सिट खाली राखेर सांसदहरू नअट्ने भएका छन्।

भवनको माथिल्लो तल्लामा समेत ४१ सांसद बस्नुपर्ने अवस्था आएको सचिवालयले जनाएको छ। माथिल्लो तल्लामा माइक नभएकाले त्यहाँ बोलेका कुरा रेकर्डमा राख्न समस्या हुने अवस्था आएको पनि सचिवालयले जनाएको छ। निरीक्षण टोलीले सांसदहरूको सिट अगाडि नाम नै तोक्न समेत सचिवालयलाई सुझाएको थियो। तर वरीयताक्रम र बोल्नका लागि माइक समस्या हुने देखिएको छ।‘अल्फाबेटिकल अर्डरमा राख्दा कतिपय सांसद पछाडि पर्ने र उनीहरूले बोल्न माइक नपाउने अवस्था देखिएको सचिवालयले जनाएको छ।सेतोपाटि बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *