कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु:डा.जीवन धमला।

स्वास्थ

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन कक्षमा पुर्‍याएपछि पनि शंकास्पद भन्दै निकालेर रेफर गरिदिएका छन् ।

तर,विराटनगरस्थित कोशी अस्पतालका स्त्री तथा प्रसूति विभागमा कार्यरत डा.जीवन धमला आफू र आफ्नो परिवारको ज्यानको जोखिम मोलेर प्रसूती सेवामा सक्रिय छन् । उनले त्रास हुँदाहुँदै पनि नर्मल चेकजाँच मात्र नभएर विभिन्न स्त्री रोगसँग सम्बन्धित खोप,गर्भपतन,शल्यक्रिया सेवा दिइरहेका छन् । प्राकृतिक र इमरेजन्सी प्रसूति सेवाको लकडाउन अनुभव उनले कोशी अनलाइनलाई छोटकरीमा यसरी बताए:

प्रसूति सेवा इमरजेन्सी सेवा
लकडाउनको समयमा विभिन्न अस्पतालले टेलिफोनमार्फत परामर्श पनि गर्न थालेको छन् । तर सबै सेवामा फोनमार्फत परामर्श गर्न सम्भव हुँदैन । जसमध्ये प्रसूूति सेवा पनि एक हो । त्यसैले,यस्तो समयमा अस्पतालमा प्रसूूति सेवामा हेलचेक्र्याँई गर्नुहुँदैन । र,त्रासकै कारण कसैलाई उपचारबाट बञ्चित पनि पार्नुहुँदैन ।

प्रसूति एउटा बिरामी मात्र नभएर सन्तानको जीवनसँग पनि जोडिएको हुन्छ । र,डाक्टरको काम जीवन दान गर्ने हो लिने होइन । संकटको बेला भन्दै उपचार गर्नबाट तर्कियो वा केही ढिलो भयो भने आमा र शिशु दुवैको ज्यान जान्छ । जुन अपराधसरह हो । यसैले प्रसूति सेवालाई इमरजेन्सी सेवाका रूपमा लिइएको हो ।

लकडाउनमा प्रसूति बिरामीको चाप उस्तै
विश्वभरि कोरोना भाइरसको महामारी फैलिरहेको बेलामा संक्रमणको जोखिम कम गर्नका लागि लकडाउन घोषणा गरिएको छ । सरकारले पनि अत्यावश्यकबाहेक अस्पताल नजान सबैलाई आग्रह गरेको छ । त्यसैले अस्पतालहरू अहिले सुनसान जस्तै भएका छन् । निजी अस्पतालहरूमा बिरामीहरूको चाप खासै छैन ।

फेरि धेरै निजी अस्पतालहरूले कोरोनाको डरले बिरामी भर्ना गर्न पनि मानिरहेका छैनन् । केहीले त गरेको पनि निकालेर सरकारीमा रेफर गरिदिने गरेका छन् । तर प्रसूति बिमारले लकडाउन भन्दैन र पर्खँदैन पनि । यसैले लकडाउमा पनि स्त्री रोग लिएर अस्पताल आउने बिरामीहरूको कमी छैन ।

लकडाउन सुरु भएपछि पनि कोशी अस्पतालमा १ सय ६० भन्दा बढी सुत्केरीहरूको शल्यक्रिया भइसकेको छ । ७ सय बढी प्रसूति गराउने बिरामीहरू भर्ना भइसकेका छन् । जसमध्ये ५ सय बढीको नर्मल डेलिभरी भइसकेको छ ।

कोरोनाको बहानाले उपचारको अधिकारबाट बञ्चित गरिनु हुँदैन
अस्पतालमा प्रसूतिका लागि आउने सुत्केरीहरूको कोरोना जाँच गरिएको हुँदैन । तर कोरोना जाँच भएको छैन भनेर उनीहरूलाई उपचारबाट बञ्चित गर्न मिल्दैन । गर्भवती हुने,सुत्केरी हुने,व्यथा लाग्ने,र प्रसवको बेला पीडा हुनु प्राकृतिक प्रक्रिया हो । यसलाई चाहेर पनि रोक्न सकिँदैन।

प्रेगनेन्सीमा गरिएको अध्ययनले अरुको तुलनामा कोरोना लाग्ने सम्भावना कम देखाएपनि कोरोना भाइरसले जो कोहीलाई पनि संक्रमित बनाउन सक्छ । झन् महिलाहरूले यस्तो समयमा विशेष ध्यान दिनुका साथै सावधानी अपनाउन पनि जरुरी हुन्छ ।

हामीले कसैलाई पनि कोरोनाको त्रास देखाएर उपचारबाट बञ्चित गराएका छैनौँ । बरु अन्तबाट कोरोनाको त्रासले रेफर गरेर पठाएकाहरूलाई पनि सहज उपचार गरेर घर पठाएका छौँ । शंकास्पद लागेमा मात्र कोरोना परीक्षण गराउने गरेका छौँ ।

मास्कको प्रयोग र सामाजिक दूरी अपनाउन आग्रह
अस्पतालमा रोग लाग्ने सम्भावना धेरै हुने हुँदा अति आवश्यक नपरेसम्म अस्पताल नै नआउनु भनेर घोषणा गरिएको छ । तर,प्रसूति समस्याले घोषणालाई सुन्दैन पनि र मान्दैन पनि । प्रसूति समस्या प्राकृतिक भएकोले सेवा पनि इमर्जेन्सी नै हुन्छ । यसलाई रोक्न सकिँदैन।

समयमा राम्रो तरिकाले डेलिभरि गरिएन भने थप समस्या निम्तिन सक्छ । आमा र शिशु दुवैको ज्यान जान सक्छ । हामीले सकेसम्म अस्पताल आउँदा अनिवार्य मास्क लगाउनुहोस्, प्रत्येक व्यक्तिले अर्को व्यक्तिसँग दूरी कायम गर्नुपर्छ र साबुनपानीले हात धुनुपर्छ भनेर बिरामी र कुरुवाहरूलाई सम्झाइरहने गर्छौँ । अस्पतालको गेटमा राखिएको साबुन पानीले हात धुने,स्यानीटाइजरको प्रयोग गर्न पनि भन्छौँ। बिरामीसँग एक जना मात्र भिजिटर आइदिन पनि हामी आग्रह गरिरहेका छौँ ।

आफ्नो भन्दा परिवारमा सुरक्षाको डर
संसारभरि मानव नरसंहार गरिरहेको प्राणघातक रोगबाट को त्रसित छैन होला र? डर कसलाई लाग्दैन होला र? धेरै जना अस्पतालमा आउने हुँदा अस्पताल आउने जो कोहीमा पनि संक्रमणको त्रास हुन्छ । अझै अस्पतालमा आउनेहरू धेरै बिरामीहरू नै हुनेभएकोले जोखिम अझै धेरै हुन्छ । हामी डाक्टर पनि त्रासबाट अलग रहन सक्दैनौँ । तर संकटको बेला त्रासलाई कारण बनाएर पेशाको दायित्वबाट भाग्न पनि मिल्दैन ।

समान्य अवस्थामा पनि स्वास्थ्यकर्मीहरूले जोखिम मोलेर दिनरात काममा खटिनु पर्दछ । अझ कोरोना भाइरस सक्रमणको बेलामा त हाम्रो झन् समुदायलाई आवश्यकता हुन्छ । यसैले हामीले त्रास भएपनि जिम्मेवार भएर उपचारमा खटिनुपर्दछ ।

मलाई पनि सुरुसुरुमा त एकदम डर लागेको थियो तर विस्तारै सामान्य रुटिन जस्तै काम हुन थालेको छ । आजकल डर पनि हराउँदै गएको छ। आफूमा संक्रमण सर्न सक्छ भन्ने डर भएपनि आफ्नो कारणले परिवारका सदस्यलाई पो सर्छ कि भन्नेचाहिँ बढी डर छ । त्यसैले,आफू र परिवारलाई संक्रमणबाट टाढा राख्न आफू सुरक्षित हुने हरेक प्रयास गरिरहेको छु ।

घरमा पनि सेल्फ क्वारेन्टाइमा बसेको छु । कोरोना भाइरस संक्रमितको उपचारमा लगाउने जस्तो पीपीई त छैन तर आवश्यक सुरक्षा सामग्री प्रयोग गरेर सक्दो सावधानी अपनाइरहेको छु । पटकपटक साबुन पानीले हात धुने, ओपीडीमा बिरामीलाई जाँच्दा मास्क लगाउने, टोपी, पञ्जा र गाउन लगाउन भुल्ने गरेको छैन । शल्यक्रिया गर्दा भने थप सतर्कता अपनाउने गर्छु ।

कोरोना बिरामीको डेलिभरी मात्र हैन सर्जरी गर्न पनि तयार छु
अस्पताल आउने सबै गर्भवतीहरूको पहिले ज्वरो नाप्ने गरिएको छ । तर इमरेजेन्सी मात्र नभएर प्राकृतिक समस्या पनि भएकोले ज्वरो आएकोहरूलाई डेलिभरी गराउँदिन भन्नु पनि हुँदैन । यसैले सबैको डेलिभरी गराइरहेका छौँ । शंकास्पद बिरामी आएको खण्डमा चाहिँ हामी विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार जान्छौं ।

उनीहरूको ट्राभल हिस्ट्री लिएर कोरोना परीक्षण गराउने गरेका छौँ । शंकास्पद नभएको खण्डमा ज्वरोको कारण पत्ता लगाएर चाहिने उपचार गर्छौं । तर कोरोना लागेको भएपनि उनीहरूलाई सुरक्षित तरिका अपनाएर डेलिभरी त गराउनैपर्छ । म त अस्पतालमा कोरोना संक्रमित गर्भवती वा बिरामी आएपनि डेलिभरी मात्र हैन सर्जरी पनि गर्न तयार छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *