कोरोना भाइरस नियन्त्रणः नेपालले कहाँ गल्ती गर्‍यो ?

स्वास्थ

काठमाडौं । नेपालमा गएको एक सातामै कोभिड-१९ का बिरामी दोबरले बढेर दुई हजार नाघेसँगै सरकारको कोरोनाभाइरससँग जुझ्ने योजना परिवर्तन हुने अधिकारीहरूले बताएका छन्।

नयाँ योजनामा कोरोनाभाइरसको संक्रमण भएको अर्थात परीक्षणको नतिजा पोजिटिभ आएको आधारमा मात्र मानिसहरूलाई अस्पतालमा नराखिने कुरा समेटिने बताइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा भन्छन्- अब सङ्क्रमितको लक्षण हेरेर मात्र स्वास्थ्यस्याहार र निगरानीबारे निर्णय गरिनेछ । सुरुमा नेपालमा १,५०० जनासम्ममा मात्र संक्रम्रमण देखिन सक्ने ठानेको सरकारले सो संख्या नाघेसँगै ५,००० को नयाँ सीमा राखेर तयारी थालेको जनाएको छ । तर,विज्ञहरूले भने नेपालले समयमै जानकारी पाए पनि जिम्मेवार निकायले सही योजना र यथेष्ट तयारी गर्न नसकेकोमा दु:ख मनाउ गरिरहेका छन्।

माघ ९ मा नेपालमा पहिलो सङ्क्रमण पुष्टि भएपछि दोस्रो सङ्क्रमण भने त्यसको दुई महिनापछि मात्र अर्थात् चैत १० मा पाइएको थियो । चैत ११ बाट सरकारले देशभर लकडाउन जारी राखेको छ ।

नेपालमा पहिलो संक्रमित पुष्टि हुँदाको समयमा विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले कोरोनाभाइरसको प्रकोपलाई विश्वव्यापी चासोको आपत्कालीन अवस्था पनि भनिसकेको थिएन ।

सबैभन्दा पहिले भाइरस देखिएको चीनमा त्यतिखेर सङ्क्रमितहरू एक हजारभन्दा कम संख्यामा थिए । त्यसबीचमा सम्पर्क व्यक्तिहरूको पहिचानको क्रम र परीक्षणमा तीव्रता दिने काममा अग्रसरता नदेखिँदा नेपालमा सङ्क्रमण तीव्र गतिमा फैलिरहेको विज्ञहरूले बताउँदै आएका छन् । भारतबाट ठूलो सङ्ख्यामा नेपालीहरू फर्किन्छन् भन्ने आकलन नगरिएको सरकारी अधिकारीहरूको भनाइ छ ।

संक्रमण खोज्न नेपाल चुक्यो’
जोर्जिया स्टेट युनिभर्सिटीको इन्स्टिच्युट अफ वायोमेडिकल साइन्समा कार्यरत भाइरोलोजिस्ट डा. सुदीप खड्काले सक्रिय सङ्क्रमण खोज्ने काममा नेपाल सुरुदेखि नै चुकेको बताउँछन् । अहिलेसम्म पीसीआर विधिबाट नेपालमा ७५,००० भन्दा केही बढीको मात्र कोरोनाभाइरस जाँच गरिएको छ । एक लाख १६ हजारभन्दा धेरैको द्रूत परीक्षण किट आरडीटीबाट परीक्षण भएको छ ।

डा. खड्का भन्छन्- सुरुआतमा आरडीटीमा धेरै पोजेटिभ देखिनु तर पीसीआरमा सङ्क्रमण नपाइनुको अर्थ सङ्क्रमण भित्रभित्रै फैलिएर मानिसहरूमा लक्षण नदेखिकनै निको भइरहेको सङ्केत थियो । ‘यतिखेर परीक्षण बढाइएको कारण संक्रमित समेत बढेको हो । जहाँ जहाँ जाँच भएको छ, त्यहाँ नै संक्रमण धेरै देखिएको छ ।’ उनको भनाइ छ ।

यदि कसैमा संक्रमण भए कम्तीमा सात दिनपछि मात्र आरडीटी परीक्षणमा पोजेटिभ देखिने विज्ञहरू बताउँछन् । र त्यो समयसम्म सङ्क्रमण धेरैजनामा सर्नसक्ने जोखिम हुने बताइन्छ ।

पहिचानमा सुस्तता
आरडीटीबाट कुनै मानिसको शरीरले रोगविरुद्ध प्रतिरोधात्मक शक्ति अर्थात् एन्टीबडी बनाइरहेको छ कि छैन भन्ने जनाउ दिइरहेको हुन्छ । आरडीटीले भाइरस समुदायमा पहिल्यै फैलिसकेको छनक दिएको भए पनि सक्रिय सङ्क्रमण थाहा पाउने प्रयास पर्याप्त मात्रामा नगरिएको विज्ञहरूको विश्लेषण छ ।

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी भन्छन्- सम्पर्क व्यक्ति पहिचानमा समेत सुस्तता देखियो। सङ्क्रमित भेटिए लगत्तै उसले भेटेका मानिसहरूको पहिचान गर्नुपथ्र्यो । त्यसको तयारीमै थुप्रै दिन बिताउनु भनेको त्यो काबुबाहिर जाने जोखिम बढ्नु हो ।

नेपालमा उदयपुर, वीरगञ्ज, कपिलवस्तुदेखि नेपालगञ्जसम्म सबै ठाउँमा एउटै क्षेत्रमा धेरै जनामा संक्रमण पाइएको छ । जसमा भारतबाट आएकाहरूको बाहुल्य भए पनि स्थानीय बासिन्दाहरू समेत त्यसमा छुटेका छैनन् । तर सरकारी अधिकारीहरू भने संक्रमण फैलने क्रमको चक्र स्थापित गर्न नसकेकै कारण अझै त्यसलाई समुदायमा फैलिएको मान्न तयार छैनन् ।

तयारी के गरियो ?
लकडाउनसँगै तेस्रो मुलुकबाट सिधै आउनका लागि अन्तर्राष्ट्रिय विमानस्थल र छिमेकी देशका भू नाका समेत बन्द गरिएका थिए । त्यसबीचमा भारतबाट लुकिछिपी नेपाल आउने क्रम बढेको विवरण सार्वजनिक भएका थिए । नेपालमा क्वारन्टीनसम्बन्धी निर्देशिका बनाउन ढिलो हुँदा त्यही नै सङ्क्रमण फैलिने स्थलका रूपमा विकसित भएको देखिएको डा. खड्का बताउँछन् । ‘मापदण्ड पूरा नभएको ठाउँमा संक्रमित र सामान्य व्यक्तिहरू राख्दा बाँके र पर्सामा त्यहीँ धेरैलाई फैलिएको देखिएको हो’ उनले भने ।

क्वारन्टीनको जोखिम
देशभर धेरै स्थानमा विद्यालयलाई क्वारन्टीन बनाएर राखिएको छ । जहाँ भुईँमा लहरै राख्ने वा बेञ्चहरू जोडेर खाट बनाउने र एउटा ओढ्ने कपडा दिएर मानिसहरूलाई राखिएको पाइन्छ । भारतबाट घर फर्कँदै गरेकालाई लामो समय त्यसरी नै भारततर्फ रोकेर राखिएको थियो। जहाँ चर्पी, खानेपानी र सरसफाइका व्यवस्था झनै कमजोर रहेको बताइन्छ ।

क्वारन्टीन व्यवस्थापनको मुख्य जिम्मेवारी लिएका स्थानीय तहका सरकारहरूले आफूहरूसँग रहेको बजेट र जनशक्तिको सीमिततालाई त्यसको कारण बताउँछन् ।
एक सयजना संक्रमित रहेको कपिलवस्तुको यशोधरा गाँउपालिकाका अध्यक्ष गिरजेशकुमार पाण्डेले भने— खाना खुवाउने, क्वारन्टीन व्यवस्थापन गर्नेदेखि लिएर परीक्षणको व्यवस्थासम्मको काम हाम्रो काँधमा भएपछि कसरी सकिन्छ ?

क्वारन्टीन नै आइसोलेशन
पाण्डेको आफ्नो गाउँपालिकामा मात्र परीक्षण गर्नुपर्नेको संख्या १,६०० रहेकोमा सरकारले छिटफुट रूपमा एक सयभन्दा कम आरडीटी किट उपलब्ध गराएको उनी गुनासो गर्छन् ।

मन्त्रालयका प्रवक्ता डा देवकोटा भन्छन्— संक्रमितहरू बढ्दै गएपछि अब मापदण्ड पुगेका क्वारन्टीनस्थललाई आइसोलेशनमा स्तरोन्नति गर्ने सोचिएको छ । ‘लक्षण नभएकालाई अवस्था हेरेर घरमै वा स्थानीय सरकारले नै बनाउने आइसोलेशनमा राख्न सकिन्छ ।’ उनले भने

तर संक्रमण पुष्टि भइसकेका मानिसहरू बस्ने भएकाले ‘क्वारन्टीनमा जसरी मापदण्ड पूरा नगरिकनै आइसोलेशनस्थल बनाइए भयावह अवस्था आउन सक्ने’ चेतावनी देवकोटाले दिएका छन् । स्थानीय तहमा अहिलेसम्म आइसोलेशनस्थल बनाउनेबारे भने सरकारसँग कुनै कार्यविधि समेत नभएकाले त्यसले अन्योल सिर्जना गरेको छ ।
देवकोटा भन्छन्—संक्रमितको सङ्ख्या दुई हजार नाघिसकेको अवस्था भएकाले अब हामी छिट्टै कार्यविधि ल्याउँछौँ ।

अपर्याप्त’ सूचना
नेपालमा कोरोनाभाइरसबारे ‘पूरा सूचना’ नदिइँदा मानिसहरूमा त्रास धेरै फैलिएको ठान्नेहरू समेत छन् । उदाहरणका लागि नेपालमा यसअघि चारवटा कोरोनाभाइरस प्रजातिकै अन्य भाइरस देखा परेकाले यसका लागि आवश्यक एन्टीबडी बनेको भनिएको थियो । विज्ञहरू ती संसारभर पाइने साधारण भाइरस रहेका र प्रत्येक वर्ष रूघाखोकीका एउटा उल्लेख्य सङ्ख्याका बिरामी तिनै भाइरसका कारण सङ्क्रमित हुने गरेको बताउँछन् ।

डा. खड्का भन्छन्—जुन भाइरसले सङ्क्रमण गरायो, एन्टीबडी त्यसकै विरूद्ध बन्ने हो। अन्य भाइरसविरुद्ध बनेको एन्टीबडीले यस भाइरसका लागि काम गर्दैन ।
डा. अनुप सुवेदी, डा. मनिष वशिष्ठ र डा. सुदीप खड्का सक्रिय संक्रमण खोज्ने काममा नेपाल सुरुदेखि नै चुकेको बताउँछन् । खानपानकै हिसाबले समेत नेपाली खानालाई विशिष्ठ मानेर त्यसलाई नेपालीको प्रतिरक्षा प्रणालीसँग जोड्न नहुने विज्ञहरूको भनाइ पाइन्छ ।

सार्वजनिक भएका अपुष्ट विवरणलाई जोड्दै भाइरोलोजिस्ट खड्काले टिमुर चीनमै धेरै खाने, लसुन इटलीमा उत्तिकै लोकप्रिय र मसला भारतमा धेरैले खाने अवस्थालाई इङ्गित गर्दै त्यसले कोरोनाभाइरसको कवचको काम नगरेको बताए । विज्ञहरू सरकारले सुरुमै सक्दो घरमै सुरक्षित तरिकाले बस्न सकिने व्यवस्थाबारे जानकारी दिन सकेको भए यतिखेर बेग्लै अवस्था बन्ने ठान्छन् ।

संख्या बढ्दैमा आत्तिनु गलत
उनीहरूका अनुसार एउटा छुट्टै कोठामा साधारण टेबल पङ्खालाई झ्यालबाट बाहिर फर्काएर राख्ने उपाय अपनाउँदा क्वारन्टीन वा आइसोलेशन बनाउन सकिन्थ्यो ।
सङ्क्रामक रोग विशेषज्ञ डा. मनिष वशिष्ठ यतिखेर अमेरिकाको सान फ्रान्सिस्कोमा एक अस्पतालमा अग्रमोर्चामा रहेर कोभिड १९ का बिरामीको उपचार गरिरहेका छन् । उनका अनुसार नेपालमा अहिलेसम्म देखिएका कोभिड १९ जोडिएका मृत्युको प्राथमिक कारण नै यो भाइरसलाई मान्न सकिने अवस्था नदेखिएको बताउँछन् । यो भाइरस लामो समय नहराउने भन्दै उनी यसबारे अपर्याप्त सूचनाले अगाडिका दिन झन् त्रासदीपूर्ण बनाउने बताउँछन् ।

उनी भन्छन्- संख्या बढ्दैमा आत्तिनु गलत हो । दीर्घरोग लागेकालाई बचाउनु र गम्भीर लक्षण भएका बिरामी कम हुनु नै यो स्थिरतातर्फ जाने सङ्केत हो । धेरै निको हुन्छन्

कोरोनाभाइरसको लक्षण पाइएमा मानिसहरू स्वयं सचेत भएर दुई सातासम्म एकान्तवास गर्न सक्दा ९० प्रतिशतभन्दा भन्दा बढीमा यो भाइरस हराएर जाने बताइँदै आएको छ । तर त्यही अवधिमा हुने संसर्गले नयाँ शरीरमा भाइरस सरेर हुर्कन पाएमा त्यसको वृद्धि गुणात्मक हुने बताइन्छ । र त्यो लहर व्यापक हुँदै जाँदा जोखिममा रहेका मानिसहरूलाई शिकार बनाउँदै मृत्युदर बढाउन सक्छ ।

डा. वशिष्ठका अनुभवमा अमेरिकामा सङ्क्रमण पाइएका धेरैले एक हप्तामै ज्यान गुमाएका थिए भने १२ दिन काटेकाहरू निको हुँदैछन् भन्ने छनक पाइएका थिए । उनी भन्छन्, “अहिले हामीले लगातार ज्वरो नआएको तीन दिन भयो भने र कफ आउने क्रम रोकिन थाल्यो भने सङ्क्रमित बिरामीलाई घर गएर एकान्तवास गर्न भन्दै डिस्चार्ज थालेका छौँ । ती १४ दिनमा त काममै जान सक्छन् । यस भाइरसका चरित्रहरूकाबारे अझै थुप्रै स्पष्टता नभएको कारण उमेर समूहका आधारमा कसैले पनि आफूलाई सुरक्षित ठान्न भने नहुने विज्ञहरूको मत पाइन्छ ।

रोग प्रतिरोधी क्षमता
यस्तो भाइरस फैलँदा सुरुवाती चरणमा लक्षण नदेखिने घटना बढी देखिनुलाई स्वभाविक रूपमा हेर्नुपर्ने विज्ञहरूको भनाइ पाइन्छ । त्यसै पनि एक चौथाइदेखि आधाजसो मानिसमा यसको लक्षण नै नदेखिन सक्छ। तर त्यस्ता व्यक्तिमार्फत फैलिएर अन्य कसैको भने ज्यान नै जान सक्छ ।

‘अहिलेसम्म सङ्क्रमणको लहर धेरथोर लकडाउनले धानेको छ । तर लकडाउन तयारीका लागि किनेको समयको रूपमा नबुझेर यसबीचमा तयारी कम गरिएको छ’ डा. वशिष्ठ भन्छन् । विज्ञहरूले नेपालजस्तो देशले आफ्नै सङ्क्रमणका घटना विश्लेषण गर्ने सीमितता र जनशक्ति अभावका कारण तयारीको काम विश्वव्यापी लहर र त्यसमा पनि आफ्नो परिवेश मिल्ने छिमेकी भारतदेखि कम विकसित देशको आँकडा हेर्दै गर्नुपर्ने बताउँछन् ।

सुरुआती अनुमान अनुसार समीक्षा गर्न मिल्ने गरी नेपालमा तथ्याङ्क खडा नभएको विज्ञहरू बताउँछन् ।

थेग्नै नसक्ने चाप हुन सक्छ
आउने दुई वर्षमा आधाजसो जनसङ्ख्यामा भाइरसको संक्रमण हुँदा र त्यसको २० प्रतिशतलाई अस्पताल पु¥याउनुपर्ने अवस्था आउँदा मात्र त्यो संख्या लाखौँमा हुनेछ । अझ पाँच प्रतिशतलाई विशेष स्याहार गर्नुपर्दा त्यो झनै समस्या हुन्छ । बिरामीको चाप कतिखेर पर्छ भन्ने पनि थाहा नहुने विज्ञहरू बताउँछन् । त्यसैले अहिले नै हरेक प्राथमिक स्वास्थ्य केन्द्रको क्षमता विकसित गर्नुपर्ने बताइन्छ ।

वीरगञ्ज, बुटवल र नेपालगञ्जमा एकैपटक केही धेरै सङ्क्रमित देखिँदा त्यहाँको चाप थेग्न नसक्ने अवस्थामा पुगेको थियो ।

भयावह अवस्था नआउने सरकारी आकंलन
तर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीका भनाइमा अवस्था सामान्यभन्दा माथि पुग्दा मन्त्रालय अन्तर्गतका अस्पतालमा झण्डै २५,००० शैय्याहरू उपलब्ध हुने बताउँछन् । कार्की भन्छन्- कोरोनाभाइरस संक्रमितका लागि आइसोलेशन शैय्या बनाउन सकिनेहरू अहिलेको अवस्थामा नै ३,००० जति छ । अवस्था भयावह हुँदा त सबै अस्पताल नै कोरोना अस्पताल हुन्छन् । तर हाम्रो अनुमान नेपालमा त्यस्तो अवस्था नै आउँदैन भन्ने छ ।

त्यसैले झण्डै एक लाख सङ्क्रमित हुँदा दुईदेखि तीन प्रतिशत गम्भीर विरामीका लागि नेपालको स्वास्थ्य प्रणाली तयार रहेको डा. कार्की दाबी गर्छन् । तर कोभिड-१९ का गम्भीर बिरामीका लागि आवश्यक पर्ने सघन उपचार कक्ष र भेन्टिलेटरको उपलब्धता भने चुनौती बन्ने कतिपयको आकलन छ ।तर नेपालमा अझै भारतबाट फर्केकाहरूको मात्रै झण्डै डेढ लाख मानिसहरूको परीक्षण आवश्यक रहेको मन्त्रालयको विवरणले देखाउँछ ।

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेलका अनुसार सरकारले सुरुमा भारतबाट त्यसरी मानिसहरू फर्किने अनुमान गरेको थिएन ।‘तिनै मानिसहरूको आउने क्रमलाई ध्यानमा राखेर हामीले ५,००० सङ्क्रमण हुने नयाँ प्रक्षेपण गरेका हौँ’ डोटेलले भने । पाँच सय संक्रमित पुष्टि हुँदा मात्र सरकारले ५५,००० व्यक्तिगत सुरक्षा सामग्री पीपीई प्रयोग भएको जनाएको छ।

चार लाख पीसीआर आवश्यक
जेठको दोस्रो साता मात्र सरकारले झण्डै चार लाखको पीसीआर परीक्षण गर्नुपर्ने हुनसक्ने आकलन गरेको डोटेलले जनाएका थिए । त्यतिखेरै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत कुल जनसङ्ख्याको झण्डै दुई प्रतिशतमा कोरोनाभाइरस जाँच्नुपर्ने विज्ञहरूले सुझाएकोले सरकार त्यसको तयारीमा रहेको बताएका थिए ।

सरकारले दैनिक पाँच हजारको सङ्ख्यामा पीसीआर जाँच गर्ने लक्ष्य राखेर देशभर २० वटा प्रयोगशाला विस्तार गरे तापनि केहीले प्राविधिक समस्या र जनशक्ति अभावमा काम गरेका छैनन् । परीक्षणको गति सुस्त भएको भन्दै अहिले रहेको अर्धस्वचालित पीसीआर मेसिनलाई स्वचालित मेसिनले विस्थापित गर्न आवश्यक रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले बताइन् ।

(प्रदीप बस्याल र नेत्र केसीले विविसीमा लेखेको समाचारमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *