विहेका लागि अन्तरजातीय केटा खोज्दै आस्था राउत

चलचित्र

नेपाली सांगीतिक क्षेत्रमा छोटो समयमा लोभलाग्दो सफलता हासिल गरेकी आस्था राउत स्टेज कार्यक्रममा रुचाइएकी गायिका हुन् ।‘सालको पात टपरी गाँसेर’को रिमिक्स गाएपछि चर्चामा आएकी उनका‘चौबन्दीमा पटुकी’,‘झुम्के बुलाकी’जस्ता गीत चर्चित छुन् । चलचित्र एवं कलेक्सन एल्बममा पनि उत्तिकै स्वर दिइरहेकी गायिका आस्थासँग विनीता मरहट्टाले गरेको कुराकानी

तपाईंलाई अलि फरक शैलीको गायिका भन्छन् आफूलाई के कुरामा फरक लाग्छ ?
मेरो गायकी युनिक छ । मैले गाएका शब्दले,वाणीले मलाई परिभाषित गर्छ । स्टेज परफर्मेन्स देखेर फरक भनेका पनि हुन सक्छन् । म नेचुरल देखिन्छु । छोरी चेलीको आवाज बोकेर अगाडि बढेकी छु सायद त्यसैले फरक छु ।

केटीको स्वर सुरिलो हुन्छ भन्ने सोच्छन्,तपाईंको आवाज कसरी स्थापित भयो ?
हक्की स्वरले नै मलाई चिनारी दिएको हो । बालगीत प्रतियोगितामा जहिले पनि पहिलो हुन्थेँ । हाइस्कुल पढ्दा‘सालको पात टपरी गाँसेर’ गाउने मौका पाएँ । स्वरमात्र नभएर गीतमै नौलोपन पस्किएँ । श्रोताले मन पराए । त्यसपछि प्लेब्याकमा आएँ,एल्बम पनि निकालेँ ।

सुरुमा गीत सुनेर कस्तो प्रतिक्रिया आउँथ्यो ?
कसैले बच्चा केटाले गाएजस्तो भन्थे,कतिले बोल्ड आवाज भन्थे ।

योभन्दा भिन्न शैलीमा पनि गाउन सक्नुहुन्छ ?
गाउन मन छ । मलाई हिपहपमा र सेमी क्लासिकलमा रुचि छ । समय परिवर्तनशील छ । मैले फरक शैलीमा पनि गाउँदै आएकी छु । आस्था राउत भन्नेबित्तिकै नाच्ने गीत भन्ने बुझिन्थ्यो । तर‘आधार’एल्बममै फरक शैलीका गीत छन् । सुन्ने,नाच्ने,गाउने सबै खालको गीत गाउँछु । आउँदो एल्बममा पनि फरक शैलीका गीत रहनेछ ।

संगीतमा टिक्न कत्तिको गाह्रो छ ?
म खोलाजस्तै बगिरहेछु । शोहरूमा व्यस्त छु । तर आफ्नो स्वरलाई रेस्ट नहुने गरी काम गर्दिनँ । दिनदिनै शो गर्दिनँ । व्यस्ततालाई नियन्त्रण गरिरहेकी छु । टिक्न सक्छु वा सक्दिनँ त्यो त भन्न सक्दिनँ ।

गायनमा भविष्य सुरक्षित होला त ?
भविष्य हेरेको छैन । म वर्तमानमा बाँच्छु । कर्तव्य पूरा गर्दैछु । संगीतमार्फत जनचेतना बढाउने काम पनि गर्दैछु । यही सोच बोकेर अघि बढेकी छु । राम्रो गर्दै जाने हो,भोलिका बारेमा कसैलाई थाहा छ र ।

राम्री हुनुहुन्छ,अभिनयको लागि प्रस्ताव आएको छैन ?
आफूलाई मोटी त भन्दिनँ,अलि हेल्दी छु । आफूलाई जति माया गर्नुपर्ने त्यति गर्न सकिरहेको छैन । शोहरूको भिडियो क्लिपमा आफूलाई हेर्छु । कहिलेकाहीँ धेरै मोटी देखिन्छु । स्क्रिनको लागि सुहाउँदो हो कि होइन भनेर थाहै पाउँदिन ।‘झुम्के बुलाकी’मा मोडलिङ गरेँ । चलचित्रबाट पनि अफर आएको थियो । तर म गायिकाकै रूपमा चिनिन चाहन्छु । पछि समय परिस्थिति त्यस्तै भयो भने गर्न पनि सक्छु ।

आफूले माया नगरे पनि अरूले माया गर्छन् होला नि ?
मन पराउने त होलान् । साथीहरूले‘तँसँग त केटाहरू बोल्नै डराउँछन्’ भन्छन् । धेरै साथीहरू केटा नै छन् । मलाई किन त्यस्तो भनेको होला जस्तो लाग्छ । कसैले आँटिहाले पनि कराइदिन्छु । साथीकै हिसाबले सोच भन्छु ।

तपाईंलाई कोही मन परेन ?
कहिल्यै मन नपरेको त भन्न मिल्दैन । माया गर्ने मान्छे हुँ, आफन्त सबैलाई माया गर्छु । छुच्ची पनि छु । छिटो रिसाउँछु । विशेष मान्छे चाहिँ भेटेको छैन । सोचेजस्तो पाएको छैन ।

आफ्नो लागि कस्तो व्यक्ति होस् भन्ने लाग्छ ?
विचार मिल्नुपर्छ । परिवारले त सम्झौता गर्नुपर्छ भन्नुहुन्छ । तर सम्झौता परिस्थितिमा भर पर्छ । पहिला माया गर्ने मान्छे त चाहियो । सकारात्मक सोच्ने,सम्मान गर्ने,जात,धर्म,समुदाय नछुट्याउने,मानवता भएको, सेन्स अफ ह्युमर,खुला सोच भएको,राम्रो पढेको,हँसिलो पनि हुनुपर्छ । सोचेजस्तो मान्छे आउन चाहिँ आउँछ,तर कहिले आउँछ ।

प्रेमप्रस्ताव राख्नेलाई कसरी सम्हाल्नुहुन्छ ?
कार्यक्रममा प्रस्ताव गरिहाले भने धन्यवाद भन्छु,फेसबुकबाट गर्नेलाई पनि धन्यवाद दिन्छु । संगीत र स्वरलाई माया गर्नेलाई सम्मान गर्छु । तर अहिलेसम्म दिवानापन भएको मान्छे नभेटेकाले सम्हाल्न गाह्रो भएको छैन ।

गायनमा नलागेको भए ?
संगीतमा नभएको भए भीजे,इभेन्ट होस्ट हुन्थेँ । रेस्टुरेन्ट,पब,कफी सप खोल्ने इच्छा छ । होटेल म्यानेजमेन्ट,हस्पिटालिटी एकदम मनपर्छ ।

संगीतमार्फत समाजको लागि के गर्न चाहना छ ?
महिला सशक्तीकरणका लागि सहयोग गर्न चाहन्छु ।‘झुम्के बुलाकी’मा छोरीलाई सक्षम हुने वातावरण मिलाइदेऊ भनेर चेलीको आवाज बोलेकी छु । मेरो गीतमा मानवतासँग जोडिएका कुनै न कुनै कुरा हुन्छ । यो प्रयास जारी छ । अन्नपुर्ण पोस्ट बाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *