भारतको दादागिरी बढ्दो , नेपाल छिरेर बलसहित भत्काइदिए नेपाली बाटो ।

समाचार

गत जेठ १५ गते ठोरी गाँउपालिको ठुटेखेला पुलसँगैको बाटो भारतीय सीमा सुरक्षा बलसहित नेपाल छिरेर केही भारतीयले बाटो भत्काइदिए ।नेपाली भूमिमा प्रवेश गरी बाटो भत्काइरहेका भारतीयलाई स्थानीयवासीले प्रतिकारे गरे । वर्षौँदेखि भारतीयबाट सीमा क्षेत्रमा यस्तो गतिविधि हुँदै आए पनि सरोकारवाला निकायको ध्यान नपुगेको स्थानीयवासी बताउँछन् । घटनापछि स्थानीयवासीले जिल्ला सुरक्षा समितिलाई यसबारे जानकारी गराएपनि कतैबाट सुनुवाइ नभएको उनीहरुको गुनासो छ ।

विसं २०२२ मा राजा महेन्द्रले सीमा सुरक्षा गर्न चितवनका केही स्थानीयवासीलाई ठोरीमा बसाइँ सारेको ठोरीवासी प्रकाश खनाल बताउँछन्। उनी भन्छन्,‘‘यस बीचमा भारतीयले पटकपटक रातको समयमा ठोरीमा रहेका नेपाल–भारत स्तम्भ पटक–पटक सार्ने काम हुने गरेको छ । कहिले सीमास्तम्भ सारेर,किनमेलका लागि भारत गएका नेपालीलाई दुःख दिने दशजगा नजिकै बसेका भारतीय सीमा सुरक्षा बल (एसएसबी) को दैनिकी नै बनेको छ ।

भारतीय पक्षको त्यस कार्यको विरुद्ध ठोरीवासीले प्रतिकार गर्ने गरेपनि उनीहरुको ध्यान दशगजा क्षेत्रमा रातारात कसरी ‘क्याम्प’ निर्माण गर्ने भन्ने रहेको खनालको भनाइ छ । यहाँ अन्यत्रजस्तो सीमा विवाद नभएपनि भारतीय पक्षले यस क्षेत्रलाई विवादित भन्दै नेपाली भूमिमा बारम्बार हस्तक्षेप गर्न खोजेको उनी बताउँछन् ।

भारतीयले यहाँको ठुटेखोला थुनेर कुलोबाट पानी लाने गरेका छन् । हिउँदको समयमा भने खोला सुक्खाजस्तै हुने गर्दछ । पुलसँगै जोडिएको कुलो पुरिएपछि अर्को कुलोलाई दोब्बर ठूलो बनाएर पानी नेपालबाट दिने सहमति पनि भएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संरक्षणमा भारतीय नागरिकले नेपाली भूमि प्रवेश गरेर सडक भत्काएपछि विवाद शुरु भएको थियो ।

पर्सा र चितवन जिल्लाको सीमामा पर्ने ठोरी विकासको हिसाबले पछि परेको छ । दुवै जिल्लाको सदारमुकामबाट करिब ६५ किमीको दूरीमा पर्ने यो ठाउँ भौगोलिकरूपमा दुवै जिल्लाका सदारमुकामबाट तीनदेखि चार घण्टासम्म यहाँ पुग्न सकिन्छ । ठोरीलाई भारतीयहरु अर्को लिम्पियाधुरा, कालापानी र लिपुलेक बनाउन खोजिरहेका छन्, ठोरीवासी सुदीप थापाले भने, “नेपाली भूमिमा हातहतियारसहित एसएसबी प्रवेश गर्छन् । ठोरीमा भएका विकासमा बाधा पुर्याउने काम भइरहेको छ ।”

भारतीयले भत्काइदिएको बाटो हुँदै अहिले हुलाकी सडकको काम पनि भइरहेको छ । ठोरीको वडा नं २ र ३ जोड्ने बाटो जोड्न नसक्दा गत वर्ष दुई जनाले ज्यान गुमाएका थिए । ठुटेखोलामा पानीको बहाव उच्च रहेकाले एम्बुलेन्स जान नसकेपछि एक गर्भवती र सर्पदंशका बिरामीको ज्यान गएको थापा बताउँछन् ।

ठोरी भारतको पश्चिम चम्पारणसँग जोडिएको छ । नाकाबन्दीका बेला पेट्रोल,डिजेललगायतको इन्धन नेपालमा आपूर्ति गरेर चिनिएको थियो । यहाँ अहिले पनि छोटी भन्सार सञ्चालनमा छ । विभिन्न दृष्टिकोणले महत्वपूर्ण ठोरीमा सशस्त्र प्रहरी बलको सङ्ख्यामा वृद्धि गर्नुपर्ने स्थानीयवासीको भनाइ छ । नेपालमा सुरक्षाकर्मीको चहलपहल बढाउन सके भारतीयहरुले हस्तक्षेप गर्न छाड्ने ठोरीवासी नारायण सिलवाल बताउँछन् । हामी दर्जनौँपटक प्रतिकार गर्न पुगेका छौँ”,सिलवालले भने, हाम्रो जमिनमा आएर गरेको दादागिरी सहदैनौं । हाम्रो भूमि प्राणभन्दा प्यारो लाग्छ । हामीले प्रशासनबाट सहयोग पाउन सकेका छैनौँ ।

ठोरीको वडा नं ३ का केही स्थानमा नेपाल–भारत सीमाक्षेत्रमा काँडेतार लगाइएको छ । वडाध्यक्ष सूर्य लामाले अन्य विकासे बजेटलाई कटौती गरी काँडेतार लगाइएको बताए । उनले भने,दुई हप्ताअघि ठोरीको विजयवस्तीको सीमाक्षेत्रमा पर्ने दशगजामा रातारात निर्माण गर्न लागिएको एसएसबीको पोष्ट स्थानीयवासीको विरोधपछि रोकिएको छ ।ठोरीवासीले भोग्नुपरेको सीमा समस्याका बारेमा जिल्ला र केन्द्रबाट पनि सुनुवाइ नहुँदा समस्या भएको उनको भनाइ छ । कास्की खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *