स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयनको काम सीसीएमसीको हो’

समाचार

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) बीच समन्वय नभएको बताइरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस विषयलाई लिएर कुनै भ्रममा नपर्न स्पष्ट पारेको छ।

हालै स्वास्थ्य सचिवमा नियुक्त लक्ष्मण अर्यालले कोरोना भाइरस संक्रमण नियन्त्रण, रोकथाम र उपचारका स्वास्थ्य रणनीति, योजना, मापदण्ड, कार्यविधि निर्माण गर्ने र आवश्यक निर्णय गर्ने अधिकार र दायित्व स्वास्थ्य मन्त्रालयको भएको र त्यसको कार्यान्वयन गर्ने जिम्मेवारी मात्रै सीसीएमसीको भएको बताएका छन्।

सीसीएमसीका संयोजक उपपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालबीच कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री खरीदलगायत काममा भूमिका र अधिकारलाई लिएर विवाद उत्पन्न भएको बताइन्छ।

तर यसअघि प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा रहँदा सीसीएमसीमा रहेर समेत काम गरेका सचिव अर्यालले स्वास्थ्य मन्त्रालयले तयार पारेका या स्वीकृत गरेका रणनीति, योजना, मापदण्ड, कार्यविधिलगायतका आधारमा सीसीएमसीले परिचालित स्वास्थ्यलगायत अन्य मन्त्रालयका संरचना र जनशक्तिसँग समन्वय गरेर काम गर्ने बताएका हुन्।

उनले शनिबार देशसञ्चारसँग भने, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सीसीएमसीको भूमिकालाई लिएर कुनै अन्यौल या भ्रममा पर्नु पर्ने म देख्दिन। स्वास्थ्य मन्त्रालय सुप्रिमेसी हो। संकटका बेला छिटो र सहजरुपमा काम होस् भनेर सीसीएमसी गठन गरिएको हो।’

सचिव अर्याललले सीसीएमसीले कुनै कार्यविधिको मस्यौदा तयार पारे पनि त्यसको अन्तिम रुप या स्वीकृति स्वास्थ्य मन्त्रालयलेनै गर्ने बताए। उनले भने,‘टेस्टिङ, कन्ट्याक्ट ट्रेसिङ, केस इन्भेस्टिगेसन, उपचार र सञ्चारलगायतका काम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाटै गर्ने हो। मन्त्रालयले गरेका निर्णयहरु सीसीएमसीले कार्यान्वयन गर्ने हो।’

सरकारद्धारा गठित उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलेको नेतृत्वमा कोभिड–१९ रोकथाम, नियन्त्रण उच्चस्तरीय समितिले काम गरिरहेका बेला पोखरेलकै नेतृत्वमा गत वर्ष चैत्र १८ गते सरकारले सीसीएमसी गठन गरिएको थियो।

सीसीएमसीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका १२ औँ तहका प्रतिनिधिको संलग्नता छ। तर हालसम्म तीन जना प्रतिनिधि फेरिसकेका छन्। सुरुवाति चरणमा डा. रोशन पोखरेल सीसीएमसीका प्रतिनिधिको रुपमा संलग्न थिए। त्यसपछि डा. दिपेन्द्ररमण सिंहलाई त्यहाँ पठाइएको थियो भने हालै स्वास्थ्य सेवा विभागको महानिर्देशकबाट मन्त्रालय तानिएका महेन्द्र श्रेष्ठलाई पठाइएको छ।

सीसीएमसीको गृहकार्य, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परराष्ट्रमन्त्रालयसँगको समन्व्य र रक्षामन्त्रालयको माध्यमबाट सेनाले चीनसँग ‘जीटुजी’सरकार कोरोना भाइरस संक्रमण नियन्त्रण, रोकथाम तथा उपचारका लागि अत्यावश्यक सामग्री खरीद गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *