नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढी छ कसले भनेको? गगनको प्रश्नमा प्रधानमन्त्रीको जवाफ– मैले भनेको

समाचार

काठमाडौं- नेपालीको रोग प्रतिरोधात्मक क्षमताका विषयमा प्रतिनिधि सभामा बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र सांसद गगन थापाबीच सवाल जवाफ भएको छ।

संसदमा बुधबार प्रधानमन्त्री ओलीले नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढी रहेको कुरा बताएका थिए। प्रधानमन्त्रीले उक्त कुरा संसदमा बताएको केही समयपछि सांसद थापाले प्रतिरोधात्मक क्षमता बढी छ भनेर कसले भनेको भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए।
सांसद थापाको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले भने, ‘नेपालीको प्रतिरोधी क्षमता राम्रो छ भने भर्खरै सुन्नुभयाे नि? मैले भनेको हो। त्यो त मैले भनेको हो।’

प्रधानमन्त्री ओलीको जवाफ आएपछि संसदमा रहेका नेकपा निकट सांसदहरुले टेबुल ठोकेर समर्थन गरेका थिए।

उक्त जवाफ दिएपछि प्रधानमन्त्री ओलीले पुन थप्दै भने, ‘नेपालीको प्रतिरोध क्षमताको कुरा कुराको चुनौती कुनै डाक्टर, कुनै वैज्ञानिक, कुनै सोधकर्ताबाट कहिँबाट आयो भने मैले स्विकारौँला।’

उनले नेपालको हावापानी, उकाली ओराली हिँडेर पहाडी जनजीवनमा बसेका कारण स्टामिन राम्रो भएको र तराईमा बस्नेले पनि स्वच्छ हावापानी पाउने भएकाले क्षमता राम्रो भएको दाबी गरे।

उनले नेपालमा झारमा पनि यार्सागुम्बा हुने कुरामा समेत जोड दिए।

संसदमा प्रधानमन्त्री ओलीले नेपालीको भान्सामा दाल, चामल, नुन बेसार, धनियाँ, प्याज, लसुन, अदुवा जस्ता औषधि भएका खाने कुरा हुने भएकाले पनि प्रतिरोधी क्षमता बढी भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *