‘१० करोडभन्दा बढी घुस लिनेलाई १४ वर्षसम्मको कैद सजाय’

समाचार

काठमाडौं । १० करोडभन्दा बढी घुस लिनेलाई १४ वर्षसम्मको कैद सजाय हुने विषयमा विधायन व्यवस्थापन समितिमा सहमति जुटेको छ । शुक्रबार भ्रष्टाचार निवारण ऐन,२०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा १० करोडभन्दा बढी घुस लिनेलाई १० देखि १४ वर्षसम्म कैद सजाय हुने विषयमा सहमति जुटेको हो ।समितिका सभापति परशुराम मेघी गुरुङले घुस लिएको रकम जफत हुने र सोही बराबरको जरिवाना गर्ने विषयमा पनि सहमति जुटेको बताए । १ करोड देखि १० करोड सम्म घुस लिने व्यक्तिलाई ८ देखि १० वर्षसम्म कैद हुने प्रावधानमा पनि सहमति जुटेको छ ।

यसअघि १ करोडभन्दा बढी जतिसुकै रकम घुस लिएपनि आठ देखि १० वर्षसम्म कैद र घुस(रिसवत)लिएको रकम जफत हुने प्रावधान थियो । १ करोडसम्म घुस लिने व्यक्तिलाई ४ देखि ८ वर्षसम्म कैद हुने प्रावधान थपिएको छ ।‘५० हजार रुपैयाँसम्म घुस लिएमा १ देखि ६ महिना कैद,५० हजार देखि १ लाखसम्म घुस लिएमा ६ महिनादेखि १ वर्ष कैद,१ देख ५ लाखसम्म घुस लिएमा २ देखि २ वर्ष कैद,५ देखि २५ लाखसम्म घुस लिएमा २ देखि ४ वर्षसम्म कैद हुने विषयमा सहमति जुटेको छ’,सभापति गुरुङले भने,‘२५ लाख देखि ५० लाखसम्म घुस लिनेलाई ४ देखि ६ वर्ष कैद,५० देखि १ करोड घुस लिएमा ४ देखि ८ वर्षसम्म कैद,१ करोडदेखि १० करोडसम्म घुस लिएमा ८ देखि १० वर्षसम्म कैद र १० करोडभन्दा बढी रकम घुस लिएमा १० देखि १४ वर्ष सम्म कैद हुने र घुस लिएको रकम जफत गरी सोही अनुसारको जरिवाना गर्ने विषयमा सहमति जुटेको छ ।’
Source:ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *