चीनसङ्ग सजिलै वार्ता गर्न मानेको भारत आखिर किन नेपालसँग वार्ता गर्न मानेको छैन।

समाचार

नेपालले सीमा विवाद सुल्झाउन पटक पटक वार्ताको मिति तय गरेर प्रस्ताव गरे पनि भारतले आनकानी गर्दै आएको छ । गत नोभेम्बर २ मा भारतले नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो राजनीति तथा प्रशासनिक नक्सामा समेटेर जारी गरेपछि वार्ताका पहल भइरहेको छ । भारतले सो नक्सा जारी गरेपछि आपत्ति जनाउँदै नेपालले वार्ताको मिति नै तय गरेर प्रस्ताव गर्दा पनि कोरोनाभाइरसको महामारीपछि वार्ता गर्ने भारतले बताएको छ ।

वार्ताबाट भागिरहेको भारतले मे ८मा नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने बाटो उद्घाटन गरेपछि दुई देशबीच सीमा विवाद उत्कर्षमा पुगेको छ । वार्तामा भारत नबसेपछि नेपालले पनि मे २० मा लिपिम्याधुरा, कालापानी र लिपुलेकलाई समेटेर आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सा अद्यावधिक गरेको छ । यसलाई संविधानको अंग बनाउन संसदमा नेपालको संविधान दोसो संशोधन विधेयक २०७७ पेस गरिएको छ ।

नेपालको सो कार्यप्रति आपत्ति जनाएको भारतले वार्ताका लागि वातावरण बनाउनु पर्ने बताएको छ । तर, कस्तो वातावरण भने खुलाएको छैन । कोरोनाभाइरसको महामारीपछि मात्रै नेपालसँग वार्ता गर्ने बताएको भारतले सीमा विवादको विषयलाई लिएर चीनसँग भने वार्ता गरेको छ ।

नेपालसँग जस्तै भारतको चीनसँग पनि सीमा विवाद रहेको छ । लद्दाख क्षेत्रमा भएको सीमा विवाद सुल्झाउन भारत र चीनबीच शुक्रबार र शनिबार वार्ता भएको हो । लद्दाखको पूर्वी क्षेत्रको चिनियाँ भूभाग माल्दोमा भारत र चीनका राजदूतसहित विदेश मन्त्रालयका अधिकारीबीच भिडियो वार्ता भएको भोलिपल्ट शनिबार वरिष्ठ सैनिक कमान्डरबीच वार्ता भएको हो । सो वार्तामा दुवै देशका ११÷११ जना सैनिक अधिकारी सहभागी थिए ।

भारतका तर्फबाट लेफ्टिनेन्ट जर्नेल हरिन्दर सिंह र चीनका तर्फबाट दक्षिण सिनज्याङ सैनिक विभागका कमान्डर मेजर जर्नेल लिउ लिनले नेतृत्व गरेकोे सो वार्तामा दुवै पक्षले शान्तिपूर्ण रूपमा विवाद समाधानका लागि विभिन्न प्रस्ताव पेस गरेका छन् ।

यसअघि दुवै देशका सैनिक अधिकारीहरुबीच १५ चरणमा वार्ता भएको थियो । भारत र चीनबीच ३ हजार ४ सय ८८ किलोमिटर लामो सीमा छ । दुवै देशबीच सन् १९६२ सीमाका कारण युद्ध भएको थियो । अहिले पनि लद्दाखमा दुवै देशका सेनाबीच धक्कालाधकेल, हतियार खोसाखोसका घटना निरन्तर भइरहेका छन् । कास्की खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *