भारतबाट आएर नाकामा रोकिएका युवाले खान नपाएर ज्यान गुमाए

समाचार

जनकपुरधाम । खाना नपाएर एकजना नेपालीको नेपाल(भारत सीमास्थित जटही नाकामा मृत्यु भएपछि सयौँको संख्यामा नेपालीहरू सरकार र प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्दै जनकपुरधामतर्फ आइरहेका छन् । धनुषा जिल्लाको शहिदनगर नगरपालिकाका वडा नं। ९ का ३० वर्षीय विरेन्द्र यादवको भोकभोकै मृत्यु भएको हो । सो घटनापछि नाकामा रहेका नेपालीहरू प्रदर्शन र नाराबाजी गर्दै जनकपुरधामतर्फ आइरहेका छन् ।

भारतमा रहेको समय करिब १५ दिनदेखि चिउरा(मुरहीको भर जीवन धानेको र जटही नाकामा आइसकेपछि पनि राति नेपाल छिर्न नदिएपछि ती व्यक्तिको भोकभोकै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । मृतक यादव अहमदावादमा एक होटलमा कुकको रुपमा काम गर्दै आएका थिए। तर लकडाउनपछि उनी बेरोजगार भएका थिए ।

जटही नाकाबाट करिब ३ सयको संख्यामा रहेका नेपालीहरू लाठी,भाटा प्रदर्शन गर्दै जनकपुरधामतर्फ आइरहेका छन् । प्रदर्शनको क्रममा ज १ त १२१३ नम्बरको एम्बुलेन्समा समेत तोडफोड गरेका छन् । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाराबाजी गरिरहेका छन् ।

जटही नाकामा रहेको समयमा नेपाल सरकारले खानाको व्यवस्था नगरेको र खाना नपाएर एकजनाको मृत्यु भएको भन्दै त्यसको आक्रोशमा ती नेपालीहरु जटही नाकाबाट प्रदर्शन गर्दै जनकपुरधाम आइरहेका हुन् ।

आक्रोशित नेपालीहरुलाई प्रहरीले रोक्न खोज्दा पनि रोकिएका छैनन् भने पत्रकारविरुद्ध समेत प्रदर्शन गर्दै आइरहेका छन् । पत्रकारहरुले आफुहरुको बारेमा समाचार सम्प्रेसण नगरेको भन्दै पत्रकार विरुद्ध समेत उनीहरूले नाराबाजी गरेका छन् । सुरक्षा सतर्कताका लागि अहिले प्रहरी परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *